Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

जीवनभर निःशुल्क पढाउने शिक्षकको घोषणा

सोमबार, ०१ चैत्र २०७२

काठमाडौँ, १ चैत्र । दाङमा एक व्यक्तिले निःशुल्क रुपमा क्याम्पसमा जीवनभर अध्यापन गराउने घोषणा गरेका छन् ।  पश्चिम दाङको एक मात्र सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसमा अध्यापन गराउँदै आउका दाङ तुलसीपुर निवासी प्राध्यापक वीरेन्द्र महराले सामुदायिक क्याम्पसलाई सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले लिँदै आएको पारिश्रमिक नलिने घोषणा गरेका हुन् । 

लामो समयसम्म क्याम्पसमा एकाउन्ट विषय पढाउँदै आइएका महराले क्याम्पस एउटा सामुदायिक संस्था भएकाले आफूले पनि सामाजिक दायित्व निभाउन उक्त सहयोग गरेको दाबी गरे । मासिक रुपमा रु ३० हजार पारिश्रमिक लिँदै आउनुभएका महराले एक वर्षयता भने क्याम्पसमा निःशुल्क सेवा गर्दै आएका छन् । 

त्यसैगरी, लेखा अधिकृतसमेत रहनुभएका महराले विद्यार्थीलाई नेपालमै पहिलोपटक बिबिएसका विद्यार्थीलाई तीनमहिने निःशुल्क एकाउन्ट कक्षा पनि सञ्चालन गरेको बताए । विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने भएकाले विद्यार्थीलाई तीनमहिने विशेष व्यावहारिक ज्ञान दिन खोजिएको उनको भनाई छ । 

“मेरो अभियान भनेको क्याम्पसलाई सहयोग पुगोस् तथा दक्ष र राम्रो जनशक्ति उत्पादन होस् भन्ने हो, म सामाजिक अभियन्ताका रुपमा लागिरहेको छु” – उनले भने ।  प्रत्येक वर्ष बिबिएस प्रथम वर्षमा उकृष्ट अङ्क ल्याउने छात्रालाई पुरस्कृत गर्न महराले क्याम्पसमा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरेका छन् ।

रासस 

 

प्रतिक्रिया