Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थी नै कम्प्युटर देख्दा अचम्मित

विहीबार, २७ फागुन २०७२

काठमाडौँ, २७ फागुन । दोलखाको दुर्गम एक गाविसका कक्षा ६ देखि ८ सम्मका कम्प्युटर विषय लिएर पढ्ने विद्यार्थी नै कम्प्युटर देखेर अचम्भित भएका छन् ।  उत्तरी दुर्गम गाविस लापिलाङ–६ गुर्जपा निमाविका कम्प्युटर विषयका विद्यार्थी नै कम्प्युटर विद्यालयमा देखेपछि अचम्ममा परेका हुन् । उनीहरुले किताबमा कम्प्युटर देखेपनि प्रत्यक्ष कम्प्युटर भने नदेखेको बताएका थिए ।  

दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले एक संस्थाको कार्यक्रमको अनुगमनका क्रममा गाउँमा जाँदा विद्यालयमा कम्प्युटरको विषयमा शिक्षकले पढाइरहेको र विद्यार्थीले कम्प्युटर नदेखेको भनेपछि प्रजिअ आफैँ अचम्भित भए ।  

विद्यार्थीले प्रजिअ लामिछानेसमक्ष कम्प्युटर नदेखेको भनेपछि उनले तुरुन्त एक गैरसरकारी संस्था एसओएस बालग्रामलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । संस्थाले तीन थान कम्प्युटर र एक थान प्रिन्टर दिएलगत्तै प्रजिअ लामिछाने विद्यार्थीमाझ कम्प्युटर पुर्‌याउन आफैँ गए ।  विद्यार्थीमाझ प्रजिअ लामिछानेले कम्प्युटर हस्तान्तरण गर्दै एक्काइसौँ सताब्दीमा पनि विद्यार्थीले कम्प्युटर विषय पढ्नु तर कम्प्युटर भने देख्न र प्रयोग गर्न नपाउनु दुःखद् भएको बताए ।  

प्रजिअ लामिछानेले विद्यार्थीमाझ एसओएस बालग्रामले सहयोग गरेको कम्प्युटर देखाएपछि विद्यार्थी छक्क परेका थिए । विसं २०६८ देखि विद्यालयमा कम्प्युटर विषयमा विद्यालयमा सामान्य पढाइ भइरहे पनि विद्यार्थीलाई भने विद्यालयको आर्थिक अवस्था र विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर किनेर प्रयोगात्मकरुपमा पढाउन नसकेको प्रअ विष्णु शाही ठकुरीले बताए ।  

कम्प्युटर पाएपछि कम्प्युटर विषय पढ्ने कक्षा ७ की छात्रा सपना थामीले कम्प्युटर देखेर अचम्म लागेको बताए ।  छात्रा सपनाले भनिन्, यो सानो सामग्रीले धेरै ठूलो काम गर्छ रे । यता ठकुरीले भने, विद्यालयको अवस्था नाजुक छ, भनेजति दरबन्दी छैन, निजीस्रोतमा शिक्षक राखेर तलब खुवाइ राखिएको छ, विद्यालयको यो हालत कसैले हेरिदिँदैन ।  

विद्यालयमा कम्प्युटर विषयमा अध्यापन गराउने शिक्षक हुँदा विद्यालयले विद्यार्थीको चासोमा केही वर्षयता कम्प्युटर विषय पढाउँदै आएको थियो ।  अहिले प्रजिअ लामिछानेले विद्यालयको अवस्था बुझेर गएसँगै विद्यालयमा भुईंमा बसेर पढ्ने विद्यार्थीको पनि समस्या समाधान भएको प्रअ ठकुरीको भनाइ रहेको छ । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया