Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

डीआईको कुटाईले विद्यार्थीको कानको जाली फुट्यो, घटना ढाकछोप गर्ने प्रपञ्च गरिएको अभिभावकको गुनासो

बुधबार, २६ फागुन २०७२

ललितपुर - क्यास्पियन कलेज कुमारीपाटिका डिसिप्लिन ईञ्चार्ज अर्थात् डीआई दिपेन्द्र श्रेष्ठको कुटाईबाट कक्षा ११ का विद्यार्थी सलन डालिम डंगोलको कानको जाली नै फुटेको छ । अनुशासन कायम गर्ने वहानामा नीजि कलेजहरुले डीआई नियुक्त गर्न नपाउने प्रावधान भए पनि श्रेष्ठलाई कलेजले डीआई बनाएको छ । उनकै कुटाईबाट १६ बर्षिय डंगोलको दाहिने कानको जाली नै फुटेको हो ।

गत १३ गते कुटाई खाएका डंगोलले कान दुखेको बताए पछि अल्का अस्पताल जावलाखेलमा परीक्षण गर्दा कानको जाली फुटेको पत्ता लागेको हो । कानको घाउको प्रकृति अनुसार केही घटना भएको चिकित्सकले अनुमान गरेपछि बल्ल छोराले डीआईले कुटेको बताएको डंगोलका बावु गंगारामले एडुखबरलाई बताए । उनको परीक्षण अल्का अस्पतालका चिकित्सक शास्वत कटुवालले गरेका हुन् ।

'हामीलाई त केही भनेकै थिएन, घाउ हेरेर डाक्टरले सोधेपछि पो बल्ल थाह पायौं' उनले भने, 'पढ्न पठाएको छोरोलाई जीवनभर निको नहुने घाउ दिने डीआईलाई कारवाहीको माग गर्दै प्रहरीमा निवेदन दिएपनि कलेजले घटना ढाकछोप गर्ने अनेक कोशिस गरेको छ ।'

बुधबार दिनभर प्रहरी परिसर जावलाखेलमा छलफल भएपनि कुनै सहमती नहुँदै प्रहरीले डीआईलाई छाडिदिनुले घटना सामसुम पार्ने प्रपञ्च गरिएको उनले शँका गरे ।

उपचार खर्च कलेजले बेहोर्नु पर्ने, पढाईको जिम्मा तथा कानको अवस्थाले पछि जागिर नपाउने हुन सक्ने भन्दै जागिरको ब्यवस्था समेत गर्नु पर्ने अभिभावकको माग छ ।

'आफ्नो छोरोले त दुख पायो पायो अरु बच्चालाई यस्तो नहोस् भनेर हामीले श्रेष्ठलाई जागिरबाट निकाल्नु पर्ने माग गरेका छौं' डंगोलले भने, 'थुनामै राखेर अनुसन्धान गर्ने सहमती गरेर हिडेँ पनि प्रहरीले उसलाई घर पठाईदिएको भन्ने सुनेका छौं, यसबाटै घटना सामसुम पार्ने खेल भए झै लागेको छ ।'

घटना सामसुम पार्न प्रहरीलाई राजनीतिक दवाव  आएको थाह पाएको पनि डंगोलले बताए ।

प्रहरी परिसर जावलाखेलका डीएसपी तथा प्रवक्ता किसन सिंह थापाले आवश्यक पर्दा हाजिर हुने गरी श्रेष्ठलाई कलेज प्रशासनको जिम्मा लगाएर पठाएको बताए । 

घटनाका बारेमा सबै भन्दा पहिला कलेज प्रशासनलाई अवगत गराउँदा चासो राख्नुको साटो उल्टै धम्कि आएपछि आफूले गत १७ गते प्रहरीमा जाहेरी दिएको डंगोलले बताए । प्रिन्सिपल राजु खड्कालाई घटनाका बारेमा बताउँदा अली अली नतर्साए त विद्यार्थीले नटेर्ने भन्दै यस्ता घटना भईरहने बताएको डंगोलले बताए ।

'छानविन त गर्ने तर बच्चाको गल्ति भए तपाईको छोरो रेष्टिगेट नै गर्नु पर्छ, डीआईको गल्ति भए उनलाई हटाउनु पर्छ त्यसैले जे भयो भयो, घटना मिलाउँ भन्ने प्रिन्सिपलका कुरा थियो' डंगोलले भने, 'मैले ठिकै छ मेरो छोरोको गल्ति रहेछ भने म भोग्छु तर घटनाको छानविन गरिदिनु भन्दा जे सक्छस् गर् भने जस्तो गरेर वास्तै गरेनन् । अनी बाध्य भएर प्रहरी गुहारेको हुँ, प्रहरीबाट न्याय पाउने आशा गरेको छु ।'

पढाउन राखेको विद्यालयले ले नै छोरोलाई अपाङ्ग बनाएपछि आफू चिन्तित भएको उनी बताउँछन् ।

बज्रवाराही नगरपालिका १४ लेलेका डंगोल टीकाभैरवको एक नीजि स्कुलमा प्रशासनमा काम गर्छन् । छोरालाई कक्षा १० सम्म आफूल काम गर्ने विद्यालयमै पढाएर ११ का लागि क्यास्पियनमा भर्ना गरेका हुन् ।
घटनाका बारेमा कलेज प्रशासनका कोही पनि सम्पर्कमा आउन चाहेनन् तर कपाल लामो भएको बहानामा श्रेष्ठले डंगोललाई कुटेको वयान दिएको प्रहरी प्रवक्ता थापाले एडुखबरलाई बताए ।

प्रकाशित मिति २०७२ फागुन २६ गते

प्रतिक्रिया