काठमाडौँ, २६ फागुन । दुवै हात नभए पनि बिलक्षण प्रतिभा भएका खोटाङ काहुले–६ का छात्र गणेश राईलाई सम्मान गरिएको छ । अपाङ्ग भए पनि सवलाङ्गसरह शिक्षामा प्रगति गरिरहेका राईलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आजोजना गरिएको कार्यक्रममा सम्मान गरिएको हो ।
दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्र गणेशलाई जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्य र प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । अपाङ्गता भएका व्यक्तिको प्रोत्साहन र सम्मानका लागि राईलाई महिला तथा बालबालिका कार्यालयले सोमबार सम्मान गरेको हो ।
विसं २०५१ मा जन्मिएका गणेशका दुवै हातको कुहिनोमुनिको भाग छैन । हात पूर्ण नभए पनि कुहिनोमाथिको भागको सहाराले उनी हरेक काम गर्न सक्छन् । गणेश बाबु काजीमान र आमा जयकुमारी राईको साँइला सन्तान हुन् । विशिष्ट क्षमता भएका राईले हरेक चिजको चित्र जस्ताकोजस्तै उतार्ने गरेका छन् ।
रासस
प्रतिक्रिया