Edukhabar
शनिबार, १७ फागुन २०८१
विचार / विमर्श

भोगेरै ज्ञान हासिल गर्न दिने की पढ ! पढ ! भनिरहने ?

शुक्रबार, २१ फागुन २०७२

- शिवशरण ज्ञवाली / नेपालको शिक्षा व्यवाहरिक भएन भन्ने धेरै छन् । सबैजसो राजनीतिक दलका विद्यार्थी संगठनहरुले यो मुद्दालाई निकै जोडतोडका साथ उठाएको पाइन्छ । विशेषतः वामपन्थी राजनीतिक दल निकट विद्यार्थी संगठनको स्वर झन् चर्को सुनिन्छ । यति हुँदा हुँदै पनि यो–यो कारणले शिक्षा अव्यवाहरिक छ र यसरी व्यवाहरिक गराउनुपर्छ भने ठोस योजना कसैले प्रस्तुत गरेको सुनिएको छैन ।

त्यसो त पछिल्लो समयमा राजनीतिक दलका विद्यार्थी संगठनहरु शैक्षिक मुद्धामा भन्दा माउ पार्टीका राजनीतिक मुद्धामा बढी केन्द्रित छन् । जसका कारण विद्यार्थी आन्दोलन समाप्त प्रायः अवस्थामा पुगेको छ । आज विद्यार्थी नेताहरुले माउ पार्टीले जस्तै भोटको राजनीति गरिरहेका छन् र उच्च तहमा पढ्न आउने विद्यार्थीलाई उनीहरुका भर्ना, फाराम, परिचय पत्र निर्माण आदि आदिमा सहयोग गरेर उल्टै कमजोर बनाइरहेका छन् ।

वास्तवमा विद्यार्थी नेतृत्वले हामीले यी काम गरेर विद्यार्थीका लागि निकै गरेका छौं भन्ने सम्झदा हुन् तर बिडम्बना त्यसले उल्टो विद्यार्थी माथि नै घात गरिराखेको छ । विद्यार्थी स्वयंले नेतृत्व विकास गर्ने अवसर गुमाइरहेछ । भन्दै आएको अव्यवाहरिक शिक्षाको अन्त्यका लागि यस्तै यस्तै कारणले विद्यार्थी संगठनहरु सक्षम हुन सकिरहेका छैनन् ।

नेपालको संविधानले नागरिकको मौलिक हककै रुपमा आधारभूत तहसम्मको शिक्षामा नागरिकको पहुँच स्थापित गर्दै यसलाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षालाई पनि निःशुल्क गरेको छ । तर बिडम्बना मौलिक हकको यो अधिकारलाई राज्यले संरक्षण गर्ने त कुरा छाडौं, बिस्तारै त्यसबाट आफ्नो हात झिक्दै छ । एकातिर शिक्षामा निजी क्षेत्रको जबरजस्त उपस्थिति छ भने अर्कोतिर सरकारी शिक्षाको लगाम सरकारले आफ्नो हातबाट फुत्काउँदै दातालाई सुम्पिदै गएको छ । यसले सरकार नागरिकको शिक्षा प्रति संवेदनशील छैन भन्ने देखाउँछ । यससँगै राष्ट्रियता गौण बनेर जाने निश्चित छ ।

निजी क्षेत्रको उपस्थितिले अघोषित द्वैध शिक्षा नीति देशमा लागु भइरहेको छ । निजी विद्यालयको शिक्षाको माध्यम अंग्रेजी छ भने सरकारी विद्यालयको शिक्षाको माध्यम नेपाली छ । पुस्तक पढाउने र उर्तीण गराउने मामलामा निजी विद्यालय अगाडि छन्, यसले गर्दा पछिल्लो चरणमा निजी विद्यालयबाट उत्पादित जनशक्ति सरकारीको तुलनामा अब्बज बन्दै गएको छ । यसले गदो अघोषित रुपमा देशमा दुई थरी जनशक्ति शिक्षाले उत्पादित गरिरहेको छ । अर्कोतिर दाताले पैसा दिएर सरकारी शिक्षा चलाउँदा विदेशीहरुको अर्डर मान्नुपर्ने अवस्था सिर्जना भएको छ र उनीहरु आफू अनुकूलको शिक्षा नीति देशमा खुलेआम लागू गर्ने अवस्था सिर्जना गर्दै गइरहेका छन् । यसले नेपालको कला, संस्कृति, सभ्यता, मौलिकता जस्ता पक्षहरु कमजोर हुँदै जाने संभावना बढेर गएको छ । यस्तो अवस्था सिर्जना हुनु देशको शैक्षिक विकासका लागि मात्र नभएर सामाजिक सांस्कृतिक विकासका लागि पनि सुखद मान्न सकिदैन ।

राज्यको यस्तै रवैयाका कारण आज शिक्षा कसैलाई राजनीति गर्ने कसैलाई जागिर खाने नोकरशाही उद्योगमा परिणत हुँदै गइरहेको छ । यसर्थ राज्य वा सरकारबाट शिक्षामा आमूल परिवर्तनका लागि पहल होला भन्ने अवस्था तत्कालका लागि देखिदैन । 

देशमा व्यवाहरिक शिक्षाको कुरा गर्दा दुई कुरा जोडिन आइपुग्छन्, सैद्धान्तिक तथा प्राविधिक शिक्षा । सैद्धान्तिक शिक्षाले धेरै बेरोजगारी जन्मायो भन्ने तर्क पनि छ र यो धेरै हदसम्म सत्य पनि छ । देशमा संभावनाका उद्योग पहिचान गरेर त्यस अनुकूलको शिक्षा दिनुपर्ने आवश्यकता देखिन्छ । नेपालमा सबैभन्दा बढी संभावना भएका उद्योगमा कृषि, पर्यटन, जलस्रोत लगायतका छन् । अझ पनि देशमा पर्याप्त उत्पादनशील जग्गा जमीन छ । त्यो जग्गा जमीन संरक्षण गर्दै कृषि उद्योगको विकास गर्ने प्रयत्न गर्न राज्यले नसक्ने होइन । त्यस्तो अवस्थामा कृषिका लागि चाहिने जनशक्ति उत्पादन गर्ने काम हाम्रो शिक्षाले गर्नुपर्ने हो । तर बिडम्बना अहिले त कस्तो अवस्था छ भने किसानका छोराछोरीहरु आफ्नो खेतबारीमा धान, गहुँ, मकै, कोदो आदि लगाउने बेला शिक्षालयबाट बिदा नै पाउँदैनन् तर जतिबेला शिक्षालयमा विदा हुन्छ त्यतिबेला घरमा कृषि सम्बन्धी केही काम नै हँुदैन ।

कृषिमा निर्भर अभिभावकका छोराछोरीको यो विवशताले गर्दा उनीहरुको आफ्नो माटोसँगको सम्बन्ध बिच्छेद हुँदोरहेछ । माटोसँगको सम्बन्ध विच्छेद हुनु भनेको अन्ततः दीर्घकालमा गएर देशसँगै सम्बन्ध विच्छेद हुनु रहेछ । शायद यही कारण होला देशभित्रै संभावना भएको जनशक्ति पनि विदेशका लागि मरिहत्ते गरिरहेको देखिन्छ । विदेश मोहले गर्दा आजभोलि उत्पादनशील जग्गा जनशक्ति अभावमा बाँझो बन्दै गइरहेको छ र यसले देशको कृषि उत्पादनमा अवश्य पनि नकारात्मक असर पारिरहेको हुनुपर्छ । नेताहरु कहिलेकाही भाषण गर्दा भनिदिन्छन्, हामी पानी बेचेर पनि धनी हुन सक्छौं तर हाम्रै छिमेकी भारतले एकाध रुपैयाँमा प्लाष्टिक पोकामा पानी बेच्दा पनि हामी भनेर त्यही पानीलाई तुलनात्मक रुपले दुधभन्दा मंहगोमा किनेर खान विवश छौं । पानी प्रशोधन उद्योगको विकास पनि राम्रोसँग भएको छैन नै, भएका उद्योगलाई प्रोत्साहन दिइएको छैन ।
हाम्रो शैक्षिक पाठ्यक्रममा विद्यार्थीले यी कुरा पढ्नै पाउँदैन । राज्यले आवश्यक नै ठानेको छैन, जुन कुरा हाम्रो व्यवाहरिक जीवनसँग जोडिएको छ । देशमा पर्यटन उद्योगको संभावना पनि देखाइएको छ । हाम्रो कला, संस्कृति, सम्पदा, आपसी सामाजिक सम्बन्ध आदिका कारण पर्यटन उद्योग पनि संभावनायुक्त उद्योग हुनसक्छ भनिन्छ तर बिडम्बना यससँग सम्बन्धित ज्ञान पनि देशको शैक्षिक पाठ्यक्रममा कही पनि समाविष्ट छैन ।

सीप सिकाउनका लागि प्राविधिक शिक्षा त छ तर यो अलिक उच्च स्तरको छ, दैनिक आधारभूत आवश्यकतासँग जोडिने खालको प्राविधिक शिक्षा छैन । हाम्रो आवश्यकता ससाना कामका लागि शिक्षा हो तर बिडम्बना आकाश पातालका कुरा पढाउँदा नेपालको शिक्षा जीवनसँग जोडिनै सकेको छैन । भएको प्राविधिक शिक्षा आफैमा मंहगो हुँदा सबै जनताको पहुँच त्यसमा पुग्न सकेको छैन । सीमित क्षेत्र र सीमित वर्गको मात्र यस्तो शिक्षामा पहुँच पुग्दछ । शिक्षालाई व्यवाहरिक बनाउने हो भने व्यक्तिको हातमा सीप आवश्यक छ । साथै सीप सिकाउने हो भने प्राविधिक शिक्षा पनि अहिलेको सैद्धान्तिक शिक्षा जस्तै सबैका लागि सुलभ र पहुँचमा हुनुपर्ने आवश्यकता देखिन्छ ।

तापनि सीप महत्वपूर्ण कुरा होइन, जबसम्म सीपमा चेतना भरिन्न । सीप र चेतना भयो भने मात्र त्यस्तो शिक्षा वास्तवमै व्यवाहरिक हुनसक्छ । उदाहरणका लागि गाडी चालकलाई लिन सक्छौं । उसका हातमा सीप त हुन्छ तर चेतना नहुने हो उसले सडकलाई आफ्नो मात्रै ठान्छ । त्यो सडकमा अरु पनि हिडिरहेका छन् भन्ने चेतना नहुँदा नेपालमा दुर्घटनाका खबर नियमित भएका छन् । चेतना भनेको स्वज्ञान अर्थात भित्री ज्ञान हो । त्यस्तो ज्ञान वा बुद्धि मानव व्यवाहरसँग जोडिन्छ । अहिले हाम्रोमा त कक्षा कोठामा दिइने सैद्धान्तिक तथा प्राविधिक ज्ञानले यस्तो  चेतना दिन सकेको छैन ।

पढाउने कुरा किताबमा मात्र सीमित छन्, ती पुराणमा माछा खान नहुने र वास्विकतामा खाने ब्राह्मण प्रवृति जस्तै छन् । शायद चेतनायुक्त शिक्षा हुन्थ्यो भने आज नेपाली राजनीतिले यति धेरै असफलता भोग्नुपर्ने थिएन होला । त्यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनमा आदितिर भएको वेथिति पनि अवश्य पनि कम हुन्थे होला । चेतना वा विवेक यस्तो खतरनाक हतियार जसले मानिसलाई सन्तुष्ट मात्र गराउँदैन, गलत गर्न समेत दिदैन ।

म हालसालै एउटा सार्वजनिक भोजमा सहभागी भएँ । भोजको परिदृश्य कस्तो देखिन्थ्यो भने जति मानिसहरु खान्थे, आफूले खाएको थाल सोही ठाउँमा छाडेर उठ्थे । नेता, विद्यार्थी, शिक्षक, कलाकार सबै सहभागी थिए र उनीहरु कोही पनि आफूले खाएको जुठो थाल जुठेल्ना सम्म लान नसक्ने थिएनन् । तर उनीहरुले त्यति पनि गरिरहेका थिएनन् । तर गाउँतिर टपरीमा खाने, जसलाई हामी आधुनिकहरु अशिक्षित, सोझा ठान्छौं, उनीहरुलाई हेरौं न उनीहरुले आफूले खाएको टपरी निश्चित स्थानमा लगेर फ्ँयाक्छन् । यो सानो कुरामा देखिने फरक हेर्ने हो भने हाम्रो शिक्षाको अव्यवाहरिकता स्वतः प्रष्ट हुन्छ  । हाम्रो शिक्षाले यस्तो चेतना भर्दै भरेन । उदाहरण अरु पनि पाइन्छन् ।

भ्रष्टाचार नियन्त्रणमा राज्य असफल बन्दै जानुको कारण के ? एउटा कर्मचारीले घुस किन खान्छ ? स्टोरको सामान घरमा किन पु¥याउँछ ? घुस दिन्या र घुस खान्या देशका सबैभन्दा ठूला शत्रु हुन्,  यिनलाई मा¥या पनि पाप लाग्दैन भन्ने आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको भनाइ पढेर जाने धेरै प्रशासकहरु किन भ्रष्टाचारमा मुछिन्छन् ? यी सबैको जड भनेको यो राष्ट्रको उन्नति मेरो उन्नति हो, राष्ट्रको सम्पति मेरो सम्पति हो, मैले कसैलाई ढाँट्दै छु भने मलाई, मेरो परिवार, मेरो राष्ट्रलाई र अन्ततः सारा संसारका मजस्तै मानवजाति ढाँट्दै छु भन्ने शैक्षिक चेतनाको अभावले नै गर्दा हो ।

यस्तो चेतना विद्यालयमा पढाइने सीमित पाठ्यक्रमबाट संभव छैन । हाम्रो शिक्षाले गरेर वा भोगेर ज्ञान हासिल गर्ने अवसर दिदैँ दिदैन । बरु पढ पढ बाबु पण्डित हौला ! भन्छ । असीमित शैक्षिक सामग्रीहरुको छनौटको अवसर र सञ्चार माध्यमको प्रयोग उपयोगको छनौटको स्वतन्त्रता, शिक्षकको पवित्र भावना र साधना हुने हो भने मात्र पनि धेरै हुनसक्छ । तर त्यो अवसर पनि हाम्रा विद्यार्थीलाई उपलब्ध छैन । तसर्थ चेतना दिने शैक्षिक नीति तथा योजना निर्धारण नगर्दा सम्म अहिलेको शिक्षालाई व्यवाहरिक बनाउन सकिदैन ।

ज्ञवाली शिक्षक हुन् ।

प्रकाशित मिति २०७२ फागुन २१ गते

प्रतिक्रिया