Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

स्ववियूले गर्ने खेलकुद संकायबाटै

सोमबार, १७ फागुन २०७२

काठमाडौं - त्रिभुवन विश्वविद्यालय शिक्षा शात्र संकायले अन्तर विभागीय खेलकुद प्रतियोगिता शुरु गरेको छ । यस अघि स्वतन्त्र विद्यार्थी यूनियन मार्फत हुने यस्ता खेलकुद प्रतियोगिता स्ववियू निर्वाचन नभएसँगैं हुन सकेको थिएन । विद्यार्थीसंग शुल्क उठाउने तर खेलकुद नगर्ने भन्दै आलोचना भईरहेको समयमा शिक्षा शास्त्र संकायले विद्यार्थी संगठनहरुसँग छलफल गरेर प्रतियागिता शुरु गरेको हो ।

हरेक बर्ष हुने खेलकुदका लागि भन्दै त्रिविले प्रत्येक विद्यार्थीबाट बर्षको २ सय रुपैंया उठाउँदै आएको छ । सोमबारदेखि शुरु प्रतियोगितमा १६ विभागका दोश्रो र चौथो सेमेष्टरका करिव १५ सय विद्यार्थीबाट उठाईएको रकम खर्च गरिने छ ।

'विद्यार्थीसँग शुल्क उठाउने तर प्रतियोगिता नगर्ने गर्दा राम्रो भएन भन्ने हाम्रो भनाई थियो' नेपाल विद्यार्थी संघका नेता पारसमणि घिमिरेले भने, 'खेलकुद पनि पढाईको एउटा क्षेत्र नै भएकोले विद्यार्थीको प्रतिभा प्रष्फुटनमा यस्ता प्रतियोगिताले सघाउ पुर्याउँछन् ।' देशैभरीका क्याम्पसहरुले पनि प्रतियोगिता गरेर विद्यार्थीबाट उठाएको शुल्कको सदुपयोग गर्न उनको सुझाव छ ।

सोमबारबाट शुरु प्रतियोगिताको उद्घाटन शिक्षा शास्त्र केन्द्रिय विभागका विभागीय प्रमुख पं्रा.डा. पारसमणि भण्डारीले गरे । प्रतियोगिताको संयोजनको जिम्मेवारी स्वास्थ्य तथा शारिरिकका विभागीय प्रमुख प्रा.डा. कृष्ण आचार्यलाई दिईएको छ ।

सप्ताहब्यापी उक्त प्रतियोगितामा शिक्षा संकायका १६ विभागका दोश्रो र चौथो सेमेष्टरका विद्यार्थी खेल्ने छन् । छात्र छात्राको भलिबल, लङ् जम्प, दौड, हाईजम्प, सटपुट, डोरी तान्ने लगायतका स्पर्धामा विद्यार्थी भिड्ने छन् ।

प्रकाशित मिति २०७२ फागुन १७ गते

प्रतिक्रिया