Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

बाढीले बगाएको विद्यालय नबन्दा दुई विद्यालयका विद्यार्थी एकै ठाउँ

शनिबार, ३० फागुन २०७१

तुलसीपुर (दाङ), ३० फागुन । गत साउन महिनाको अन्त्यमा बबई नदीमा आएको बाढीले बगाएका पश्चिम दाङका दुई विद्यालयका भवन अझैसम्म निर्माण हुन नसक्दा ती विद्यालयका विद्यार्थी खुल्ला आकासमा त्रिपालभित्र बसेर बहुकक्षामा पढ्न बाध्य छन् ।

अविरल वर्षापछि आएको बाढीका कारण पश्चिम दाङको विकट स्थानमा पर्ने पुरन्धरा गाविस– ९ मा रहेको सरस्वती मावि गङ्गटे र सोही गाविस– १ को हंशपुरमा पर्ने प्रावि धोवाघाटका छात्रछात्रा त्रिपालमुनि बसेर बहुकक्षामा पढ्न बाध्य भएका हुन् ।

बबई नदीमा आएको बाढीले विद्यालयको सम्पूर्ण भवन र जग्गा बगाएर लगेपछि पठनपाठनलगायत विद्यालयको सम्पूर्ण काम सञ्चालन गर्ने निकै कठिनाइ भएको विद्यालयले जनाएको छ ।

जनता मावि गङ्गटेका प्रधानाध्यापक देउकली वलीले विद्यालयका सम्पूर्ण सामग्रीसहित भवन र जग्गा बगाएर लगेपछि एक महिनासम्म विद्यालयको पठनपाठन पूर्णरुपमा बन्द गराएको र पछि स्थानीयवासी अभिभावकको सल्लाहमा विद्यालय रहेको स्थानभन्दा केही टाढा सानो स्थानमा पाँच वटा त्रिपाल टाँगेर भए पनि बहुकक्षा सञ्चालन गरेर पठनपाठन सुचारु गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभया,े “अहिले विद्यालय कहाँ स्थापना गर्ने भन्ने सम्बन्धमा जग्गाको टुङ्गो त लागि सक्यो तर आवश्यक पर्ने बजेट अभावका कारण विद्यालय भवन निर्माण हुन सकेको छैन ।”

जिल्ला शिक्षा कार्यालय दाङबाट प्राप्त भएको रु १० लाख ५० हजार र जिल्ला प्रशासन कार्यालय दाङमार्फत जिल्ला दैविक उद्धार समितिले उपलब्ध गराएको रु नौ लाख ७५ हजाराट चारकोठे भवन र शौचालय निर्माणको सुरु गरेका छौँ तर त्यो बजेट पर्याप्त छैन प्रधानाध्यापक वलीले भन्नुभयो ।

उहाँले थप्नुभयो “जिल्लामा रहेका केही मात्र शिक्षण संस्थाले सहयोग गरे पनि सबैको सहयोग पाउन सकिएन । स्थानीय पुरन्धरा गाविसले पनि कुनै सहयोग गरेन । त्यसैले निर्माणमा समस्या भइरहेको छ ।”

त्यस्तै समस्या धोवाघाट प्राविको पनि रहेको छ । पुस माघ महिनाको कठ्याङ्ग्रिने जाडो र वैशाख जेठ महिनाको प्रचण्ड गर्मीमा समेत विद्यार्थी त्रिपालभित्र बसेर पढ्न बाध्य हुने बताइएको छ ।

यद्यपि केही शिक्षा प्रेमीहरुले सहयोग गरेमा भने विद्यालय निर्माण कामलाई सहज हुने र विद्यार्थीलाई पनि पठनपाठनमा सजिलो हुने विद्यालयले जनाएको छ ।

सरस्वती मावि विद्यालयमा हाल शिक्षक कर्मचारी गरी १३ जना रहेका छन् । मावि तहको एक जना पनि शिक्षक दरबन्दी नभएको सो विद्यालयमा हाल पाँच जना निमावि र प्रावि शिक्षकलाई निजी क्षेत्रबाट स्थानीय गाउँलेले आर्थिक रकम सङ्कलन गरी पठनपाठन गराउँदै आएका छन् ।

शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन गाउँलेले वार्षिक एक घरबाट रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म रकम सङ्कलन गरेर विद्यालयलाई सहयोग गरेको सो विद्यालयका शिक्षक रमेश कुँवरले बताउनुभयो ।

विकासका सबै पूर्वाधारबाट वञ्चित रहेका त्यहाँका नागरिक गाउँमा नै मावि तहसम्म शिक्षा दिन आर्थिक रकम गाउँलेबाट सङ्कलन गरेर शिक्षकलाई तलब खुवाइरहेको विद्यालयको सबै भवन र जग्गा बाढीले बगाएर लगेपछि निकै चिन्तित भएका स्थानीयहरु अहिले भने विद्यालय रहेको स्थानभन्दा केही टाढा सानो स्थानमा भवन निर्माणमा जुटेका छन् ।

विसं २०४३ मा स्थापना भएको सो विद्यालयमा हाल ५४१ जना विद्यार्थी रहेका छन् । गत साउन महिनाको अन्त्यमा आएको बाढीले यहाँका दुई वटा विद्यालयका सम्पूर्ण संरचनासहित भवन बगाएकोे र ती विद्यालयका भवन निर्माणका लागि कार्यालयबाट सक्दो सहयोग भइरहेको र अझै थप स्रोत कसरी जुटाउने सम्बन्धमा पहल भइरहेको जिल्ला शिक्षा अधिकारी प्रल्हाद अर्यालले बताउनुभयो ।

साउन महिनामा आएको बाढीले ती दुई विद्यालय बगाउँदा र अन्य जिल्लाका विद्यालयका संरचनामा क्षति पुग्दा रु एक करोड २० लाख बराबरको भौतिक क्षति भएको शिक्षा कार्यालय दाङले जनाएको छ ।

स्मरण रहोस् ती विद्यालय तुलसीपुर बजारदेखि करिब डेढ किमी पश्चिम दक्षिणको विकट क्षेत्रमा पर्दछन् ।

- नारायणी रजौरे / रासस

प्रतिक्रिया