Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

शिक्षकको परीक्षामा ३ दर्जन निष्काशित

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । शिक्षक सेवा आयोगद्वारा जाजरकोटमा संचालित शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा ३ दर्जन परीक्षार्थी निष्काशित भएका छन् ।  त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगा केन्द्र क, ख, भेरी ज्ञानोदय क्याम्पस केन्द्र र त्रिभुवन निम्नमाध्यमिक विद्यालय रिसाङ्ग परीक्षा केन्द्रमा परीक्षामा अमर्यादित कार्य गर्ने परीक्षार्थी निष्काशन भएका हुन् । 

खलंगा केन्द्र क र ख बाट १८, क्याम्पस केन्द्रबाट १५ र रिसाङ्ग केन्द्रबाट ४ परीक्षार्थी निष्काशन भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । ३ दर्जनको परीक्षा रद्ध गरीएको सहायक प्रजिअ शर्माले बताए ।  यी परीक्षार्थीले कक्षा कोठा भित्रै गाइड, गेसपेपर, नोटकपी लगाएत सामाग्रीको प्रयोग गरी उक्त परीक्षाको नक्कल गरेकाले उनीहरु सबैको परीक्षा रद्ध भएको शर्माले बताए । 

जाजरकोटबाट २ हजारले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा दिएका छन् ।  माध्यमिक तर्फ २ सय १० र निम्नमाध्यमिक तर्फ १ हजार ६ सय उक्त परीक्षामा सहभागी भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए । निम्नमाध्यमिक तहको परीक्षा ८ केन्द्रमा संचालन भएको उनले बताए ।  

शनिवार संचालन भएको निम्न माध्यमिक शिक्षक अध्यापन अनुमती पत्रको परीक्षाका लागि बुद्धि निम्न माधयमिक विद्यालय बोहोरा केन्द्रमा महिला कर्मचारीलाई मात्र खटाईएको जिशिअ सिंहले बताए । महिला तथा बालबालिका अधिकृत प्रज्ञा निरौलाको नेतृत्वमा रहेको महिला कर्मचारीहरुको टोलीले उक्त केन्द्रको परीक्षा संचालनको जिम्मा लिएको सिंहले बताए । समाबेशी सिद्धान्त अनुसार परीक्षालाई महिलामैत्री बनाउन त्यसो गरीएको उनले बताए । 

शिक्षक सेवा आयोगको परीक्षा मर्यादित र ब्यबस्थित गर्न भवन तथा फर्निचरको अभाव भएको जिशिअ सिंहले बताए । परीक्षाका लागि कक्षा कोठा कम हुनुका साथै फर्निचर पनि अपुग हुँदा समस्या भएको उनले बताए । 

कतिपय केन्द्रमा फर्निचर नहुँदा एउटै बेन्चमा ४ परीक्षार्थी बसाउनुका साथै परीक्षार्थीलाई भुईमा राखेर जाँच लिनु पर्ने वाध्यता भएको सिंहले बताए । सदरमुकामका विद्यालयमा पनि भौतिक ब्यबस्थापनको उपयुक्त ब्यबस्था हुन नसकेको पाइयो, उनले भने । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया