Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पुस्तक छपाइमा सरकारलाई असहयोग

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १६ फागुन । शैक्षिक सत्रको सुरुमै विद्यालय तहको पुस्तक पुर्‍याउने सरकारको योजना असफल बनाउन मुद्रण महासंघ लागिपरेको जनक शिक्षा सामग्री केन्द्रले आरोप लगाएको छ । vकेन्द्रले यस वर्ष आवश्यक पुस्तक छपाइ गर्न नसक्ने भएपछि कागज उपलब्ध गराएर फर्मा छपाइ गर्न निजी छापाखानालाई दिने निर्णय गरेको थियो । 

महासंघले यसको विरोध गर्दै केन्द्रले गत माघ २० र फागुन २ मा जारी गरेको बोलपत्रमा सहभागी नहुन देशभरका सबै निजी छापाखानालाई निर्देशन जारी गरेर सिन्डिकेट गरेको हो ।  ‘गरिब विद्यार्थीले पढ्ने पुस्तक छपाइमा पनि कार्टेलिङ गर्‍यो,’ केन्द्रका सञ्चालक समितिका सदस्य स्नेह सायमीले भने, ‘बोलपत्र फाराम लगेकालाई पनि बुझाउन दिएनन् ।’ सरकारले केन्द्रलाई कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी दिएको छ । निजीलाई १ देखि ५ कक्षाको पुस्तक छपाइ गर्न दिएको छ । 

केन्द्रले कक्षा ६ र ७ को ४० लाख थान पाठ्यपुस्तक चैत १५ सम्म छपाइ गर्न नसक्ने भएपछि कागज उपलब्ध गराएर निजीलाई फर्मा छाप्न बोलपत्र आहान गरेको थियो । छपाइ गरी स्टिच लगाएर कभर राख्ने र ‘फिनिसिङ’ सबै केन्द्रले गर्ने गरी बोलपत्रमा सहभागी जनाउनुपर्ने सर्त राखेको थियो । 

तर, सरकारको यो योजना असफल पार्न महासंघ लागिपरेको केन्द्र व्यवस्थापनको आरोप छ । केन्द्र परिसरभित्रै छापाखाना राखेर छाप्ने सुविधासमेत दिएको छ । केन्द्रमा लोडसेडिङको समस्या छैन । पुस्तकको फर्मा छपाइ गर्न केन्द्रले गत माघ २० मा पहिलोपटक बोलपत्र आहान गरेको थियो । 

केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार १८ वटा प्रेसले बोलपत्र फाराम किनेकोमा सिन्डिकेटले गर्दा वेस्टर्न प्रिन्टिङ प्रेस, भक्तपुर छापाखाना, अल्पाइन अफसेट प्रेस र प्रज्ञा अफसेट प्रेसले मात्रै फाराम बुझाए । यसमध्ये अल्पाइन मात्रै योग्य भएको थियो ।  केन्द्रले पुनस् फागुन २ मा दोस्रोपटक बोलपत्र आहान गरेको थियो । यसमा ९ वटा प्रेसले बोलपत्र फाराम किनेपनि चार वटाले मात्रै बुझाएका थिए । यसमा भक्तपुर छापाखाना र वेस्टर्न छनोट भएको केन्द्रले जनाएको छ ।  

शुक्रबारसम्म साझा प्रकाशनलाई चार लाख, भक्तपुरलाई ६ लाख, वेस्टर्नलाई तीन लाख र अल्पाइनलाई ६ लाख थान पुस्तक छपाइ गर्न कागजसमेत उपलब्ध गराइसकिएको झाले बताए । थप २१ लाख पुस्तक छपाइ गर्न पुनस् बोलपत्र आहान गर्न लागेको उनले बताए । 

मुद्रण महासंघका अध्यक्ष माधव केसीले जनक शिक्षामार्फत काम गर्न असहज भएकाले बोलपत्रको फाराम नलिन सबैलाई आग्रह गरेको बताए । ‘जनकले गर्न सक्दैन भने सरकारले हामीलाई सिधै दिनुपर्‍यो । जनकमार्फत भएको टेन्डरमा हामी सहभागी हुँदैनौं,’ उनले भने । 

फर्मा छपाइ गरेर पुनस् जनकलाई वितरण गर्न दिँदा विद्यार्थीको हातमा पुस्तक नपुग्ने उनको दाबी छ । जनकमार्फत फर्मा छपाइको बोलपत्र माग गरेर मुद्रण उद्योगीहरूको हितमा नहुने भन्दै संघले आपत्ति जनाएको छ ।  पुस्तक छपाइ गरेर बिक्रीवितरणको जिम्मेवारी दिए मात्रै सहभागी हुने उनीहरूको अडान छ । छाप्न र वितरण गर्न दिएमा तोकिएको संख्याभन्दा बढी छापेर बिक्री गर्ने भएपछि केन्द्रले कागज उपलब्ध गराएर फर्मा मात्रै छाप्न दिएको हो । 

६७ लाख थान पुस्तक छाप्न बाँकी

जनक शिक्षाले आउँदो शैक्षिक सत्रमा आवश्यक पर्ने ६७ लाख थान पुस्तक छाप्न बाँकी रहेको जनाएको छ । कक्षा ६ र ७ को ५२ लाख, कक्षा ८, ९ र १० को १५ लाख पुस्तक छपाइ गर्न बाँकी रहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बताए । 

शिक्षा विभागको फ्लास रिपोर्टअनुसार ८, ९ र १० मा ८० लाख थान पुस्तक आवश्यक पर्छ । ‘फागुन अन्तिमसम्म १५ लाख छापिसक्छौं,’ उनले भने । कक्षा ६ र ७ को ७२ लाख थानमध्ये ४० लाख थान निजी प्रेसलाई छाप्न दिन लागेको हो । 

२० लाख थान छपाइसकेको उनले बताए । त्यस्तै साझा प्रकाशनसहित ४ वटा प्रेसले शुक्रबारसम्म १९ लाख छाप्ने सम्झौता गरिसकेको केन्द्रले जनाएको छ । अन्य पुस्तक चैत १५ सम्म छपाइ गरिसक्ने केन्द्रले कार्ययोजना अघि सारेको छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया