Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पढेकाहरू देश छोडेका छोड्यै

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १५ फागुन । वीरगन्जका रामआशिष साह त्रिपुरेश्वरस्थित कन्सुलर विभागबाहिर लाममा थिए । ब्राजिलमा जागिर पाएका उनलाई प्रमाणपत्र प्रमाणीकरण गर्नु थियो ।  ‘म सबइन्जिनियर हुँ । मैले ब्राजिलमा राम्रो कम्पनीमा काम पाएँ । यहाँ इन्जिनियरहरू नै बेरोजगार छन्, मौका किन चुकाउँ भनेर त्यता जान लागेको हुँ,’ उनले भने । इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत उनले बाँकी पढाइ मिलाएर उतै सक्ने अठोट बनाएका छन् ।

चिकित्सक, ल्याब टेक्निसियन, नर्स, इन्जिनियरलगायत प्राविधिक विषयमा उच्च शिक्षा हासिल गरेका व्यक्तिसमेत विदेश जाने क्रम बढदै गएको छ । ती स्वदेश फर्केको उदाहरण अत्यन्त कम छन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार दैनिक करिब १५ सय विदेशिने गरेका छन् ।  तीमध्ये करिब ३५ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्ति रहेको कन्सुलर विभागका अधिकारीहरू अनुमान गर्छन् ।

अचेल भीड पनि प्रमाणपत्र प्रमाणीकरण गर्न आउनेको छ । कतिपय मुलुकले नोटरीको प्रमाणीकरण नमान्ने भएपछि कन्सुलर विभाग जाने गरेका हुन् । खाडी मुलुकमा पनि उच्च शिक्षा हासिल गरेकाहरू राम्रो पदमा काम गरिरहेको तथ्यांकले देखाउँछ । कतिपय मुलुकका लागि नोटरीको प्रमाणीकरण मान्य हुने भएकाले कन्सुलरमा तथ्यांक रहँदैन । 

‘हामीकहाँ भीड बढदो छ,’ कन्सुलर विभागका उपप्रमुख तापस अधिकारीले भने, ‘नेपाली युवाहरू यसरी नै बाहिरिने हो भने सामान्य काम गर्नेदेखि उच्च शिक्षा हासिल गरेकाहरू यो मुलुकमा देख्न गाह्रो हुने भयो ।’

तिनैमध्ये एक हुन् इटहरीकी मुना कार्की । ‘बीएस्सी नर्सिङ गरें । बाबामामुले कत्ति खर्च गरेर पढाउनुभयो । यहाँ १२ हजारको के काम गर्नु रु त्यसैले म अस्ट्रेलिया वा अन्य कुनै युरोपेली मुलुकको कोसिसका लागि कागजात प्रमाणित गर्न आएको हुँ ।’ ३ घण्टा विभाग बस्दा १७ जना डाक्टर, इन्जिनियर, नर्सजस्ता प्राविधिक शिक्षा लिनेहरू भेटिए । सबैको उस्तै जवाफ थियो, ‘नेपालमा भनेजस्तो जागिर पाइएन । जान मन नहुँदा नहुँदै पनि विदेशिनु बाध्यता छ ।’

उनीहरूमध्ये प्रायस्को काम कन्सल्टेन्सीहरूले खोजी गरिदिने गरेका छन् । कन्सल्टेन्सीका एजेन्टहरू पनि यस्ता कागजात प्रमाणित गर्न विभाग पुगेका थिए । दक्ष शिक्षितलाई भिसाको पनि समस्या नपर्ने गरेको पाइएको छ । अधिकारीहरूका अनुसार क्यानडा, अस्ट्रेलिया, अमेरिकालगायतले छात्रवृत्तिसमेत दिएर सकेसम्म उतै बस्न प्रोत्साहन गर्ने गरेका छन् । कतिपयलाई नम्बरका आधारमा माइग्रेसन गराएरै पनि लैजाने गरेका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया