Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

९ जनालाई बचाएर आफु मर्ने पाइलट र को–पाइलट कहाँ पढेका थिए ?

शनिबार, १५ फागुन २०७२

काठमाडौँ, १५ फागुन । नेपालकै दुर्गम जिल्ला डोल्पामा जन्मिएर पाइलट बन्न सफल भएका दिनेश न्यौपाने २९ वर्षका थिए । दुनै गाविस–१, दुनै बजारमा २०४३ जेठ ३० गते जन्मिएका उनी सानैदेखि तीक्ष्ण मानिन्थे ।

डोल्पाकै दुनै बोर्डिङ स्कुल पढेका उनका पिता मानदत्त न्यौपाने जयबागेश्वरी बोर्डिङ स्कुल नेपालगञ्जमा अध्यापन गर्थे । कराँतेमा राम्रो गरेपछि दिनेश छात्रावृत्ति पाएकार काठमाडौंको लिटल एन्जल्समा पढ्न गएका थिए । लिटल एन्जल्सबाटै एसएलसी पास गरेपछि काठमाडौंमा आइएस्सी पढेका उनले अमेरिकाबाट पाइलट तालिम लिएका थिए । 

उनका दाई जहाजकै इन्जिनियर छन् । दुनैबाट न्यौपाने परिवार नेपालगञ्ज सरिसकेको छ । दिनेशको केही वर्षअघि विवाह भएको थियो ।  नेपालगञ्जबाट जुम्लाका लागि उड्नुअघि शुक्रबार उनले दुनैमा रहेका काका कृष्णदत्त न्यौपानेसँग फोनमा कुरा गरेका थिए । 

कोपाइलट सन्तोष राना भने पूर्वभूमिसुधार मन्त्री एवं एमाले नेता दलबहादुर रानाका छोरा हुन् ।  फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका २८ वर्षका सन्तोषले गत वैशाखदेखिमात्रै काष्ठमण्डप एयरमा कोपाइलटको जागिर सुरु गरेका थिए । 

एमाले सांसद राधाकृष्ण कँडेलका अनुसार सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेपछि अमेरिकामा पाइलट तालिम लिएर लाइसेन्स पाएका थिए । उनी अविवाहित थिए ।  राना मन्त्री हुँदा स्वकीय सचिव रहेका शेषकान्त आचार्यका अनुसार जेठा छोरा प्रकाश ब्रिटिस आर्मीका रिटायर्ड हुन् । उनी हाल बेलायतमै व्यवसाय गरेर बसिरहेका छन् । 

सांसद कँडेलका अनुसार रानाको पारिवारिक अवस्था पहिले कमजोर नै थियो । जेठा छोरा ब्रिटिस आर्मीमा भर्ना भएपछि विस्तारै आर्थिक अवस्था उकासिँदै गएको थियो । प्रकाशकै सहयोगमा सन्तोषले पाइलटसम्मको अध्ययन पूरा गरेका थिए ।

पूर्वमन्त्री रानाले भैरहवामा भएको एमाले क्षेत्रीय आमसभामामा सहभागी भएकाबेला छोरा जहाज दुर्घटनामा परेको खबर थाहा पाएका थिए । आमसभाको प्रमुख अतिथि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थिए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया