Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

हो ! म किताब

विहीबार, १३ फागुन २०७२

- सुनील गौतम / पेशाले शिक्षक हुन् । ईश्वरी प्राथमिक विद्यालय आमभञ्ज्याङ, मकवानपुरका गौतम जनप्रिय बहुमुखी क्याम्पस हटियामा पनि प्राध्यापन गर्छन् ।   उनी शिक्षणसंगै पत्रकारिता पनि गर्छन् । रेडियो मकवानपुरमा आवद्ध  छन् । उनको अर्को परिचय पनि छ लेखकको अर्थात् उनी साहित्य सृजनामा पनि तल्लिन छन् । यो साताको शिक्षा साहित्यमा उनकै कविता :

हो ! म किताब
मलाई नै पढेर
विद्यावारिधी गर्नेहरु बाटै
म आरोपित छु अचेल
म आलोचित छु अचेल
र  थन्किएको छु उनिहरुबाटै
बन्द पुस्तकालयको कुनै
एउटा अध्यारो कोठामा ।

हो ! म किताब
मलाई गाता नहाल्दा
म फाटिएको हूँ,
मलाई तानातान गर्दा च्यातिएको हूँ
मलाई हरेक ब्यवस्था पिच्छे
फेर्न खोज्दा फेरिएको हूँ, र शासकको चाहना संगसंगै उसैगरी
म पनि शासित् भएको हूँ ।

हो ! म किताब
कसैले म माथि
कालो छोपेर रातो लेखिदिए
कसैले रातो छोपेर सेतो लेखिदिए
उज्यालो छोपेर कसैले अध्यारो लेखिदिए
जस्ले जस्तो जस्तो लेखे,
म त्यस्तै त्यस्तै बनें
र त म आरोपित छु अचेल ।

हो ! म किताब
म चाहन्थें
कलिला स्कुले नानीहरुले
म बाट आफ्नो देश पढुन्
युवाहरुले म बाट
मनग्गे सीप र सृजना पढुन्
वृद्ध वृद्धाहरुले म बाट
जीवन चिन्ने साक्षरता पढुन्
र गरून् खानी उत्खनन् यो देशको,
नेताहरुले विकास पढुन्
योद्धाहरुले पढून् राष्ट्रियता म बाट
हो म किताब ।

हो ! म किताब
मबाट पढुन् माटो किसानहरुले
श्रम र मेहनत पढुन् श्रमिकहरुले
जीवन र जगत पढुन् भोग्नेहरुले
अनि पढून् यो देशको विशाल भूगोल
र कोरुन् चित्र आफ्ना छातीहरुमा
संगीन घोचिएका सिपाहीहरुले ।

हो ! म किताब
एकपाटो छाती दुखाएर
अर्काेपाटो मुटु दुखाएर
ईतिहास अचेत बनेको छु अचेल
र थुनिएको छु कहिले
धमीरा लाग्ने पुराना कोठाहरुमा
च्यातिएको छु कहिले
बुर्जुवा शिक्षाको नाममा
बीच सडकका जुलुसहरुमा
कहिले बन्दहरुमा
कहिले हड्तालहरुमा ।

हो म सहमत छु
मलाई युगसंगै फेर तिमीहरु
मलाई चेतनासंगै बदल तिमीहरु
ममाथि ब्यवस्था लेख, बेईमान नलेख
माटो लेख, मृत्यु नलेख
जीवन लेख, हिंसा नलेख
विकास लेख, विनास नलेख
र पढ मबाट जीवनका स्वर्णिम अध्यायहरु
हो ! म किताब ।

प्रकाशित मिति २०७२ फागुन १५ गते

प्रतिक्रिया