Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

शिक्षकले नै उपाय अपनाए – खाजा अनिवार्य !

विहीबार, १३ फागुन २०७२

- भक्तबहादुर शाही / विद्यालय समय नसकिँदै पढ्नै छाडेर विद्यार्थी किन भाग्छन् ?

यो प्रश्नको उत्तर ठाउँ अनुसार फरक फरक हुन्छ । शहर बजारका विद्यार्थी रमाईलो गर्न, फिल्म हेर्न वा साथि भाईसँग बरालिन विद्यालय हाप्ने गर्छन् । तर ग्रामिण भेगका विद्यार्थी भोक खप्न नसकेर विद्यालय हाप्ने गर्छन् ।

दैलेखको दक्षिण क्षेत्रमा अवस्थित वराह प्राथमिक विद्यालयमा यस्तै समस्या आईलाग्यो । विहान हाजिर गर्दा उपस्थित विद्यार्थी बेलुका विद्यालयमा भेटिन छाड्यो । खाजा खाने समय पछि घट्दो विद्यार्थी संख्याले शिक्षकको चिन्ता बने बढाईरहेको थियो । विद्यार्थीलाई विद्यालयमै टिकाउन शिक्षकले अनेक उपाय अपनाए, तर सफल हुन सकेनन् ।  उनीहरुले कारणको खोजि गरे र अन्त्यमा टुङ्गोमा पुगे – विद्यार्थीले भोकाए पछि विद्यालय हाप्दो रहेछ ।

अनी शिक्षकले नै उपाय अपनाए – खाजा अनिवार्य !

घरमा गएर विद्यार्थीले जे खाजा खान्छ त्यो विद्यालयमै लिएर आउनु पर्ने नियम बनाईयो ।  खाजा खाने छुट्टिमा सबै विद्यार्थी एकै ठाउँमा बसेर आआफूले ल्याएका खाजा खाने चलन शुरु भयो । 

'खाजा खाने बाहानमा विद्यार्थीले पढाई छाड्ने भएपछि विद्यालयमा अनिवार्य टिफिन प्रयोग गरिएको हो' शिक्षक भक्तिराम गौतम भन्छन्, 'टिफीन प्रयोग पछि विद्यार्थीले पढाई नछोडेका मात्रै हैन पहिले पहिले खाजा समय पछिका कक्षामा मन नलगाउने विद्यार्थी पनि हिजो आज पढाईमा मन लगाएको पाएका छौं ।'

आफ्नो खाजा टिफीनमा बोकेर ल्याउने विद्यार्थी समुहमा बसेर खाजा खान्छन् । 'पहिला हामी खाजा खान घर जान्थ्यौं पढाई छुट्थ्यो । विद्यालयले टिफिन अनिवार्य गराएपछि घरबाट टिफिनमा बोकेर ल्याएउँछौं' कक्षा–५ का सन्तोष सुनार भन्छन्, 'एक्ला एक्लै घरमा खाजा खाने गरेका हामी सँगै बसेर खाँदा साह्रै रमाईलो हुँदो रहेछ ।'

सँगै बसेर खाजा खाने यो क्रमले विद्यार्थी बिच एकआपसमा बाँडेर खाने संस्कारको पनि विकास भएको छ । घरमै पकाएको खाजाले स्वास्थ्यलाई पनि फाइदा गर्ने अभिभावक टिका खड्का बताउँछन् । बजारमा बनाएका खाजा भन्दा घरको खाजा नै उत्तम हो’ उनीको भनाई छ ।

सामाजिक सेवा केन्द्र सोसेक र सेभ द चिल्ड्रेनको  साझेदारीमा सञ्चालित एकिकृत परियोजनाको विद्यालयमा स्वास्थ्य तथा पोषण कार्यक्रमले शिक्षकलाई दिएको  तालिमले पनि घरबाटै खाजा ल्याउने काममा सघाएको छ । 

यति मात्रै हैन विद्यालयको शैक्षिक स्तर सुधार्न संस्थाले विद्यालयमा उजुरी सुझाव पेटिकाको प्रयोगलाई समेत शुरु गरेको छ । विद्यार्थीले बोलेरै उजुरी गर्न हिचकिचाउने हुँदा पेटीकामा उजुरी हाल्ने गर्दै आएका छन् । १०२ विद्यालयका शिक्षकलाई तालिम दिएको सेभ द चिल्ड्रेनका सिनियर जिल्ला कार्यक्रम संयोजक आत्माराम भट्टराईले बताए । उजुरी पेटीका परेका उजुरीको विद्यालयका शिक्षक अभिभावक बाल क्लवका प्रतिनिधी लगायतको रोहवरमा खोलिन्छ र आआफ्नो क्षेत्रको समस्या समाधान गरिन्छ । विद्यालयमा सम्बोधन हुन नसक्ने उजुरीलाई सम्बन्धित निकायमा पठाईन्छ । कार्यक्रम अन्र्तगत प्राथमिक उपचारको समेत व्यवस्था गरिएको सामाजिक सेवा केन्द्र द्धारा सञ्चालित एकिकृत परियोजनाका कर्मचारी रत्नबहादुर बुढाले बताए ।

प्रकाशित मिति २०७२ फागुन १३ गते

प्रतिक्रिया