Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

प्राविधिक शिक्षामा सबै वर्गको पहुँच माग

बुधबार, १२ फागुन २०७२

रमेश गिरी, काठमाडौँ, १३ फागुन । प्राविधिक शिक्षालाई देशव्यापी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को २८औँ परिषद् दिवस तथा वार्षिकोत्सवका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा वक्ताले प्राविधिक शिक्षामा सबै वर्गको पहुँच पु¥याउनुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशीले सिटिइभिटीको क्षमता विस्तारका लागि विदेशीको मुख नताकी आयोग र मन्त्रालयले सहकार्य गर्नुपर्नेमा जोड दिँदै सिटिइभिटीलाई आवश्यक पर्ने स्रोत, साधन र बजेट योजनामै राख्न पहल गरिने आश्वासन दिए ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले प्राविधिक शिक्षाले रोजगारी सिर्जना गर्ने र यसले नागरिकको आयस्तर बढाई देशलाई समृद्घितर्फ लैजान मद्दत गर्ने भएकाले यसको विस्तारमा मन्त्रालयले पहल गरेको दाबी गरे ।

सिटिइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत र सदस्य सचिव डा रामहरि लामिछानेले कार्यक्रम विस्तार, बजारको माग र आपूर्तिबीच तादम्यता मिलाएर सीपयुक्त नेपाल समृद्ध जनता भन्ने दूरदृष्टि सहित संस्थाले कार्य गरिरहेको बताए ।

कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रशिक्षण सहायक मुकुन्द सिंखडालाई रु ५० हजार सहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरियो ।  त्यसैगरी रु २५ हजार सहित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी रुपन्देहीका मेकानिकल प्रशिक्षक लालबहादुर बस्नेत, भेरी प्राविधिक शिक्षालय नेपालगन्जका अटो मोबाइल सहायक प्रशिक्षक श्रीराम चौधरी, नेपाल–भारत मैत्री बहुप्राविधिक संस्थाका प्रशासकीय सहायक विष्णु घिमिरे र लहान प्राविधिक शिक्षालय सिरहाका कार्यालय सहयोगी राजेन्द्र पासवानलाई पनि पुरस्कार प्रदान गरियो ।

त्यस अवसरमा विभिन्न प्राविधिक संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया