Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

उच्च शिक्षा पढ्ने विद्यार्थीको मूल्याँकन पनि लेटर गे्रडिङ्मै

मंगलबार, ११ फागुन २०७२

काठमाडौं - यो बर्ष एसएलसी पास भएर उच्च शिक्षा पढ्न भर्ना हुने  विद्यार्थीको मूल्याँकन पनि अक्षराङ्कन (लेटर गे्रडिङ्) प्रणालीबाटै हुने भएको छ ।

आगामी शैक्षिक सत्र देखि कक्षा ११ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा लेटर गे्रडिङ् प्रणाली लागू हुने भएको हो । यसै बर्ष देखि एसएलसीमा लागू भएको लेटर गे्रडिङ् प्रणालीलाई उच्च माध्यमिक तह तथा परिषद् अन्र्तगतमा समेत लागू गर्ने निर्णय भएको मंगलबार शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । 

'विद्यालय शिक्षामा अक्षराङ्कन पद्धती लागू भईसकेको र उच्च माध्यमिक तह र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा पनि यो पद्धती लागू गर्ने नीति अनुरुप उच्च माध्यमिक तह र परिषद्मा अक्षरांङ्कन पद्धती लागू गर्ने निर्णय गरिएको छ' मन्त्रीले भने ।

मन्त्री पोखरेलको अध्यक्षतामा सोमबार बसेको परिषद्को बैठकले ग्रेडिङ प्रणाली लागु गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि परिषद्का प्राविधिक महाशाखा प्रमुख दुर्गा अर्यालको संयोजकत्वमा समिति गठन गरिएको छ । एसएलसीमा नौवटा श्रेणी तय भएपनि उच्च माध्यमिक तहमा कतिवटा ग्रेड बनाउने तथा विद्यार्थीको मुल्यांकनको आधार के हुने भन्ने बारेमा उक्त समितिले रिपोर्ट तयार पार्ने छ ।

एकसाता अघि मात्रै परिषद्ले ग्रेडिङ प्रणाली अपनाउने निर्णय गरेको थियो ।

पढ्नुहोस् : एसएलसीमा सी श्रेणी ल्याउनेलाई प्राविधिकमा भर्ना लिने

यसैगरी आगामी शैक्षिक सत्र देखि कक्षा ११ र १२ मा पनि खुल्ला तथा दूर शिक्षा पद्धती लागू गर्ने पनि मन्त्रीले बताए ।  विद्यालय तह र विश्वविद्यालय तहमा दुर र खुल्ला शिक्षा पद्धती रहेपनि उच्च मावि तहमा थिएन । यसको व्यवहारिक पक्ष तथा कार्यविधि तयार गर्न शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको समेत मन्त्रीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले थाईल्याण्डमा भोलिदेखि हुने एसिया एजुकेशन समिटमा भाग लिन जान लागेको पनि बताए । यूनेस्कोले गर्ने उक्त समिटमा २४ देशका ४ सय जना उच्च स्तरीय प्रतिनिधिको सहभागिता हुने बताईएको छ । सम्मेलनमा नेपाललाई मुख्य वक्ताका रुपमा बोल्ने मौका दिएको मन्त्री पोखरेलले बताए । 

प्रकाशित मिति २०७२ फागुन ११ गते

प्रतिक्रिया