Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

३ दृष्टिविहीनको विदेश अध्ययन योजना

मंगलबार, ११ फागुन २०७२

- विष्णु विवेक / काठमाडौं - भीडभाड सडक छिचोलेर गौतम पोखरेललाई शुक्रवार सिंहदरबार अघिको राष्ट्रिय बाणिज्य बैंक पुग्नु त्यति सहज थिएन । जतिबेला बंैक पुगे बन्द हुनै लागेको बैंकका कर्मचारीले उनलाई भने, ‘आज त बन्द हुन लाग्यो अब आइतबार आउनुस् ।

फेरि बैंक आउनु उनलाई उस्तै सकस किन थियो भने उनी दृष्टिविहीन छन् । जसरी पनि आउनु त पर्यो नै किनभने उनलाई विदेश अध्ययनमा जान वैंक सर्टिफिकेट कसरी बन्छ र बनाउनु पर्छ भन्ने जानकारी चाहिएको छ ।
‘बुवालाई लिएर आउनु भनेका छन्, मित्रपार्क चावहिल बस्ने उनले वैंकबाट फर्किने बेला सुनाए, ‘बुवा स्याङ्जा हुनुहुन्छ, आउन सक्नु हुन्न भनेको छु ।

जन्मँदै दृष्टिविहीन स्याङ्जाली पोखरेलले आफन्तको सहयोगमा पोखराको अमरसिंह माविबाट एसएलसी सके । त्यो पनि विशिष्ट श्रेणीमा । दृष्टिविहीन त्यस माथि कमजोर आर्थिक अवस्था विज्ञान पढ्न उनलाई कसैले भर्ना लिन मानेनन् । राजधानीको हिमालयन ह्वाइट हाउसले निःशुल्क भर्ना गरेर त्यो अवसर दियो । कक्षा ११ मा ७२ र कक्षा १२ मा ८१ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी प्लस टु पास पनि गरे । तर कलेजले दिएको होस्टेल, परीक्षा फर्म, कोचिङको करिब १ लाखको विल अझै तिर्न बाँकी छ ।

गौतम पोखरेल

‘उच्च शिक्षा म विदेशमा पढ्न चाहन्छु, छात्रवृत्तिमा अवोदन गर्ने तयारी गरिरहेको छु, उनले भने, ‘विदेशमा पढाइ र अवसर दुवै पाइएला भन्ने आशा छ ।

यसरी विदेश जाने योजनामा रहेका दृष्टिविहीन पोखरेल मात्रै होइनन् चितवनका जयराम लामिछाने त्यस्ता अर्का व्यक्ति हुन् जसको योजना स्पेन जाने छ । सानैमा आँखामा चोट लागेर ज्योति गुमाए पछि सेतो छडीको सहारामा उनी आफ्नो गन्तव्य पहिल्याउँछन् । एसएलसीमा ८१ प्रतिशत ल्याएर राजधानीको गोल्डेन गेट कलेजमा ट्राभल तथा टुरिजम विषयमा कक्षा ११ पढिरहेका उनको योजना देशको पर्यटन विकासमा योगदान गर्ने छ ।
र, स्पेन जाने सोच चाहिँ सामाजिक सञ्जाल मार्फत भेटिएकी स्पेनकी उनकी केटी साथीले मिलाउँदै छिन् । जो उनीजस्तै दृष्टिविहीन छिन् ।

जयराम लामिछाने

‘त्यसका लागि आँखाले संसार देख्नै पर्छ भन्ने छैन, उनी बोले, ‘आँखा देख्दैनस् कसरी गर्छस् भन्नेहरु पनि छन् । सबै कुरा देख्नु पर्छ भन्ने छैन अध्ययन, अनुभवबाट पनि काम गर्न सकिन्छ । कक्षाका प्रथम उनले केही महिना अघिको टर्मिनल परीक्षामा ८६ प्रतिशत ल्याएका छन् ।

मित्र पार्कको पशुपति ब्वाइज होस्टेलमा करिब ३० जना विद्यार्थी बस्छन् । त्यहीँ बस्छन् गौतम र जयराम । र, उनीहरुसित बस्ने अर्का छन्, सुर्खेतका जीवन आचार्य । सेण्ट लरेण्ट कलेज कक्षा ११ मा पत्रकारिता र समाजशास्त्र पढिरहेका जीवनको रुची अंग्रेजी साहित्य र समाज सेवामा छ ।

जीवन आचार्य

‘त्यस अघि उच्च शिक्षाका लागि एक पल्ट विदेश जानु पर्ला, उनले आफ्नो योजना बताए, द्धन्द्ध व्यवस्थापनमा उच्च शिक्षा लिने धोको छ । हामीले भोगेको लामो द्धन्द्धको चुनौति पूर्ण व्यवस्थापनमा योगदान गर्ने रहर छ ।

न पुस्तक न सहयोगी

उनीहरुको विचारमा नेपालमा विद्यालय तह देखि नै दृष्टिविहीनलाई अध्ययनका लागि पर्याप्त र सहज पाठ्य सामग्री छैनन् । शिक्षण संस्थाको भौतिक संरचना, शिक्षण शैली र परीक्षा दृष्टिविहीन मैत्री छैन ।

‘आफुले यति मेहनत गरेर पढिन्छ । तर परीक्षा दिने बेला लेखिदिने सहयोगी पाइन्न । तीन घण्टासँगै बसेर लेख्न धेरैले गारो मान्छन्, जयरामले अनुभव सुनाए, ‘नियमले तल्लो कक्षाको सहयोगी राख्न भनेको छ । त्यस्ता सहयोगीले आफूले भनेको कति बुझेर सही लेखे पत्याउनै सकिन्न । पढेको र चाहेको जति दृष्टिविहीनले परीक्षामा लेख्न सक्दैनन् ।

पाठ्य सामग्री दृष्टिविहीनले बुझ्ने शैलीमा त पाउँदै पाइन्न । ‘सरकारले दृष्टिविहीनले बुझ्ने भाषामा किताब बनाईदिएको छैन । विदेशबाट किताब आउँछन् । कहिले आउने हो ? ठेगान हुदैन्, गौतमले सुनाए, ‘विभिन्न संघ संस्थाले किताब ल्याउँछन् तर त्यो पाउने ठेगान हुदैन । अनि उच्च माविमा जति पढ्नुपर्ने हो । त्यति पढ्न सकिएको छैन । जति लेखकका किताब पढ्नुपर्छ त्यो हाम्रा लागी निकै कठिन काम हो ।’

नेपालको उच्च शिक्षाको अवस्था दृष्टिविहीन मैत्री छैन । पाठ्य सामग्री र शिक्षण शैली उनीहरुले आफू सुहाउँदो ठानेका छैनन् । विदेशमा कम्तीमा सहज तरिकाले आफूँ सुहाउँदो पाठ्यसामग्री सहज भेटिएला कि भन्ने उनीहरुलाई लागेको छ । उनीहरुको सोच के पनि छ भने विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि स्वेदश फर्केर उपयोग गर्ने ।

‘म कम्प्युटर इञ्जिनियरिङ पढ्न जाँदैछु, गौतमले भने, ‘मलाई नयाँ कुराको अनुसन्धान गर्न मन लाग्छ । म आफै सिप सिकेर आत्म निर्भर बन्न चाहन्छु ।’

जयरामलाई लाग्छ, उनी एक्लैले चाहेर केही हुन्न । ‘फर्केर साथी भाइसित ज्ञान र योजना बाँड्छु । अनि कसले के गर्ने योजना बनाएर काममा लाग्छु । एउटा कम्पनी खोल्छु, उनले भने, ‘अनि स्वदेशी तथा विदेशी पर्यटकलाई सस्तो र गुणस्तरीय सेवा दिन्छु ।’

जीवनले भने, ‘नेपालको समाज सेवा र आफुजस्ता दृष्टिविहिनको अधिकारको क्षेत्रमा काम गर्न एउटा साझा संस्था खोल्छु ।’

अहिले चाँहि उनीहरुको जिन्दगी दुःख सुख चल्दैछ । पशुपति ब्वाइज होस्टेलमा मासिक ८ हजार तिर्नु पर्छ र त्यसका लागि घरबाटै सहयोग लिनु पर्ने अवस्था छ । कहिले साथी भाइसित सरसापटीमा जिन्दगी चलिरहेको छ ।

प्रकाशित मिति २०७२ फागुन ११ गते

प्रतिक्रिया