Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

एसएलसी उत्तिर्ण प्रतिशत बढाउन ‘कन्ट्रोल लिष्ट’

आइतबार, ०१ चैत्र २०७१

भक्तपुर १ चैत / लक्ष्य अनुसार एसएलसीको नतिजा सुधार हुन नसकेपछि सरकारले यस बर्ष नयाँ ब्यवस्था गर्न लागेको छ । बिवरण गल्ति हुँदा अर्थात् मिसिङ्का कारण हुने उनुत्तिर्ण प्रतिशतलाई कम गर्न परीक्षा नियन्त्रण कार्यालयले यस बर्ष कन्ट्रोल लिष्टको ब्यवस्था गर्ने भएको हो ।

कक्षा नौ मा भर्ने रजिष्ट्रेसन फारम र एसएलसीको फारम भर्दा उल्लेख गर्ने विषयमा हुने गल्ति, विद्यार्थीको जन्म मिति नमिल्ने लगायतका कारण विद्यार्थी फेल हुदैं आएका छन् । यस्ता कारणले हुने अनुत्तिर्ण प्रतिशत घटाउँदा नतिजामा सुधार देखाउन सकिने ठहर सहित यो ब्यवस्था गर्न लागिएको हो ।

परीक्षा सकिएको एक साता भित्र विद्यार्थीले उक्त गल्ति सुधार्न सक्ने ब्यवस्था मिलाईएको नियन्त्रक विष्णु बहादुर द्धारेले जानकारी दिए । उक्त लिष्टमा हरेक परीक्षा केन्द्रबाट परीक्षा दिने विद्यार्थीको नाम, जन्म मिति सहित ऐच्छिक विषयहरुको बिवरण उल्लेख हुन्छ । उक्त बिवरणमा उल्लेख भएको विषय र आफूले परीक्षा दिने विषय बिच फरक फेला परेमा नतिजा प्रकाशित हुनु अघिनै विद्यार्थीले सच्याउन सक्ने छन् ।

परीक्षा सकिए लगत्तै उक्त बिवरण कार्यालयले वेभसाईटमा राख्ने र विद्यार्थीले आफ्नो बिवरण परीक्षण गर्न सक्ने छन् । यसका लागि कार्यालयमा आउनु पर्ने हुन्छ । यो बर्षबाट लागू गरिएकोले परीक्षा अघिनै सार्वजनिक गर्दा विद्यार्थीमा अलमल भएर परीक्षा नै विग्रन सक्ने अड्कल काट्दै कार्यालयले उक्त प्रविधि परीक्षा सकिए लगत्तै सार्वजनिक गर्ने जनाएको छ ।

गत बर्ष विभिन्न कारणले १ हजार ३ सय ९ परीक्षार्थीको नतिजा मिसिङ् भएको थियो ।

गत बर्षलाई सिकाई बर्षका रुपमा मनाउँदै एसएलसीको नतिजा दोहोरो अँकले बृद्धि गर्ने भनिएको थियो । तर, अघिल्लो बर्ष भन्दा जम्मा २.३५ अँक धेरै अर्थात् ४३।९२ प्रतिशत विद्यार्थी  मात्रै उत्तीर्ण भए पछि लगानी खेर गएको भन्दै आलोचना भएको थियो ।

गत बर्ष दोहोरो अँकको समेत सुधार हुन नसकेको एसएलसीको नतिजा त्यस अघिका चार बर्ष निरन्तर ओरालो लागेको थियो ।

२०६६ सालदेखि एसएलसीको परिणाम निरन्तर खस्कँदै गएको थियो । २०६५ मा ६८।४७ प्रतिशत उत्तीर्ण भएकोमा २०६६ सालमा ६४।४९ प्रतिशत, २०६७ मा ५५।९५ प्रतिशत, २०६८ सालमा ४७।१६ प्रतिशत र २०६९ सालमा ४१।५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

गत बर्ष ३ सय ३१ विद्यालयको नतिजा नील भएको थियो । ६ हजार ४५ सामुदायिक र ३ हजार १ सय ४२ संस्थागत विद्यालय मध्ये सबै भन्दा धेरै २ सय ८१ सामुदायिक विद्यालयको नतिजा नील भएको थियो । कन्ट्रोल लिष्टका माध्यामले नतिजामा सुधार हुने कार्यालयको अपेक्षा छ । 

दृष्टि विहिनलाई कक्षा नौको सहयोगि

दृष्टि विहिन विद्यार्थीले यस बर्ष कक्षा नौ पढ्ने सहयोगी मार्फत परीक्षा लेख्न पाउने भएका छन् । यस अघि कक्षा ८ का सहयोगी मार्फत परीक्षा दिन पाउने ब्यवस्थालाई परिमार्जन गरिएको आईतबार भएको पत्रकार सम्मेलनमा द्धारेले जानकारी दिए ।

एसिड आक्रमणका घाइतेलाई सहयोगी

एसिड प्रहारबाट घाइते भएकी संगीता मगर र सीमा बस्नेतले सहायक को  सहयोगमा परीक्षा दिन पाउने भएका छन् । वीर अस्पतालमा उपचाररत बस्नेत र सिनामंगल मेडिकल कलेजमा उपचाररत मगलाई नजिकैको परीक्षा केन्द्रबाट प्रश्नपत्र उपलब्ध गराईने छ । सोही केन्द्रबाट एक जना निरिक्षकको ब्यवस्था गरिने छ । 

यसवर्षको एसएलसी परीक्षा चैत्र ५ गतेदेखि १६ गते सम्म संचालन हुनेछ । नियमित तर्फ ४ लाख २६ हजार २ सय १४ जना र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय८३ जना गरी कूल ५ लाख ७४ हजार ६ सय ६५ परीक्षार्थी रहेका छन् । परीक्षाका लागि १८६२ केन्द्र निर्धारण गरिएको छ । २४४० सहायक केन्द्राध्यक्ष, २३०१४ निरीक्षक, ७६९९ सहयोगी र २७९३० सुरक्षाकर्मी परिचालन गर्ने कार्यालयले जनाएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । 

परीक्षा तयारी र योजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शिक्षा सचिव बिश्वप्रकाश पण्डितले परीक्षाको सबै तयारी पुरा भएको र मर्यादा कायम राखि सञ्चालन गर्न सहयोगको आग्रह गरे ।

एसएलसी परीक्षालाई मर्यादित बनाउन गत बर्ष देखि आचार सँहिता लागू गरिएको छ । उक्त आचार संहिता जस्ताको त्यस्तै –

एसएलसी परीक्षाका सरोकारवालाहरूका लागि पालना गर्नु गराउनु पर्ने आचार संहिता, २०७०

एसएलसी परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सुसम्पन्न गर्न शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियमावली २०५९ (संशोधन सहित), एसएलसी परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नीतिगत व्यवस्था एवम् निर्देशनहरूको अनिवार्य रूपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासंग सम्बन्धित सवै सरोकारवालाहरुका निमित्त लागुहुने गरी यो आचार–संहिता जारी गरी लागु गरिएको छः ।

१. परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्ने तथा प्रवेशपत्रमा उल्लिखित निर्देशनहरू तथा एसएलसी परीक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०६८ मा भएका परीक्षार्थीले पालन गर्नुपर्ने आचारसंहिताको पालना गर्ने

२. विद्यालयबाट सम्मिलित परीक्षार्थीहरू अनिवार्य रूपमा विद्यालयको नियमित पोशाकमा आउनु पर्ने,

३. परीक्षार्थीहरूलाई प्रवेशपत्र बिना परीक्षामा नबस्ने नबसाउने,

४. परीक्षार्थीहरू अनुशासित एवम् मर्यादित रूपमा परीक्षा हलमा उपस्थित हुनु पर्ने अन्यथा परीक्षाबाट निष्काशित हुनुपर्ने

५. परीक्षार्थीहरूले परीक्षामा शान्तपूर्वक सहभागी हुने एवम् कुनै पनि किसिमको होहल्ला, गफ, छलफल नगर्ने

६. परीक्षाको मर्यादा उल्लंघन गर्ने परीक्षार्थीलाई तत्काल अनिवार्य रूपमा परीक्षाबाट निष्काशित गर्ने गराउने,

७. केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष तथा निरीक्षक नियुक्ति गर्दा सम्वन्धित केन्द्रमा परीक्षार्थी समावेश नभएका विद्यालयका माध्यमिक र उच्च माध्यमिक तहमा अध्यापन नगर्ने प्राथमिक÷निम्नमाध्यमिक तहका शिक्षकहरू मध्येबाट विश्वासिलो र योग्यतम् शिक्षकलाइ मात्र नियुक्त गर्ने,

८. सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारी (परिचर) परीक्षा अवधिभर परिवर्तन गर्न नपाइने । विशेष कारण परेर परिवर्तन गर्नै पर्ने भएमा जिल्ला शिक्षा कार्यालयसंग अनिवार्य रूपमा समन्वय गरेर मात्र गर्ने गराउने

९. सम्बन्धित परीक्षा केन्द्र रहेको विद्यालयमा विगत वर्षदेखि काम गर्दै आएका सहयोगी कर्मचारी (परिचर) लाई मात्र सहयोगी कर्मचारी (परिचर) का रूपमा राख्ने, राख्न लगाउने

१०. क्षेत्रीय वा केन्द्रीय निकायबाट अनुगमनमा आउने एसएलसी परीक्षा वोर्डका पदाधिकारी वा अनुगमनकर्ता सम्बन्धित निकायको पत्र वा परिचय पत्रका आधारमा एवम् अन्य अनुगमनकर्ता जिल्ला शिक्षा कार्यालयको पत्र वा परिचयपत्रका आधारमा मात्र परीक्षा केन्द्रमा प्रवेश गर्ने, गराउने

११. केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीहरूले स्पष्ट रूपले देखिने गरी परिचय–पत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गर्ने

१२. केन्द्राध्यक्षले एउटै निरीक्षकलाई दिनदिनै दोहो¥याएर एउटै कक्षमा नराख्ने

१३. केन्द्राध्यक्षले निरीक्षक सूची (Invigilators list)  स्पष्ट रूपमा देखिने गरी टाँस गर्ने गराउने

१४. परीक्षा सञ्चालन अवधिभर परीक्षार्थीहरूलाई मोवाईल फोन लगायत कुनैपनि किसिमको विद्युतीय उपकरण (सामान्य क्यालकुलेटर वाहेक) साथमा राख्न तथा प्रयोग गर्न निषेध गर्ने एवम् केन्द्राध्यक्ष, तथा अनुगमनकर्ता बाहेक अन्यका मोवाइल फोन अनिवार्य रूपमा बन्द (स्वीच अफ) गर्ने गराउने । केन्द्राध्यक्ष तथा अनुगमनकर्ताका मोवाइल फोन समेत भाइबे्रसन (Vibration) वा साइलेन्स (Silence)  मा राख्ने, राख्न लगाउने

१५. परीक्षाको मर्यादा उल्लङघन भएमा शिक्षा ऐन, २०२८ को दफा १७ (१क) बमोजिम कारवाही (कसुरको मात्रा हेरी बढीमा ६ महिना सम्म कैद वा एक लाख रूपैया सम्म जरिवाना वा दुवै सजाय) हुने व्यहोरा जानकारी गराउने

१६. केन्द्राध्यक्षले बसाई व्यवस्था (Seat Planning) गर्दा एउटा बेन्चमा बढीमा २ (दुई) जना परीक्षार्थी रहने गरी कक्षा (हल) मा एउटै विद्यालयका परीक्षार्थी मात्र नरहने र एउटा बेञ्चमा समेत एउटै विद्यालयका परीक्षार्थीहरू नरहने गरी केन्द्रमा रहेका सवै विद्यालयका परीक्षार्थीहरू मिसिने गरी (छ्यासमिस पारेर गर्ने गरी) व्यवस्था गर्ने गराउने । कुनै कारणले एउटा कक्षा (हल) मा एउटै विद्यालयका परीक्षार्थी पर्ने अवस्था भएमा क्रमाङ्कको क्रम छ्यासमिस पर्ने गरी बसाई व्यवस्था गर्ने गराउने

१७. केन्द्राध्यक्षले सम्बन्धित परीक्षा (हल) कक्षा मै परीक्षार्थी, उत्तरपुिस्तका तथा प्रवेशपत्र भिडाई उत्तरपुस्तिकामा दस्तखत गर्ने

१८. केन्द्राध्यक्षले अनुगमनकर्ता परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थाको कुरा परीक्षाको मर्यादा विपरीत हुने गरी कसैले पनि कुनै पनि माध्यमबाट संकेत नगर्ने, नगराउने

१९. केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा अन्य सम्बद्ध कर्मचारी÷पदाधिकारीहरूको परीक्षा सम्बन्धी कार्यसम्पादनको अभिलेखीकरण गरी राख्ने राख्न लगाउने

२०. केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवम् परीक्षार्थीलाई परीक्षा मर्यादित बनाउने विषयमा अभिमुखीकरण गर्ने गराउने

२१. स्थानीय रूपमा सम्बन्धित सबैले परीक्षाको मर्यादा विपरीत कार्य गर्ने वा गर्न उकास्ने माथि सम्बन्धित निकायमार्फत आवश्यक कारवाही गर्न सहयोग गर्ने गराउने

२२. होस्टल, कोचिङ्ग कक्षा जस्ता शैक्षिक संस्था सञ्चालक÷व्यवस्थापकहरूलाई परीक्षा सञ्चालनमा सहभागी नगर्ने, नगराउने

२३. परीक्षा नियन्त्रण कार्यालयको मापदण्ड (Norms ) मा तोकिएको संख्या भन्दा बढी संख्यामा सहायक केन्द्राध्यक्ष, निरीक्षक एवं सहयोगी कर्मचारी (परिचर) नराख्ने

२४. केन्द्राध्यक्षले एवं अन्य सम्बद्ध कर्मचारी तथा पदाधिकारीहरूले परीक्षा संचालनार्थ सम्बन्धित सरोकारवालाहरूसँग प्रभावकारी समन्वय कायम गर्ने गराउने

२५. केन्द्राध्यक्षले परीक्षा सम्पन्न भए पश्चात परीक्षा केन्द्र रहेको विद्यालयको सहयोगमा उत्तरपुस्तिकाहरू सुरक्षितसाथ तोकिएको स्थानमा बुझाउने व्यवस्था गर्ने गराउने

२६. परीक्षाको मर्यादा कायम गर्ने सम्बन्धमा भए गरेका विभिन्न नीतिगत व्यवस्था (परीक्षा नियन्त्रण कार्यालयको फेयर इग्ज्याम (Fair Exam) संचालन गर्ने परीक्षा केन्द्रलाई प्रोत्साहन प्याकेज समेत) हरूको व्यवस्था व्यापक रूपमा प्रचार प्रसार गर्ने, गराउने

२७. निरीक्षक तोकिएको हल (कक्षा) भन्दा अन्य हलमा प्रवेश गर्न नहुने र नपाइने

२८. परीक्षा समाप्तिपछि विद्यार्थीले बुझाएको उत्तरपुस्तिका निरीक्षक स्वयंले बुझ्ने र डेस्कमा राखेर जान नपाईने

२९. सहयोगी कर्मचारी परीक्षा शुरु हुनु भन्दा कम्तीमा आधाघण्टा पहिला नै परीक्षा केन्द्रमा प्रवेश गर्ने । परीक्षा केन्द्रबाट परीक्षा अवधिमा बाहिरिएको खण्डमा निज पुनः केन्द्रमा प्रवेश नगर्ने नगराउने

३०. सहयोगी कर्मचारीहरू केन्द्र विद्यालयको कम्पाउण्ड भित्र मात्र रहने । परीक्षा सञ्चालन भएका कक्षा÷कोठा वा हलहरूमा प्रवेश नगर्ने, नगराउने

३१. केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष र निरीक्षक लगायतका परीक्षा सञ्चालनमा संलग्न हुने सम्पूर्ण पदाधिकारीहरूलाई आआफ्नो भूमिका उच्च सर्तकता एवम् चनाखो भई निर्वाह गर्ने, गराउने

३२. परीक्षा अवधिभर परीक्षा केन्द्रको सीमाभित्र अनावश्यक भिड÷होहल्ला हुन नदिइ शान्त वातावरण निर्माणको व्यवस्था गर्ने गराउने

३३. परीक्षा केन्द्रहरूमा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा विद्यालय व्यवस्थापन समिति, सुरक्षा कर्मी र परीक्षा सरोकारवालाहरुको उपस्थितीमा अन्तरक्रिया गरी नीतिगत व्यवस्थाको जानकारी गर्ने गराउने

३४. जिल्लास्तरबाट परीक्षा केन्द्रमा खटिएका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक एवम् अन्य पदाधिकारीहरूबाट तोकिएको जिम्मेवारी पूरा भएको नदेखिएमा तत्काल कार्यवाही गरी वैकल्पिक व्यवस्था गर्ने, गराउने

३५. परीक्षा सञ्चालन हुनुपुर्व विद्यालय बाहिर तथा सार्वजनिक स्थलहरूमा यस आचार संहिता टाँस गरी निरीक्षक विद्यार्थी लगायतका सरोकारवालाहरूलाई अनिवार्य अभिमुखीकरण गर्ने ।

साथै एसएलसी परीक्षालाई थप व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न गराउनका लागी परीक्षाकेन्द्र रहेको विद्यालयको व्यवस्थापन समितिको सम्लग्नतामा अभिभावक, स्थानीय वुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी सहितको परीक्षा व्यवस्थापन तथा सहयोग समिति गठन गरी स्थानीय परिवेश जन्य अन्य आवश्यक नियम तथा आचार संहिता निर्माण गरि लागु गर्ने गराउने

प्रतिक्रिया