Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

फि तिर्दैमा निर्वाह हुँदैन दायित्व

सोमबार, १० फागुन २०७२

- शिवशरण ज्ञवाली / के पैसा तिर्दैमा आमाबाबुको बालबालिकाप्रतिको दायित्व पूरा हुन्छ ? उनीहरुको आफ्ना बालबालिकाको शिक्षामा विद्यालय प्रतिको परनिर्भरता हेर्दा त्यस्तै लाग्छ । पैसा तिर्दैमा तपाईंको दायित्व पूरा हुँदैन भन्ने तथ्य निजी विद्यालयका सञ्चालकहरु आफ्ना विद्यार्थीका अभिभावकलाई बताउन सक्दैनन् । सही कुरा बताउँदा कतै विद्यालयबाट विद्यार्थी झिकिने हो कि भन्ने डर उनीहरुलाई छ । त्यसकारण उनीहरु सकि नसकी विद्यार्थीको पूरै जिम्मेवारीको भारी बोक्न विवश छन् । फलतः अभिभावकहरु गुमराहमा छन् र आफ्नो बालबालिकाको वास्तविक शैक्षिक प्रगतिको बारेमा अनभिज्ञ छन् भने निजी विद्यालय जसरी पनि विद्यार्थीको प्रगतिलाई प्रमाण पत्रमा मापन गरिदिनुपर्ने बाध्यतामा छन् ।

अर्कोतिर सरकारी विद्यालयका व्यवथापन समिति र शिक्षकहरुको कुरा भने भिन्न सुनिन्छ । उनीहरुको जतिबेला पनि गुनासो रहने गर्छ, विद्यार्थीको पारिवारिक अवस्था नै राम्रो छैन । उनीहरुका बाबुआमा गिटी कुट्छन्, मजदुरी गर्छन्, बालबालिकाको पढाइ प्रति चासो दिदैनन्, बालबालिकालाई नियमित स्कुल पठाउँदैनन्, त्यसकारणले गर्दा सोचेजस्तो परिणाम ल्याउन नसकिएको हो । अर्थात फि तिर्न नसक्ने अभिभावकले बाध्यताले आफ्नो अभिभावकीय दायित्व निर्वाह गरेनन् । यही बहानामा सरकारी विद्यालयका शिक्षकहरु आफ्नो दायित्वबाट विमुख भएका छन् अर्थात राम्रोसँग पढाएका छैनन् ।

दुवै तथ्यले बालबालिकाप्रति अभिभावकको दायित्वको अपेक्षा गर्दछन् । आज नेपाली समाज तीव्र गतिमा परिवर्तन भइरहेको छ । परिवर्तनको यो संघारमा सबै मानिसहरु तिल्मिलाएका छन् । शिक्षा पनि यसबाट अछुतो छैन । हरेक आमाबाबुलाई आफ्ना छोराछोरीको भविष्य मात्र होइन, आफ्नै भविष्य सपार्न लाग्नुपर्ने बाध्यता छ । हरेक नेपाली ३०/४० वर्षसम्म आफ्नो करिअर बनाउन दौडिरहेको छ । आर्थिक हिसाबले सबल बन्नुपर्ने बाध्यता अभिभावकलाई छ । त्यसकारण ऊ आफ्नो बच्चालाई स्कुलको जिम्मा लगाउन बाध्य छ । त्यसो त कतै रहर पनि छ ।

सञ्चार प्रविधिको विकासको कारणले गर्दा विश्व एउटा सानो गाउँमा परिणत भएको छ अर्थात टेलिभिजनको पर्दामा विश्व कैद छ । विकसित शहर बजारमा घुम्ने, बस्ने रहर नेपालीहरुको मनको अन्तरकुन्तरमा छिपेको छ । फलतः केही वर्षमा बच्चालाई विद्यालयको जिम्मा लगाएर होस् या केही महिनामा हजुरबा तथा हजुरआमाको जिम्मा लगाएर होस् आमाबुबा वैध अवैध रुपमा विदेश पुगिरहेका छन् । त्यस कारणले गर्दा अभिभावकले जुन दायित्व आफ्ना छोराछोरीप्रति निर्वाह गर्नुपर्ने थियो, त्यसबाट बिस्तारै पन्छिदै गएका छन् । फि तिर्न नसकेर सरकारी विद्यालयमा छोराछोरी पठाउन बाध्य अभिभावकहरु जीवनसंघर्षकै कारण आफ्ना छोराछोरीप्रति दायित्व निर्वाह गर्न सकेका छैनन् । 

भनाइ नै छ, बालबालिकाको पहिलो पाठशाला परिवार हो । उसले परिवारबाट आफ्नो मातृभाषा सिक्छ । आमालाई बालकको पहिलो शिक्षिका मानिन्छ । उनले नै आफ्नो बच्चालाई पहिलो भाषा सिक्ने बातावरण तयार गरिदिन्छिन् । भाषा सँगसँगै उसले आफ्नो संस्कार, चाल चलन, रीतिरिवाज आदि सिक्छ । त्यसपछि मात्र ऊ विद्यालय पुग्छ ।

प्रसिद्ध अमेरिकी भाषाशास्त्री नोम चमस्कीका अनुसार ५÷६ वर्षको उमेरमा बालकले आफ्नो मातृभाषाको प्राप्त गर्ने मात्र होइन, भाषिक सामथ्र्य पनि हासिल गर्दछ । शायद यही मान्यताले गर्दा होला नेपालमा एक दशक अगाडिसम्म पनि बालक पाँच वर्ष पुगेपछि मात्र स्कुल पठाउने चलन थियो तर आज तीव्र शहरीकरणको प्रभावले मानिसहरुमा व्यस्ता बढेको छ । आमाबाबु पाँच वर्षसम्म बालबालिकाको स्याहार सुसार गरेर बस्न सक्ने अवस्थामा छैनन् । फलतः डेढ दुई वर्ष उमेरबाटै बालक स्कुल पु¥याइएको छ । डेढ दुई वर्षमा विद्यार्थी स्कुल पु¥याइन थालेपछि वृद्धाश्रमको विषयमा पनि कुरा उठ्न थालेको छ । त्यो स्वभाविक पनि हो । मानिसलाई कि त बच्चामा कि त बृद्ध अवस्थामा सहयोग चाहिन्छ । बच्चामा बाबुआमाले वृद्धावस्थामा छोराछोरीले एकअर्कालाई सहयोग गर्ने अवस्था समाप्त हुन लागेको छ । तीन महिनामा छोडेर विदेश शयर गर्ने आमाबाबुलाई वृद्धावस्थामा छोराछोरीले सहयोग गरेनन् भन्न मिल्दैन । त्यसो त अर्कोतिर आफनो बच्चालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने अन्योलमा पनि अभिभावकमा छ भने नेपाली र अंग्रेजी कुन भाषा पहिला सिकाउने भन्ने अन्योल पनि उत्तिकै छ ।  

बिडम्बना आज विद्यार्थीको पहिलो ‘पाठशाला’ परिवार हराउँदै गएको छ । जे सिक्छ विद्यालयमा सिक्छ, जे सिक्छ शिक्षकबाट सिक्छ । यही अवस्था सिर्जना भएको छ । अभिभावकहरु पनि आफ्ना बालबच्चाको फि तिरदिनुलाई नै आफ्नो दायित्व सम्झन थालेका छन् ।

पैसाको प्रतिफल विद्यालय सर्टिफिकेटमा दिन खोज्छ । अनि विद्यार्थीको सामाजिक चरित्र नै हराउँदै गएको छ । विशेषतः यस्तो अवस्था निजी विद्यालयमा बढी टड्कारो छ । सरकारी विद्यालय आज गरिबका छोराछोरीले पढ्ने थलो भएको छ । अभिभावकहरु आफ्नो जीविका निर्वाहका लागि नै बढी संघर्षरत छन् भने शिक्षकहरुले राम्रोसँग पढाउँदैनन् । सरकारी विद्यालयको व्यवस्थापन कमजोर छ । नियमित स्टाफ मिटिङ् हुँदैन, खास समीक्षा बैठक हुँदैन, केबल सेवा सुविधाका कुरा बढी हुन्छन् ।

निजी विद्यालयका अभिभावकलाई लाग्छ, हामीले फि तिरेकै छौं । पढाइदिने काम त विद्यालयको हो । जसरी पनि पढाउनुपर्ने बाध्यतामा निजी विद्यालय छन् । यो जसरी पनि पढाइदिनुपर्ने बाध्यताले माकर्सिटमा नम्बर त देखिएला तर व्यवाहरमा विद्यार्थीले सामाजिक चरित्र नै गुमाइरहेको छ । त्यसकारण आज विद्यार्थी बढी कुण्ठित, आक्रोशित र उद्दण्ड तथा व्यक्तिवादी बन्ने खतरा बढ्दो छ । अर्कोतिर सिर्जनात्मक क्षमताको विकासमा अवरोध सिर्जना भएको छ ।

एउटा शिक्षकले कक्षाकोठामा कतिञ्जेल हेर्न भ्याउँछ र विद्यार्थीलाई ? विद्यार्थीको शिक्षा प्रतिको मूल दायित्व त परिवारकै हो । यो दायित्व निर्वाह गर्नका लागि परिवारले माथि माथि पढेकै हुनुपर्छ भन्ने छैन । सामान्य पढेका अभिभावकले पनि आफ्ना बालबच्चाले पढे नपढेको हेर्न, अभ्यास गरे नगरेको बुझ्न सजिलै सक्छन् । शिक्षकले गृहकार्य जाँच गरे नगरेको हेर्न सक्छन् । केवल ‘राइट’ लगाइएको होमवर्कमा अभिभावक कदापि सन्तुष्ट हुनहुँदैन बरु काटिएको होमवर्कमा सन्तोष मान्न सकिन्छ । विद्यार्थीले सिक्दा गल्ती वा त्रुटि गर्दछ भन्ने मान्यता छ । उसले गर्ने त्रुटि स्वभाविक हो । शिक्षकले त्रुटि औल्याए नऔल्याएको हेर्नु पर्दछ ।

संसारका कतिपय विकसित देश आफ्ना देशको व्यक्तिवादी चरित्रका विपरीत नेपालीको सहयोगी तथा सामाजिक चरित्र देखेर नतमस्तक छन् भन्ने सुनिन्छ । तर नेपाली बालबालिकाहरु पनि व्यक्तिवादी बन्दै गइरहेका छन् । अभिभावकसँग टाढा हुनुको परिणाम हो यो । आज आमाबुबा र छोराछोरी सँगै बस्न,े दुःखसुख साटफेर गर्ने अवस्थामा छैन । बाबुआमा भान्सामा बसे छोराछोरी कोठामा छोराछोरी भान्सामा बसे बाबुआमा कोठामा हुने अवस्था छ । बहस छलफल टाढाको कुरा भयो । यस्तो अवस्थाले एक अर्कामा मायाममता पनि हराउँदै गएको छ । दिनको एक घण्टा आफ्ना छोराछोरीसँग सँगै बसेर उनीहरुको शैक्षिक वा अन्य गतिविधि नियाल्नु अत्यन्त जरुरी छ ।

तर कार्यव्यस्तता त्यसबाट उत्पन्न थकाइ तथा तनाबसँगै आमाबाबु बालबालिकासँग बस्न नसक्ने अवस्था सिर्जना भएको छ । यसले कसिलो पारिवारिक सम्बन्ध त कमजोर भएको छ नै अभिभावकले पारिवारिक दायित्व निर्वाह गर्न नसक्ने अवस्था सिर्जना भएको छ । छोराछोरीले पढ्ने भनेको स्वयं बाबुआमाले पढ्ने हो भन्ने कथन नेपाली समाजमा छ । त्यसकारण केबल फि तिर्दैमा मात्र अभिभावकको बालबच्चाप्रतिको दायित्व पूरा हुन सक्दैन । विद्यालय वा शिक्षकले मात्रै विद्यार्थीको राम्रो शैक्षिक  भविष्यको ग्यारेन्टी गर्न सक्दैन । अभिभावकको प्रत्यक्ष निगरानी आवश्यक छ । तपाईंको कार्यव्यस्तता वा थकाइका कारण तपाईं केवल फि तिरेर मात्र आफ्नो दायित्वबाट उम्कन पाउनुहुन्न ।

ज्ञवाली शिक्षक हुन्

प्रकाशित मिति २०७२ फागुन १० गते

प्रतिक्रिया