- लक्ष्मण शर्मा / यहि फाल्गुण ५ गते शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा एडुखबर डट कमले एण्ड्रोयड संचालन पद्धतीबाट चलाउन सकिने मोबाईल एप्समा एसएलसीको विषयवस्तुहरु भएको सफ्टवेयर सार्वजनिक गरेर नेपालको विद्यालय शिक्षालाई एप्समा पदार्पण गर्ने युगीन कामको सुरुवात गरेको छ । वैशाष १२ को विनाशकारी भूकम्प र मधेश आन्दोलनले विद्यालयको नियमित पठनपाठनलाई पारेको असरलाई न्यूनिकरण गर्ने मूल उद्धेश्य राखेर निर्माण गरिएको यो एप्सले हाललाई अंग्रेजी भाषामा अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यवस्तुहरुलाई पठनीय (लिपीयुक्त), अडियो (श्रवणीय) र भिडियो (दर्शनीय) सामाग्रीहरुको रुपमा प्रस्तुत गरेको छ । सुरुवाती चरणमा स्वभाविक रुपमा यो सामान्य सरल र उपलव्ध विकल्पहरु भन्दा अलिकति सुधार सहितको देखिए ता पनि भविष्यमा यसको विस्तार र व्यापकताको बारेमा शंका गर्नै पर्दैन । यो आलेखमा आजैको मितिबाट बहस प्रारंभ गर्नु पर्ने केहि मुद्दाहरुको विवेचना गरिएको छ ।
क) कहाँसम्म पुग्ला, कसलाई फाइदा होला ?
उच्च प्रविधिको निर्माता र सम्बन्धित व्यवसायीहरुले जहिले पनि सगौरव भन्ने गरेको नयाँ प्रविधिले पहूँचको मुद्दाहरु समाधान गर्छ भन्ने दावी पूर्णतया सही देखिएको छैन । बरु नयाँ प्रविधिले पहूँचमा पछाडि पर्ने समूहलाई झन् ठूलो दूरीमा छोडेर अरु अघि बढ्ने गर्छ । अंग्रेजी भाषाको कारणले पहूँच नपुगेकाहरुलाई पुर्याउन त त्यति गार्हो नहोला, अनि काम गर्न र खर्च उठाउन सजिलो हुने भएकोले पनि अंग्रेजीमा सामाग्रीहरु बनाउनु सान्दर्भिक मान्न सकिन्छ तर स्मार्टफोन, विद्युत र ईण्टरनेटको उपलब्धता, क्षमता र खर्चको पर्खाल नाघेर कति विद्यार्थीले यो सुविधा उपभोग गर्लान् र जुटाउन नसकेर छुटेकाहरुलाई कसरी समेट्ने भन्ने मुद्दाहरु सामान्य हैनन् । भूकम्प र मधेश आन्दोलनले थिल्थिलो भएको वर्तमानमा देहात र पहाड र हिमाली दूरदराजका एसएलसीका परीक्षार्थीहरुलाई यो एप्सले सेवा दिने व्यवहारिक उपाय बुझ्न सकिएन । फेरि सार्वजनिक शिक्षामा गुणस्तर, शैक्षिक क्षति, सिकाईको संकट र राज्यको लगानीको वृद्धिको माग बढी रहेको वर्तमान सन्दर्भमा नीजि क्षेत्रले सबैलाई क्रमश न्याय दिन्छ भन्ने आधार पनि त गतिलो हुँदैन ।
ख) सिकारुहरुलाई दर्शक बनाउने कि सर्जक ?
सिकाईका पछिल्ला सिद्धान्तहरुले सिकारुको अनुभव बिना र संगत बाहिरबाट थोपरिएका ज्ञान र सूचनाहरुलाई सिकाई मान्ने चलनलाई चुनौति दिँदै तिनको औचित्य र दीगोपना माथि प्रश्न उठाएका छन् । अर्थात अबका सिकारुहरु कसैले प्रतिपादन गरेको भनिएको सिद्धान्त, मूल्य मान्यता र दावीहरु माथि प्रश्न उठाउँछन् । उनीहरु स्थापित “सत्य” को पनि परीक्षण गर्न चाहन्छन् भने अब विद्यार्थीलाई चूप लागेर सुन म तिमीलाई सिकाउँछु भन्नु गलत हुन्छ । अब उनीहरु आफैं अनुभव र संगत गर्दै सिक्न चाहन्छन् ।
त्यसैले यो सूचना र प्रविधिको युगमा आएर कोहि कसैले बनाइदिएको सूचना र ज्ञानमा प्रश्न गर्ने र आफैंले परीक्षण गर्ने अवसरलाई बढाउने सामाग्री मात्र शैक्षिक सामाग्री हुनसक्छ भन्ने नविनतम मान्यताहरुलाई संकुचित गर्नुहुन्न । हाम्रो पाठ्यक्रम भित्र पाठ्यवस्तु, सामाग्री र पाठ्यपुस्तक माथिको निश्चित निकायहरुको सत्ताले ज्ञान वा अनुभवको वहुविकल्पहरु माथि सिकारुहरुको विचरणलाई अंकुश लगाएको छ । फेरि हाम्रो जस्तो सर्वत्र विविधता भएको समाजमा सिकारुहरुकै माझमा ज्ञानको निर्माण, विनिर्माण नगर्ने हो भने सिकाई खुम्चिन्छ । उच्च प्रविधिको तागत अब हामीले त्यतातिर खर्चनु उपयुक्त हुन्छ ।
ग) अब एकद्वारबाट कि बहुद्वारबाट सिक्ने ?
विद्यार्थीको हातमा ईण्टरनेटको पहुँच पुग्नु भनेको संसारभर छरिएको सूचना र ज्ञानलाई बिभिन्न प्रकारले उपलव्ध हुने बाटो खुल्नु हो । त्यसैले यसलाई पाठ्यपुस्तक वा शिक्षकसंग कक्षाकोठामा हुने गरेको परंपरागत अन्तर्कृयाको विकल्पको रुपमा मात्र सिमित राख्ने हो भने त्यसको लागि हुने खर्च र त्यसले खोलेको संभावनालाई न्याय हुँदैन । त्यसैले सामाग्री निर्माताहरुले पाठ्यसामाग्रीको संगठन गर्दा सिकाईका लागि सम्भावित थुप्रै वैकल्पिक स्रोत र उपायहरुको बारेमा पनि जानकारी गराउनु वाञ्छनीय हुनेछ ।
घ) साइबर सुरक्षा र संहिता कहिले थाल्ने ?
उच्च प्रविधिको प्रयोगले हुन सक्ने समस्याहरुबाट प्रयोगकर्ता र अन्यलाई जोगाउन केहि पूर्व सुरक्षाको तयारी गर्नु सान्दर्भिक मानिन्छ । मोबाइल जस्तो नीजि र हातमा चौबिसै घण्टा रहने उपकरणहरुमा ईण्टरनेटको प्रयोगले जुन अवसरहरु जुटाउँछ, त्यति नै सामाजिक सांस्कृतिक चुनौतिहरु पनि थपिने गर्दछ । त्यसैले उच्च प्रविधिलाई अध्ययनको साधन बनाउनु पूर्व विद्यार्थीलाई सुरक्षा सतर्कता र संस्कार सिकाउनु पर्ने हुन्छ । नीजि क्षेत्रलाई यस मुद्दा प्रति जिम्मेवार बनाउन सजिलो छैन । त्यसको साटो यसरी खुल्ला र अनौपचारिक सिकाईको अवसर जुटाउँदा पनि त्यो अवसरसंग गाँसिने यस्ता मुद्दाहरु उपर बहस र समाधानका उपायहरु अपनाउनुपर्ने हुन्छ ।
यी बाहेक अब मोबाइलमा एउटै पाठ्यवस्तुका पनि बिभिन्न प्रकारका पाठ्यसामाग्रीहरु उपलव्ध हुनाले विद्यार्थीले कक्षा छोड्ने संभावनालाई बढाउँछ । यसलाई सहजै स्विकार्न हाम्रो समाज तयार भैसकेको छैन । फेरि कक्षा संचालन हुने समयमा मोबाइल बोक्न र प्रयोग गर्न सरकारबाट नै प्रतिवन्ध लगाउने हाम्रो परिपाटीमा विद्यालयहरुले यसको स्वतस्फूर्त रुपमा प्रयोग र प्रोत्साहन गर्ने मानसिक र भौतिक तयारी सुरु गर्न अलिक परै छ ।
शिक्षकहरुको हकमा भने अबका विद्यार्थी हाम्रो पालामा जस्तो गुरुहरुबाट विषयवस्तुको जानकारी पाउने आशामा ‘भलादमी’ भएर बस्दैनन्, बरु आफ्नो राय मिसाउन चाहन्छन् । अब यस्ता एप्सको उपलव्धताले कक्षाकोठामा उनीहरुको सहभागिता विस्तार हुने संभावना बढाएको छ, र शिक्षकहरुले पाठयोजनामा उनीहरुको सहभागितालाई विस्तार गर्ने रणनैतिक तयारीहरु र योजनाहरु निर्माण गर्नुपर्ने हुन्छ । साथै सिकाईको लागि अन्तर्कृया, मूल्यांकन, प्रमाणिकरण तथा टिकाउने प्रकृयाहरु यथावत राखेर जानकारीको श्रोत मात्र स्मार्ट बनाउँदा त्यसको उद्धेश्य पूरा हुँदैन ।
फेरि शैक्षिक प्रविधि विकासको लागि सिध्दान्ततः पूर्वाधारको तयारी, मानव संसाधनको विकास, सफ्टवेयरहरुको निर्माण र नीतिगत तयारी जस्ता सामान्य चरणहरु पार गर्नैपर्छ । स्मार्ट फोनमा पढ्नु सिक्नुपर्ने सामाग्री आइहाल्छ, विद्यार्थीले आफैं मोबाइल चलाउन सिकेजस्तो सिकिहाल्छन् नि भनेर सबै समस्याहरुको जादूगरी समाधान यही एप्सलाई सोचेको हो भने त्यो भन्दा आलोकाँचोपन केहि हुँदैन ।
शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हुन् ।
प्रतिक्रिया