Edukhabar
बुधबार, ०९ असोज २०८१
विदेशमा शिक्षा

ईक्यान चुनाव : के छ नेतृत्वका प्रत्यासीको एजेण्डा

आइतबार, ०९ फागुन २०७२

काठमाडौं - विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिदैं आएका कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले यसै हप्ता नयाँ नेतृत्व चयन गर्दै छ । फागुन १५ गते हुने चुनावबाट आगामी दुई बर्षको नेतृत्व चयन हुने छ ।

अध्यक्षका लागी प्रथम उपाध्यक्ष प्रकाश पाण्डे र तृतीय उपाध्यक्ष सरोज बस्नेत प्यानल नै बनाएर चुनावी तयारीमा ब्यस्त छन् । पाण्डेलाई संस्थापन अथवा अध्यक्ष राजेन्द्र बरालको समर्थन छ भने बस्नेतलाई ईक्यानभित्रको असन्तुष्ट पक्षका उम्मेद्वारका रुपमा हेरिएको छ । ३ सय २९ मतदाता रहेको ईक्यानमा आफ्नो नेतृत्वले जित्ने दुबै उम्मेद्वारहरुको दावी छ ।

बहुमत सदस्य आफ्नो प्यानललाई जिताउन आतुर रहेको पाण्डेको दावी छ भने आफुले यसपटक पुरानो नेतृत्वलाई विस्थापित गर्ने बस्नेत दावी गर्छन् ।

प्रस्तुत छ, ईक्यान नेतृत्वका लागी चुनावी मैदानमा उत्रिएका पाण्डे र बस्नेतसंग विष्णु विवेकले गरेको कुराकानी :

कन्सल्टेन्सी व्यवसायीलाई एक ढिक्का बनाउँछु : पाण्डे

- ईक्यानको नेतृत्वमा तपाई नै किन ?

ईक्यानको स्थापनाका कालदेखि नै मैले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छु । शुरुमा सदस्य भएर ईक्यान आएको म सदस्य, सचिव, महासचिव, उपाध्यक्ष हुँदै  प्रथम उपाध्यक्ष भएर काम गरेको छु । ईक्यानको अवस्था, आवश्यकता र अहिलेको प्रतिष्पर्धात्मक समाजमा यसको भूमिकालाई आम रुपमा विस्तार र व्यवस्थित बनाउन मेरो नेतृत्व आवश्यक छ ।

- ईक्यानका सबै पदमा बसेर काम गर्दा कमजोरी के के भेट्नुभयो ?

ईक्यानले जुन लक्ष्य उद्धेश्य र सोच लिएर स्थापना भएको थियो । त्यो काम अहिले पनि पुरा हुन सकेको छैन । खासगरी विदेश जाने विद्यार्थीलाई कति समस्या छ ? अहिले पनि सरकार बेखबर  छ । शुरुमा विदेश जाने विद्यार्थीका लागी कुनै व्यवस्था र कानुन नभएको हाम्रो मुलुकमा पछिल्लो समय ईक्यानकै पहलमा निर्देशिका जारी भएको छ । अब निर्देशिकाले पुग्दैन यसलाई ऐन, नियम र कानुन नै बनाएर वकालत गर्न जरुरी छ । अनि कन्सल्टेन्सी व्यवसाय अझै पनि सुरक्षित र व्यवस्थित छैन । मुख्यतः यी कुराको सुधारका लागी म नेतृत्वमा आउन लागेको हुँ ।

- कन्सल्टेन्सीहरुले ‘लुट’को धन्दा चलाउँछन् भन्ने गलत छाप अहिले पनि छ । यसलाई पूर्ण रुपमा हटाउन सक्नुहुन्छ ?

लुट भन्दा पनि आवश्यक परामर्शभन्दा अलि बढी नै रकम लिएर विद्यार्थीलाई विदेश पठाउने काम केही कन्सलटेन्सीहरुले गर्दै आएका छन् । खासगरी यसमा तीन श्रेणीका कन्सल्टेन्सीले नै गर्दै आएका भन्ने सुनेको छु । अलि बढी मध्यम र तल्लो श्रेणीका कन्सल्टेन्सीले यस्ता गतिविधि गरिरहेका पनि भन्छन् । हो, म कन्सल्टेन्सीका नाममा हुने लुट, गलत काम, रकम असुलीको विरोधमा लगातार क्रियाशिल रहदै आएको छु । पुरा हटाउछुँ त भन्न सक्दिन तर यस्ता गलत कामको अन्त्य गर्न एउटा बलियो पद्धति ल्याउन म लागि पर्छु । यो संगै कन्सल्टेन्सी भएर पनि ढुक्क भएर व्यवसाय गर्न नसकेका मध्यम र निम्न स्तरका कन्सल्टेन्सीको स्तर बृद्धि मा पनि ध्यान दिनु जरुरी छ । मेरो नेतृत्वले ईक्यानको नयाँ व्यवस्थापन र एउटा सिस्टम ल्याउनेछ ।

- अहिले पनि सरकार र कन्सल्टेन्सीबीच ठूलो ‘ग्याप’ छ । यसले विद्यार्थीलाई सास्ती हुने गरेको छ । तपाई अध्यक्ष भएपछि कसरी समन्वय गर्नुहुन्छ ?

सरकार र हामीबीच ग्याप त्यति छैन । पहिले केही भएपनि अहिले शिक्षा मन्त्रालयमा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा छ । सरकारसंग समन्वय भन्दा पनि हिजो जुन साथ सहयोग सरकारबाट भएको छ यसलाई प्रभावकारी र व्यवस्थित बनाउनुपर्छ । पहिलेको भन्दा अबका दिनमा सरकारसंग सहकार्य गरेर कन्सल्टेन्सीका बारेमा ऐन नियम र कानुन बनाउन मुख्यतः सरकारकै काम हो । त्यसमा हामी रचानात्मक दबाब र साथ दिन्छौँ ।

- तपाई अध्यक्ष भएपछि पाचँ ओटा काम के के गर्नुहुन्छ ?

म अध्यक्ष भएपछि पहिला त सबै व्यवसायीलाई यो संगठनमा ल्याउन विशेष प्रयास गर्नेछु । दोश्रोमा व्यवसायीको हितका लागी सबै खालका कन्सल्टेन्सीलाई एउटा नियममा बाध्ने सिस्टम बसाल्नेछु । विदेश पुगेका विद्यार्थीलाई त्यहाँका राजदुताबासमा प्रत्यक्ष सम्पर्क गराउएर सुरक्षित हुन सक्ने वातावरण बनाउन पहल गर्नेछु, अहिले विद्यार्थीलाई विदेशका बारेमा बुझ्न कन्सल्टेन्सी धाउनुपर्ने समस्या  छ । यसलाई अब संस्थाकै अनलाईनमै सबै प्रोसेसका बारेमा पर्याप्त जानकारी राख्ने प्रयास गर्नेछु । पाचौँ भनेको कन्सल्टेन्सी सञ्चालन र व्यवस्थापनका लागी ऐन, नियम र कानुन बनाउन विशेष भूमिका खेल्नेछु । यीबाहेक ईक्यानलाई थप विस्तार गरी व्यवस्थित बनाउनका लागी अनलाइन र एउटा टेलिभिजन सञ्चालन गर्नेछु । विद्यार्थीलाई अब सबै किसिमका सुचना, आवश्यक सरसल्लाह र आफ्ना अभिभावकलाई समेत विदेश शिक्षाको महत्व र उपलब्धताका बारेमा पर्याप्त जानकारी दिने व्यवस्था मिलाउँछु ।

- जित्ने आधारहरु के के छन् तपाईसंग ?

जित्ने आधारहरु खासगरी मैले संस्थाको सिस्टमका लागी अध्यक्षमा लड्न लागेको हुँ । मसंग अहिले सम्म करिब ७० प्रतिशत सदस्यहरु मेरो पक्षमा हुनुहुन्छ । उहाँहरुले मेरो नेतृत्व आवश्यक ठानेर अहिले पनि प्रचार प्रसार र त्यही रुपमा सहयोग गरिरहनु भएको छ । यसका साथै विगतका दिनमा पनि ईक्यानमा मैले खेलेको भूमिकाको मुल्यांकन गरेर नेतृत्वका लाथी साथ दिइरहनु भएको छ ।

पुरानो नेतृत्वलाई फालेर सबै नयाँ गर्छु : बस्नेत 

- तपाई किन अध्यक्ष बन्न लाग्नु भएको हो ?

मलाई व्यक्तिगत रुपमा त कुनै पनि पद ओगटेर बस्ने मन होइन । तर मैले विगतका दिनदेखि नै यही ईक्यानमा जुन मनोमानी नेतृत्वले गर्दै आएको देखेको भोगेको छु । यसलाई अन्त्य गर्न नै हो । खासगरी सबै व्यवसायीको हितका लागी ईक्यान हो भने यसलाई सबै व्यवसायीहरुको बनाउन जरुरी छ । एकलौटी होइन सबैको सहयोग, सल्लाह र साथ जरुरी छ । यसैका लागी मेरो नेतृत्व आवश्यक ठानेको हुँ ।

- तपाईले फरक के गरेर देखाउनु हुन्छ ?

मैले फरक भन्दा पनि नेतृत्व शैलीले अहिले गर्दै आएको मनोमानी तोड्नका लागी । अहिलेको अस्वस्थ्य प्रतिष्पर्धालाई हटाएर स्वस्थ्य प्रतिष्पर्धालाई नेतृत्वमा ल्याउने मेरो प्रयास हुनेछ । अनि विदेशका विभिन्न ठाउँमा नेपालीहरु छन् । ती विद्यार्थीलाई सहज, सजिलो र व्यवस्थित अनि विदेशमा पनि एकता कायम गर्न मैले विशेष भूमिका खेल्नेछु ।

- अहिले पनि विद्यार्थीबाट कन्सल्टेन्सीहरुले आफुखुसी रकम असुल्दै आएका छन् । विभिन्न देश जान लाग्ने खर्च र निश्चित मापदण्ड तोक्न सक्नुहुन्छ ?

त्यो वास्तवमै आवश्यक छ । यसको शुरुवात भएपनि खास प्रभावकारी काम भने भएको छैन । यसको कार्यान्वयनका लागी मैले विशेष भूमिका खेल्ने हो । यही अस्वस्थ्य प्रतिष्पर्धालाई हटाउन मैले विशेष भूमिका खेल्नेछु । यसका लागी नेतृत्व परिवर्तन गर्नुको विकल्प हामी संग छैन ।

- कन्सल्टेन्सीमा प्रहरीले कहिले छापा मार्ने, कहिले राजस्वले छापा मार्ने समस्या छन् । प्रहरीले छापा मार्नै नपर्ने गरी कन्सल्टेन्सीहरुलाई व्यवस्थित बनाउन सक्नुहुन्छ ?

वास्तवमा हामीलाई स्वतन्त्र गरी सरकारले व्यवसाय गर्न दिएको छैन । कहिलेकाही त लाग्छ सबै कन्सल्टेन्सीहरुको साचोँ सरकारलाई बुझाएर नयाँ किसिमको आन्दोलन गरौँ । हो यो हस्तक्षेप सरकारको अब असह्य सबैलाई लाग्दैछ । गलत गर्ने माथी सरकारले सिधा कारबाही गरोस् । यसमा हाम्रो कुनै आपत्ति छैन । तर यहाँ व्यवसायीलाई त्रसित गराउने काम भइरहेको छ । यो हस्तक्षेप भन्दा पनि सही रुपमा कन्सल्टेन्सीको अनुगमन गर्न एक किसिमको वातावरण बनाउने प्रयास गर्नेछु ।

- तपाई संग ईक्यान नेतृत्वमा पुग्ने आधारहरु के के छन् ?

मसंग यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका साथीहरु छन् । म व्यक्तिगत भन्दा पनि उनीहरुको साथले अध्यक्षमा उठ्न लागेको हुँ । ईक्यानमा मनोमानी भन्दा पनि एउटा पद्धति बसालेर काम गर्नुपर्छ भन्ने साथीहरु मसंग छन् । उनीहरुको निरन्तर साथ सहयोग मलाई छ । यसैले गर्दा नै म जित्छु भन्ने मलाई लाग्छ ।

प्रकाशित मिति २०७२ फागुन ९ गते

प्रतिक्रिया