Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

खुला आकाशमुनि बाढीपीडित विद्यार्थी 

शनिबार, ०८ फागुन २०७२

काठमाडौँ, ९ फागुन । सुर्खेत तिखाकुनाको कालिका प्राथमिक विद्यालयको आफ्नै भवन थियो । पर्याप्त डेस्कबेन्च थियो । विद्यार्थी र शिक्षक ढुक्कले पढ्न र पढाउन सक्थे ।  तर, यतिवेला न विद्यालयको भवन छ न पर्याप्त डेस्क बेन्च नै । शैक्षिक सामग्रीसमेत छैनन् । खुला आकाशमुनि पढ्न बाध्य छन् विद्यार्थी । डेढ वर्षअघिको बाढीले भेरी नदीनजिकको बस्ती र विद्यालय बगायो । परिवार र घरबार गुमाएका विद्यार्थीलाई त्यसयता पढ्ने वातावरण भएन । 

बाढीपीडितको शिविर बसेपछि पहिलो वर्ष कालिका प्राविका विद्यार्थीलाई बाबियाचौरमै पढ्ने व्यवस्था मिलाइयो । एक वर्षसम्म बालबालिकाले बाबियाचौरमै पढे । त्यहाँको शिविर बस्तीभन्दा ठीकमाथि रहेको वन फँडानी गरेर उतै सर्‍यो । 

६ महिनादेखि त्यहाँका बालबालिकाले शिविरभन्दा तल खोला किनारमा पढिरहेका छन् । पढ्नका लागि कुनै भवन छैन । खुला चौरमा डेस्कबेन्च राखेर बालबालिका पढिरहेका छन् । शिक्षकका लागि पनि कुनै कोठा छैन । जसले गर्दा शैक्षिक सामग्रीसमेत जुटाउन सकिएको छैन । 

०७१ को बाढीले बगाएको विद्यालय अझै बन्न सकेको छैन । २८ र २९ साउनमा आएको भीषण बाढीले सुर्खेतमा एक सय २५ जनाको मृत्यु भयो । हजारौँ विस्थापित भए । अहिले पनि बाढीपीडित त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । हजारौँ बालबालिका अस्थायी कक्षाकोठामा खुला आकाशमुनि पढिरहेका छन् । 

बाढीपीडित विद्यार्थी पनि निरन्तर विद्यालय नआउने शिक्षकले बताएका छन् । बाढीपीडित जबर्जस्ती वनमा बसेकाले कहिले जिल्ला वन कार्यालयले उठाउँछ भन्ने चिन्ता छ अभिभावकलाई । बाढीपीडित सो स्थानबाट सर्ने सम्भावना धेरै भएकाले विद्यालय कहाँ बनाउने भन्ने कुराको पनि टुंगो नलागेको कालिका प्राविका शिक्षक हरिप्रसाद देवकोटाले बताए । 

भवन बनाउन बजेट आइसकेको शिक्षक देवकोटाले जानकारी दिए । तर, विद्यालय कहाँ बनाउने भन्ने कुरा निश्चित नहुँदा समस्या भएको उनको भनाइ छ । ‘बाढीपीडितको शिवर अहिले वन क्षेत्रमा सरेको छ, तर वन क्षेत्रमा वन कार्यालयले विद्यालय बनाउन दिँदैन,’ उनले भने, ‘खोलाको किनारमा खुला आकाशमुनि न विद्यार्थीलाई पढ्ने वातावरण छ न हामीलाई पढाउने वातावरण छ ?’ 

कालिका प्राविमा अहिले सयको हाराहारीमा विद्यार्थी पढिरहेका छन् । शिशु कक्षामा मात्र २७ जना छन् । शिशु कक्षालाई भने शिविरनजिकै केही व्यवस्थित गरिएको छ । प्लास्टिकले बारेको घर बनाइएको छ । बाढीपहिरो पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले सरकारले वास्ता नगरेका कारण आफ्ना बालबालिका पढ्न पाउने मौलिक हकबाट वञ्चित भएको आरोप लगाए । सरकारले लामो समयसम्म पनि पीडितको व्यवस्थापन गर्न नसक्दा समस्या भएको रेग्मीको भनाइ छ । 

(नयाँपत्रिका दैनिकमा गणेशकञ्चन भारतीले समाचार लेखेका छन्।)

प्रतिक्रिया