काठमाडौं, ८ फागुन, । शिक्षा मन्त्रालयले व्यवस्थापन गर्न नसक्दा ललितपुरमा दुई जिल्ला शिक्षा अधिकारीले काम गर्नुपरेको छ । दुई जिशिअ भएका कारण आधिकारिक निर्णय कसले गर्ने भन्ने समस्या थपिएको छ ।
जिशिअका रुपमा काम गरिरहेका दिलनाथ पुरीको ठाउँमा रुकुमका जिशिअ निर्मल घिमिरेलाई कायममुकायम जिशिअका रुपमा सरुवा गरिएपछि दुईवटा जिशिअ भएका हुन् । मन्त्रालयको सरुवासम्बन्धी पत्र लिएर रुकुममा जिशिअ रहेका घिमिरे फागुन ५ गते ललितपुर जिल्ला शिक्षा कार्यालयमा हाजिर भएका थिए ।
घिमिरे हाजिर भए पनि पुरीलाई भने सरुवा गरिएको पत्र मन्त्रालयले दिएको छैन । पुरीले भने,’ निर्मल सर पाँच गते हाजिर हुन आउनुभयो । उहाँ पत्र लिएर आउनुभएको छ । खोइ मन्त्रालयले के गर्न खोजेको हो ?’ दुर्गम जिल्लाहरुमा भने सरकारी कार्यलयमा कर्मचारी नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।
(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया