Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

अध्ययन बिदा लिएका शिक्षक व्यापार र ठेक्कापट्टामा

विहीबार, ०६ फागुन २०७२

काठमाडौँ, ६ फागुन । काभ्रेका विभिन्न विद्यालयमा पढाउँदै आएका शिक्षक अध्ययन बिदा लिएर व्यापार र ठेक्कापट्टामा लागेका छन् । केही शिक्षक भने एनजिओमा जागिर खाने र वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ ।

भविष्यका कर्णधार विद्यार्थीलाई पढाउने जिम्मेवारी पाएका शिक्षक अध्ययन बिदा लिएर बसेपछि विद्यालय समस्यामा परेका छन् । दल र शक्तिकेन्द्रको पहुँचमार्फत दबाब दिएर बिदा स्वीकृत गराउने प्रावि, निमावि र मावि तहका गरी करिब एक दर्जन शिक्षक छन् ।

तीन वर्ष अध्ययन बिदा लिएर लज सञ्चालन

पनौती निमावि पनौतीका शिक्षक दामोदर गौतमले तीन वर्षका लागि अध्ययन बिदा लिएर सदरमुकाम धुलिखेलमा गौतम भोजनालय एन्ड लज सञ्चालन गरी बसेका छन् । उनी कांग्रेसनिकट नेपाल शिक्षक संघका केन्द्रीय सदस्य हुन् । उनले जिल्ला शिक्षा कार्यालयबाट १२ चैत २०७१ मा तीन वर्षका लागि अध्ययन बिदा लिएका थिए ।

खेताला लगाएर ठेक्कापट्टामा

गोकुलेस्थित चन्द्रोदय प्राविका प्रधानाध्यापक बुद्धिलाल योञ्जनले ४ मंसिर २०७२ मा दुई वर्षका लागि अध्ययन बिदा लिएका छन् । योञ्जनले आफ्नो जागिरमा खेताला लगाएका छन् । स्थानीय वीरबहादुर योञ्जन र धु्रुव योञ्जनलाई खेताला लगाएर आफू बनेपामा ठेक्कापट्टा गर्दै आएका छन् । तर, अहिलेसम्म शिक्षा कार्यालयले कुनै कारबाही गरेको छैन । कारबाहीमा परिने डरले उनी गोकुले उमाविमा कक्षा ११ मा भर्ना भएका छन् । उनी एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनसँग आबद्ध छन् ।

अध्ययन बिदा लिएर जापानमा श्रम

कोसीपारिस्थित सानो वाङ्थलीमा रहेको सेतीदेवी निमाविका शिक्षक कमानसिंह लामा हाल जापानमा श्रम गरिरहेका छन् । उनले २०७१ सालमा तीन वर्षका लागि अध्ययन बिदा लिएका थिए । उनको बिदा २०७३ सालमा सकिँदै छ । उनको कोटामा हाल नानु पराजुलीले अध्यापन गरिरहेकी छन् । लामा एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला

सदस्य हुन् ।

पढाउन छाडेर सहकारीको लेखापाल

जनजागृति प्रावि कानपुरका शिक्षक रामचन्द्र रेग्मी हाल एक सहकारी संस्थामा लेखापालका रूपमा काम गरिरहेका छन् । उनी अहिले शिक्षक हित सहकारी संस्थामा लेखापाल छन् । रेग्मी एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्लासचिव हुन् ।

अध्ययन बिदा लिने सबै प्रमुख दलका शिक्षक नेता

पञ्चकन्या उमावि वाल्टिङका शिक्षक धर्मलाल मैनाली अध्ययन बिदा लिएर बसेका छन् । उनले गत १८ वैशाखमा एक वर्षका लागि अध्ययन बिदा लिएका हुन् । महादेवस्थानस्थित डेडिथुम्का उमाविका शिक्षक उद्धवप्रसाद पौडेलले पनि दुई वर्षका लागि अध्ययन बिदा लिएका छन् । उनी जिल्ला रेडक्रस सोसाइटीका महामन्त्री हुन् । यस्तै, नेपाल शिक्षक संघका कालीदेवी निमावि सिपालीका शिक्षक चन्द्रकुमार शाह पनि बिदामा छन् । शाह नेपाल शिक्षक संघका पूर्वजिल्ला कोषाध्यक्ष हुन् । एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष ज्ञाननाथ पाठक जनज्योति मावि जनगालका शिक्षक हुन् ।

‘अध्ययन बिदा लिएर अन्यत्रै काम गर्नेमाथि छानबिन हुन्छ’

जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी फडिकबहादुर केसीले अध्ययन बिदा लिएर अन्य पेसा गर्नेमाथि छानबिन हुने बताए । ‘अध्ययनै नगरी अन्य पेसा वा काम गर्नेको विवरण विद्यालय व्यवस्थापन समितिले शिक्षा कार्यालयमा बुझाए त्यसमाथि छानबिन हुन्छ, क्याम्पस भर्ना भई अध्ययन नगरेको पाइएमा कारबाहीको भागीदार हुनुपर्छ,’ केसीले भने ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया