Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसी पाठ्य सामाग्री एप्समा

विहीबार, ०६ फागुन २०७२

आजका छापामा हाम्रा कुरा ।। काठमाडौँ, ६ फागुन । शैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी तयारी पाठ्य सामाग्री एप्समा राखेको छ ।  भूकम्प र नाकाबन्दीले पढ्न नपाएका विद्यार्थीलाई लक्षित गरेर केन्द्रले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयको पाठ्य सामाग्री एडु नेपाल एप्स मार्फत पढ्ने व्यवस्था मिलाएको हो । 

नाकाबन्दीले तराईका विद्यालयमा पढाई नभएपछि रेडियो र टेलिभिजन मार्फत पनि पढाउने व्यवस्था गरिसकेको छ ।  शिक्षा मन्त्रालयले तराईका ५४ हजार विद्यार्थीलाई एसएलसी सहयोगी पुस्तक पठाउने भएको छ । तराईमा पठाउन लागेको पुस्तकको सामाग्री एप्समा राखेको हो । 

उक्त सामाग्रीमा अंग्रेजी, गणित र विज्ञान बिषयको सबै पाठका बारेमा जानकारी, एसएलसी नमूना प्रश्न,  त्यसको उत्तर र सम्भावित प्रश्न समेत समेटिएको छ ।  रेडियो र टेलिभिजन कार्यक्रमलाई पनि एप्समा राखिएको छ । रेडियो कार्यक्रम एप्समा राखेपछि दृष्टिबिहीन विद्यार्थीले समेत लाभान्वित हुने पी एण्ड पी मल्टि मिडियाका अध्यक्ष श्रीधर पौडेलले बताए । एडु नेपाल नामक एप्सको शिक्षा मन्त्री पोखरेलले बुधबार सार्वजनिक गरेका हुन् । 

एप्समा राखिएको सामाग्रीले विद्यार्थीको सिकाई उपलब्धी बढ्न सक्ने मन्त्री पोखरेलले बताए । एप्समा अंग्रेजी, गणित र विज्ञानको मात्रै पाठ्य सामाग्री राखेकोले अनिवार्य नेपाली लगायत सबै बिषयको सामाग्री पनि राख्ने व्यवस्था मिलाउन उनले केन्द्रलाई निर्देशन दिए । 

केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले यो एप्स एसएलसीको तयारीमा रहेका विद्यार्थीलाई सहयोगी हुने बताए । ‘पुस्तक, रेडियो, टेलिभिजन र एप्स मार्फत पाठ्य सामाग्री पढ्दा विद्यार्थीले आफनो छुटेको पाठ शिक्षक बिना पनि अध्ययन गर्न सक्छन,’उनले भने,‘शिक्षक र विद्यार्थीलार्य सहयोगी साधन बन्न सक्छ ।’ 

शिक्षाविद् डा। विद्यानाथ कोइरालाले विद्यार्थीको सिकाई सुधारको विकल्पमा सरकारले छापेको पुस्तक एप्समा राख्ने भन्दा पनि अन्य विकल्प सोच्नु पर्ने बताए । पी एण्ड पीले बनाएको एप्समा केन्द्रले उपलब्ध गराएको सामाग्री राखेको हो । एप्सले कक्षा कोठासम्म प्रविधिलाई जोड्ने पौडेलले बताए । यस वर्षको एसएलसी चैत १८ देखि हुदैछ । परीक्षामा सहभागि विद्यार्थीको सिकाई सुधार गर्न शिक्षा मन्त्रालय र मातहतको निकायले यसवर्षदेखि प्रविधिलाई पनि जोड दिएको हो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया