Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

एसएलसी दिने विद्यार्थीलाई एन्ड्रोईड एप्स, प्रविधिले सिकाई उपलब्धीमा सुधार हुने शिक्षा मन्त्रीको भनाई

बुधबार, ०५ फागुन २०७२

काठमाडौं - शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रविधिको माध्यमबाट पढाउने व्यवस्थाले विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुने बताएका छन् । एडुखबरले बनाएको एडु नेपाल एप्सको उद्घाटन गर्दै मन्त्री पाखरेलले एप्स विद्यार्थी र शिक्षकका लागि सहयोगी बन्ने बताए । ‘सिकाई उपलब्धी सुधार गर्ने अर्को उपाय पढापाठनलाई प्रावधिसंग जोड्नु हो’ उनले भने ।

यसअघि पुस्तक पढेको भरमा विद्यार्थीले परीक्षा दिने गरेका थिए । भूकम्प र नाकाबन्दीले पढाईमा असर गरेपछि उनी शिक्षामन्त्री भए लगत्तै रेडियो र टेलिभिजनबाट पढाउने व्यवस्था सुरु गरेका थिए । वैकल्पिक विधि मार्फत पठन पाठन हुनु पर्ने उनको जोड थियो ।

एप्समा एसएलसी तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरेर सामाग्री राखिएको छ । अंग्रेजी, गणित र विज्ञानको मात्रै नभई अनिवार्य सबै बिषयको सामाग्री राख्ने व्यवस्था गर्न मन्त्रीले आग्रह गरेका छन् । ‘एप्समा अनिवार्य नेपाली बिषयको सामाग्री पनि राख्नु जरुरी छ’ उनले भने,‘निजी विद्यालयमा पढेका विद्यार्थीका लागि नेपाली बिषयको सामाग्री आवश्यक छ ।’

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमले भूकम्प र नाकाबन्दीले पुरा गर्न नसकेको कोर्ष अध्ययन गर्न एप्सले सहयोग पु¥याउने बताए । ‘प्रविधिबाट पठन पाठनको सुरुवात गरेका छौ,’उनले भने,‘पहिलो चरणमा अंग्रेजी, विज्ञान र गणित बिषयको सामाग्री राखेका छौ । अनिवार्य सबै बिषयको सामाग्री चाडँै राख्ने छौ ।’ केन्द्रले अंग्रेजी, गणित र विज्ञानको मात्रै भिडियो कक्षा सञ्चालन गरे पनि अनिवार्य सबै बिषयको तयार गरेर सीडी मार्फत विद्यार्थी र शिक्षकसम्म पु¥याउन लागेको गौतमले बताए । ‘मल्टि मिडिया मार्फत शैक्षिक सामाग्री पठाउँदा विद्यार्थीले आफनो छुटेको पाठ शिक्षक बिना पनि अध्ययन गर्न सक्छन,’उनले भने,‘शिक्षकलाई बिस्थापित गर्न खोजेको होइन, सहयोगी बनाएको मात्रै हो ।’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले एप्समा पुस्तक भन्दा पनि विद्यार्थीको सिकाई सुधार गर्ने सामाग्री राख्नु पर्ने बताए । ‘सधै पुस्तक नै पढ्नु पर्छ भन्नेहरुको लागि त चुनौती हो,’ उनले भने,‘एप्स सबैको सहयोगी बन्न सक्छ । त्यसैले विद्यार्थी र शिक्षकलाई आवश्यक सामाग्री उपलब्ध गराउनु आवश्यक छ ।’

एडुखबरका सम्पादक श्रीधर पौडेलले विद्यालयको कक्षा कोठासम्म प्रविधिलाई जोड्ने काम एप्सले गर्ने बताए । ‘यो काम कसै न कसैले गर्नु पथ्र्यो, यसको सुरुवात हामीले ग¥यौ,’उनले भने ‘पढाईलाई समय सापेक्ष प्रविधिसंग जोड्ने प्रयास गरका छौ । सामग्रीमा विविधिकरण र सुधार गर्दै अघि बढ्नेछौ ।’

स्थापनाको दुइ वर्षपछि शैक्षिक समाचार अनलाईन www.edukhabar.com को सञ्चालक संस्था P & P Multimedia / Perspective and Participation ले एन्ड्रोईड एप्स edunepal सञ्चालनमा ल्याएको हो । बढ्दो प्रविधि विकासलाई सिकाइ प्रकृया सित जोड्न शैक्षिक जनशक्ति विकास केन्द्र (NCED) सितको सहकार्यमा एप्स सञ्चालनमा ल्याइएको हो । यसले शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाका सरोकारवालालाई पुरानो ढर्राको सिकाइ प्रकृयाबाट बदल्न सहयोग गर्ने अपेक्षा छ ।

एसएलसी परीक्षाको तयारी गरिरहेका ६ लाख १५ हजार विद्यार्थी लक्षित गरेर अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयका सिकाइ सामग्री, त्यससँग सम्बन्धित भिडियो र अडियो कक्षा एप्समा समावेश छ ।

त्यस बाहेक विद्यालय, उच्च माध्यमिक तथा उच्च शिक्षाका नतिजाहरु पनि एप्समा तुरुन्तै र नियमित रुपमा सहज रुपम हेर्न सकिनेछ । दुई वर्षदेखि सञ्चालन भइरहेको समाचार पोर्टल एडुखबर पनि एप्समा पढ्न सकिने छ ।

डाउनलोड गर्ने तरिका

प्रकाशित मिति २०७२ फागुन ५ गते

प्रतिक्रिया