Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

बिपी र मनमोहनले माया गरेको पुस्तकालय समस्यामा 

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला र नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी हरेक कार्यक्रममा जाने गरेको रत्न पुस्तकालय अहिले बजेट अभावका कारण सञ्चालनमा धौधौ परेको छ । 

विसं २०३६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका कोइरालाले सोही वर्ष उक्त पुस्तकालय पुगी लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गरेका थिए  ।  साथमा मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत नेता पनि थिए । 

विसं २००९ मा ‘प्रकाश पुस्तकालय’का नामबाट सञ्चालित भई २०१८ मा विकास हुँदै २०१९ मा रत्न पुस्तकालयका नाममा सो पुस्तकालय स्थापना भएको हो । दुई आना क्षेत्रफलमा काठमाडौँको मुटु मध्यबानेश्वरमा स्थापित पुस्तकालय काठमाडौँकै पुरानोमध्येको एक पुस्तकालय हो तर अहिले दाताको सहयोगबाट पुस्तकालय सञ्चालन भइरहेको छ । 

पुुस्तकालयको परिसरमा नेपालका मूर्धन्य साहित्यकार देवकोटा, धरणीधर कोइराला, भूपी शेरचन, पारिजात, चित्तधर हृदय र पहलमान स्वाँरका अर्धकदका सालिक स्थापना गरिएको छ ।  पुस्तकालयको ५२ औँ जन्मजयन्तीका अवसरमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नाटककार पहलमान सिंह, कवि शेरचन र साहित्यकार पारिजातको अर्धकदको सालिक अनावरण गर्नाका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, पत्रकार एवम् साहित्यकार मदनमणि दीक्षित र कोशकार वसन्तकुमार शम्र्मालाई मानार्थ सदस्यताको प्रमाणपत्र वितरण गरेका थिए ।

तत्कालीन समयमा युवा साहित्यकारको पहलमा स्थापित सो पुस्तकालय मुलुकका सबै साहित्यकारका लागि पुराना पुस्तक र नयाँ पत्रपत्रिका अध्ययन गर्ने साझा चौतारीका रुपमा रहँदैआएको पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाले जानकारी दिए ।   उनले भने, “नेपालको राजनीतिक तथा शैक्षिक क्षेत्रमा जागरण ल्याउन रत्न पुस्तकालयले ठूलो भूमिका खेलेको छ तर अहिले सञ्चालनमा समस्या परेको छ ।” 

पुस्तकालयको विकासमा जिविस, नगरपालिका र काठमाडौँ क्षेत्रका सांसदले सहयोग गरिरहेको अध्यक्ष राणाले बताए । यसैबीच नेपाल एसबिआई बैँकले मंगलबार रु एक लाख बराबरको फर्निचर पुस्तकालयलाई हस्तान्तरण गरेको छ । बैँकका अध्यक्ष हसना शर्माले पुस्तकालयका अध्यक्ष राणालाई फर्निचर हस्तान्तरण गरेका हुन् । 

पुस्तकालयले महाकवि देवकोटाको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष लक्ष्मीपूजाको दिनमा आफ्नो वार्षिकोत्सव मनाउँदै आइरहेको छ । यस्तै पुस्तकालयभित्रै देवकोटाको नाममा अक्षयकोष र रक्तसेवा कोष स्थापनाका साथै अर्बुद रोग सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

देवकोटा अक्षय कोषमा रु चार लाख रकम रहेको र कुनै साहित्यकार बिरामी भएका खण्डमा सोको ब्याजबाट तत्काल उपचारको व्यवस्था गरिने पुस्तकालयले जनाएको छ भने रक्तसेवा कोषले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  पुस्तकालयले किताबलाई व्यवस्थित बनाउन इ–लाइबे्ररीको व्यवस्था गर्ने भएको छ । 

यस्तै पुस्तकालयले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । किरियापुत्रीलाई बस्नका लागि मध्यबानेश्वरमै काजकिरिया भवन समेत पुस्तकालयले सञ्चालन गरेको छ । पुस्तकालयमा हाल साहित्य लगायत विविध विधाका गरी करिब नौ हजार पुस्तक छन् । 

रासस 

 

प्रतिक्रिया