Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

ऋण काडेर शिक्षकलाई तलव !

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ५ फागुन । जाजरकोटका प्राथमिक तहका विद्यालय बर्षेनी थपिएपनि दरवन्दी नथपिएका कारण समस्या हुँदै आएको छ । विद्यालय खोल्न शिक्षा कार्यालयले अनुमति दिने तर शिक्षकको दरवन्दी नदिँदा यस्तो समस्या आएको हो । यो समस्याले गर्दा विद्यालय व्यवस्थापन ऋण काडेर विद्यालय सञ्चालन गर्न वाध्य भएको सूर्यकिरण प्रावि खगेनकोटका अध्यक्ष लेखवहादुर खत्रीले दुखेसो पोखे । 

जिल्लाका अधिकांश विद्यालयमा निजी स्रोतवाट गाउँहरुले ऋण काडेर शिक्षकलाई तलव भत्ता खुवाउन परेको खत्रीको भनाइ छ । सरकारले व्यवस्था नगर्दा सरकारी विद्यालयमा पनि गाउँलेहरुले नै रकम उठाएर तलबको जोहो गरी छोराछोरी पढाउन वाध्य भएको रामीडाडाँ ४ का खगेन्द्र वोहराले बताए ।

शैक्षिक सत्र २०६५/६६ र २०६६/६७ मा एकसय भन्दा वढी प्राथमिक विद्यालयले सञ्चालनको अनुमति पाएका थिए । अनुमति पाएका त्यस्ता विद्यालयले शिक्षक दरबन्दी भने नपाएको निमित्त जिल्ला शिक्षा अधिकारी योगेश्वर खत्रीले जानकारी दिए । 

विसं २०६७ यता विद्यालय सञ्चालनको अनुमति शिक्षा कार्यालयले नदिएपनि अनुमति पाएका विद्यालयले दरवन्दी नपाएका कारण गाउँलेहरुले शिक्षक आफै नियुक्त गरी विद्यालय टिकाइराखेका छन् । विद्यालय सञ्चालनका लागी खसी, बोका, कुखुरा, सामुदायिक वन र अन्न बिक्री वितरण गर्नुपरेको विद्यालय व्यवस्थापन समितिहरुले वताएका छन् । 

शिक्षा कार्यालयले केही विद्यालयलाई विद्यार्थी इकाइ लागत रकम (पिसिएफ) दिने गरेको छ । यस बापत एक विद्यालयले वार्षिक ५०/६० हजार पाउने गर्दछ । कक्षा १ देखि ३ सम्म सञ्चालनमा रहेका विद्यालयमा कम्तीमा दुई देखि तीनजनासम्म शिक्षक हुने हुँदा यो रकम निकै कम हुने गरेको छ । 

निजी विद्यालय जस्तै गरी शिक्षकलाई गाउँलेहरुले रकम जुटाएर तलव भत्ता खुआउँदा सरकारी र निजी विद्यालयबीच केही भिन्नता नभएको सरोकारवालाले बताउँछन् । 

 

शिक्षा कार्यालयमा कर्मचारी अपर्याप्त 

यहाँको जिल्ला शिक्षा कार्यालयमा कर्मचारी अभाव हुँदा दैनिक काम प्रभावित हुँदै आएको छ । दुई वर्ष देखि कार्यालयमा विद्यालय निरीक्षकका पाँचवटा दरबन्दी ।खाली रहेका छन् । एकै पटक सबै विद्यालय निरीक्षक सरुवा भएर गएपछि शिक्षा कार्यालय विद्यालय निरीक्षकविहीन अवस्थामा पुगेको शाखा अधिकृत यज्ञश्वार खत्रीले जानकारी दिए । सो ठाउँमा पाँच अधिकृत पद पनि लामो समयदेखि रिक्त छ । 

रिक्त रहेका कारण विद्यालय अनुगमनदेखि शिक्षा कार्यालयको नियमित काम प्रभावित हुदै आएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए । विद्यालय अनुगमन हुन नसक्दा विद्यालयको शैक्षिक अवस्था मापन कार्य प्रभावित हुँदै आएको छ । स्रोत व्यक्तिहरु विद्यालयको रेखदेखभन्दा शिक्षा कार्यालयको काम गर्न वाध्य भएका छन् । 

अहिले शिक्षा कार्यालयमा दुई शाखा अधिकृत, जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारी, एकजना प्राविधिक र अन्य दुईजना कर्मचारी मात्रै कार्यरत छन् ।

रासस 

 

प्रतिक्रिया