Edukhabar
बुधबार, ०९ असोज २०८१
विचार / विमर्श

शिक्षकलाई प्रश्न – नजान्ने विद्यार्थीलाई छोडिरहने ?

मंगलबार, ०४ फागुन २०७२

- शिवशरण ज्ञवाली / विद्यालयमा जान्ने र नजान्ने दुवै थरी विद्यार्थी हुन्छन् । विद्यार्थी जान्ने वा नजान्ने हुनुमा उसको पारिवारिक तथा सामाजिक आर्थिक वातावरण, उसको सिकाइ क्षमता, सिकाइको गति, शारीरिक तथा मानसिक अवस्था, विद्यालयको शैक्षिक वातावरण आदि जिम्मेवार हुन्छन् । हिजो आज व्यस्तता वा अन्य कारणले आफ्ना बालबच्चामाथि प्रत्यक्ष निगरानी पु¥याउन नसक्ने अभिभावक पनि विद्यार्थीको सिकाइ क्षमतामा अन्तर ल्याउने कारण बन्न पुगेका छन् ।

शिक्षामा कृयाशिल हाम्रो दायित्व विद्यालयका नजान्ने तथा कमजोर भनिएका पछौटे विद्यार्थी प्रति रहने कि नरहने ?

औसत विद्यार्थीभन्दा कमजोर अर्थात पछौटे विद्यार्थीको सामना गर्नु शिक्षक तथा विद्यालयको साझा समस्या हो । संस्थागत वा सामुदायिक दुवै थरी विद्यालयमा यस्ता मिश्रित विद्यार्थी हुन्छन् । नजान्ने विद्यार्थीलाई भिन्न क्षमता (फरक क्षमता होइन) को विद्यार्थीका रुपमा लिइनु पर्ने हुन्छ । तर हाम्रो पाठ्यक्रम तथा विद्यालयले त्यस्तो भिन्न क्षमताको पहिचान गर्ने वातावरण दिदैन । कक्षामा त्यही अलग अलग क्षमता वा प्रतिभाको पहिचान गरी व्यक्तिको जीवनलाई परिष्कृत र समुन्नत तुल्याउने काम शिक्षाले गर्नु पर्दथ्यो ।

सस्वरवाचनमा कमजोर विद्यार्थीको पनि अक्षर सुन्दर हुनसक्छ, पढ्न जान्नेका नराम्रा अक्षर पनि हुनसक्छ । पढ्न लेख्न नजान्ने राम्रो नाच्न गाउन, खेल खेल्न आदि आदि जान्न सक्छन् । तर हामी अलग अलग प्रतिभाको पहिचान गर्नु भन्दा एउटै मेसिनबाट उत्पादित एकै किसिमका विद्यार्थी उत्पादन गर्न प्रयत्नशील छौं । हामीलाई शिक्षामा विभिन्नता पटक्कै मन पर्दैन । त्यसकारण हामी एउटै साँचोबाट एकै खालका विद्यार्थी उत्पादन गर्नमा जबरजस्ती गरिरहेका छौं । फलतः परिणाम सकारात्मक निस्कन सकेको छैन ।

अरु त कुरा छाडौं, हिजोको नेपाली समाजको सामाजिक चरित्र समेत आज विद्यार्थीले गुमाउँदै गएको छ किनकी हामी सबैलाई एउटै साँचोबाट उत्पादित डाक्टर इञ्जिनियर चाहिएको छ । कोही कवि कोही गायक कोही लेखक कोही पत्रकार कोही नायक बनोस् भन्ने हामी कल्पना गर्दैनौं । फलतः भिन्न क्षमतालाई सम्मान गर्ने संस्कार हाम्रो देशमा बन्न सकेको छैन । शिक्षालाई केवल प्रमाण पत्रमामा मापन गर्ने प्रणालीले गर्दा भिन्न क्षमताको पहिचान र सम्मान हुन सकेको छैन ।

भिन्न क्षमताको पहिचान तथा सम्मान गर्न नसके पनि भाषिक तथा अन्य विषयमा औसत विद्यार्थीभन्दा कमजोरलाई औसत विद्यार्थीको स्तरमा कसरी ल्याउने भन्ने चुनौती अहिले हरेक विद्यालय, शिक्षक तथा अभिभावकका अगाडि ज्वलन्त समस्या बनेर खडा भएको छ । जान्ने र नजान्नेलाई एकै ठाउँमा राखेर पढाउनु आफैमा चुनौतीपूर्ण कार्य हो ।

जान्ने र नजान्नेलाई अलग अलग राखेर पढाउनु पनि समाधान होइन । शिक्षक तथा विद्यालय प्रत्येक विद्यार्थीसँग पुग्न पनि सक्दैन । त्यसैले कक्षाकोठा चुनौतीपूर्ण बन्न पुगेका छन् तर यो चुनौतीलाई न त विद्यालयले चुनौतीको रुपमा लिएको छ न त शिक्षकले नै । हामीले जान्नेलाई पढाइरहेका छौं नजान्नेलाई जान्ने बनाउने प्रयत्न गरेकै छैनौं ।

जान्ने विद्यार्थीले त आफै पढिहाल्छ उसलाई किन अरुको सहयोग चाहिन्छ र ? ऊ आफै जिज्ञासु हुन्छ, कुनै पनि विषय पढ्न, लेख्न, बुझ्न सक्छ । उसलाई धेरै सहजीकरण पनि त गर्नुपर्दैन । खासमा पढाउने भनेकै कमजोर विद्यार्थीलाई क्षमतावान् बनाउनु पो हो, अरु जस्तै बनाउनु पो हो । 

विद्यालय तथा शिक्षकहरुमा कमजोर विद्यार्थीलाई कसरी अरुजस्तै जान्ने बनाउने भन्ने सवालमा छलफल नै हुँदैन भने हुन्छ । फलतः हाम्रो शैक्षिक तथा आर्थिक लगानी खेर गइरहेछ । साथै विद्यार्थीको भविष्यसमेत बर्बाद भइरहेको छ । शहर बजारका कमै अभिभावक होलान् जसले आफ्ना बच्चाबच्ची औसत विद्यार्थीभन्दा कमजोर छन् भन्ने थाहा नपाउन । गाउँतिरका अभिभावकले बरु आफ्ना विद्यार्थीको क्षमता कति छ भन्ने पत्तो नपाउन सक्छन् । ८/९ कक्षामा पुगेको विद्यार्थी स्वयंले पनि म अरुभन्दा कमजोर छु भन्ने थाहा पाएको हुन्छ । तर उसलाई उचित परामर्श दिने कसले ? अभिभावक, शिक्षक वा विद्यालयले ?   शिक्षकले आफ्ना कुन कुन विद्यार्थी कमजोर छन् भन्ने् थाहा नपाउने कुरै भएन । तापनि उनीहरुलाई अरुजस्तो जान्ने बनाउन के गर्नुपर्छ भन्ने सोचाइमा हामी छैनौं । हामी सबै उनीहरुलाई पछौटे बनाइरहेका छांै । छोडिरहेका छौं । छोड्नमा हामी (अभिभावक, शिक्षक, विद्यालय) जिम्मेवार छौं न कि पछौट बन्नुमा विद्यार्थी स्वयं जिम्मेवार होस् । न त अभिभावकले यसको दोष विद्यालय तथा शिक्षकलाई मात्र लगाएर उम्कन पाउँछन् न त विद्यालय तथा शिक्षकले यसको दोष विद्यार्थी तथा अभिभावकमाथि थोपरेर उम्कन सक्छन् । दुवैले एकअर्कालाई दोष थोपर्ने प्रवृति समाजमा व्याप्त छ । यसमा विद्यालय, शिक्षक र अभिभावकको मात्र नभएर स्वयं विद्यार्थीको समेत सहयोग र समन्वय आवश्यक पर्दछ । तब मात्र कमजोर विद्यार्थीको सिकाइमा सुधार ल्याउन सकिन्छ ।

तल्लो कक्षाबाटै यस्ता विद्यार्थीलाई कसरी अरु जस्तै क्षमतावान् बनाउने भन्ने सोच्नु जरुरी छ । तर अहिले विद्यालयले नजान्नेलाई कसरी औसत विद्यार्थी सरह बनाउने भन्ने चासो देखाइरहेका छैनन् बरु नजान्नेलाई नजान्ने नै बनाइराख्ने र जान्नेलाई जान्ने नै बनाइराख्ने नीति अख्तियार गरेका छन् । शायद उनीहरुमा नजान्ने विद्यार्थीलाई पनि अरुजस्तै क्षमतावान् बनाउने जाँगर छैन ।

सरकारी शिक्षकहरु सेवासुविधाका विषयमा बढी चिन्तित होलान् भने निजी स्कुल प्रशासनिक तथा आर्थिक व्यवस्थापनमा बढी चिन्तित देखिन्छन् । दुवैले विद्यार्थीका बारेमा कमै मात्र सोच्ने गरेको पाइन्छ । सब छाडेर पहिला विद्यार्थीका बारेमा सोच्नु जरुरी छ । कमजोर क्षमता भएको विद्यार्थीले आफूजस्तै कमजोर अर्को विद्यार्थीसँग संगत गरेको हुन्छ । त्यो संगत तोडाउन विद्यालयले चासो देखाउनु आवश्यक छ । जान्ने र नजान्नेको बीचमा संगत गराउनुपर्दछ ताकि एकले अर्कालाई सिकाउने र सिक्ने अवसर मिलोस् । विद्यार्थीहरुमा एक अर्कामा सहयोगको भावना वृद्धि गर्नु जरुरी छ ।      

हाम्रो शिक्षण अझै पनि शिक्षक केन्द्रित छ, शिक्षकलाई तालिमको अवसरै छैन  भने पनि हुन्छ । संस्थागत विद्यालयका शिक्षकहरुले त तालिम पाउने कुरै भएन सामुदायिक विद्यालयका शिक्षकहरुले तालिमका नाममा भत्ता बढी तालिम कम पाउँछन् । फलतः त्यसको लाभ कक्षाकोठामा विद्यार्थीले भन्दा शिक्षकको ‘पर्स’ ले बढी लिन्छ । आज ‘होमवर्क’को भारी बोकाउने कि नबोकाउने भन्ने बहस छ । शिक्षक होमवर्क हेर्छौं, अभिभावक तथा प्रिन्सिपललाई काम प्रमाणित गर्नका लागि मात्र । विद्यार्थी होमवर्क गर्छ, शिक्षकलाई काम प्रमाणित गर्नका लागि मात्र । होमवर्कमा चिटिङ् धेरै हुन्छ । सरकारी स्कुलमा त शायद यो पनि छैन तर निजी विद्यालयमा रातो कलम निकै चल्छ विद्यार्थीका कापीमा राइट लगाउनका लागि ।

स्कुलका आफ्ना बाध्यता शिक्षकका आफ्ना बाध्यता । त्यसकारण सबै ठीकको खोजीमा छौं । विद्यार्थीले होमवर्क कसरी ग¥यो त्यसका बारेमा खोजीनीति गर्दैनौं । के ग¥यो खोजीनीति हुन्छ कसरी ग¥यो खोजीनीति हुँदैन । सानैबाट यही नीति अख्तियार गरिन्छ । ‘होमवर्क’ गरेको छौँ या छैनौँ ? यही प्रश्न हुन्छ । विद्यार्थीले रेडिमेड उत्तर देखाउँछ शिक्षकले रेडिमेड राइट लगाउँछ । ‘होमवर्क’को विकल्प कक्षाकार्य हुनसक्छ । अरु भन्दा कमजोर क्षमताको विद्यार्थीलाई प्रोत्साहनको कमै अवसर छ । हामी जान्ने विद्यार्थीलाई नै बढी अवसर दिन्छौं, सिक्नका लागि । नजान्ने विद्यार्थीप्रति हाम्रो वेवास्ता छ । आफूले सोधेको जवाफ सजिलै दिनसक्ने विद्यार्थीमै शिक्षकको ध्यान बढी केन्द्रित छ । हामी उसैलाई बढी माया गर्छौ । नजान्नेप्रति हाम्रो चासो हुँदैन । नजान्नेप्रति बढी केन्द्रित हुनुपर्ने थियो । शिक्षक हरेक विद्यार्थीसँग आफै पुग्न सक्छ भन्ने होइन तर उसले विद्यार्थीलाई समान अवसर उपलब्ध गराउन सक्छ, सिक्नका लागि । साथीबाटै विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गर्न सकिन्छ । शिक्षकले आफै काम गर्ने भन्दा विद्यार्थीलाई स्वयं आफै काम गरेर सिक्ने अवसर उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।

बालबालिकालाई कुन उमेरमा विद्यालय पठाउने भन्ने बारेमा आज नेपाली समाज अन्योलमा छ । केही वर्ष अगाडि (शायद गाउँतिर आज पनि) पाँच वर्ष पुगेपछि मात्र बालबालिकालाई विद्यालय पठाइन्थ्यो । तर आज अधिकांश अभिभावकहरु अरुभन्दा पछाडि परिने हो कि भन्ने डर तथा व्यस्तताले गर्दा छिट्टै आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहन्छन् । मातृभाषा पूर्ण रुपमा नसिक्दै तथा शारीरिक रुपमा योग्य पनि नहुँदै बच्चाबच्ची विद्यालय पुगेका छन् । विद्यालय जाने उमेरका बारेमा पनि कहीकतै बहस भएको पाइदैंन । उमेरको निश्चित मापदण्ड नै छैन ।

मातृभाषा नसिक्दै विद्यालय पठाउँदा विद्यार्थी भाषिक रुपमा कमजोर हुनु अस्वभाविक होइन । किताबको भारीले बालबालिकाको सिर्जना थिचिएको छ । शायद सिर्जनाको क्षयीकरण यहीबाट नै सुरु भएको छ । मानिस सामाजिक प्राणी हो तर आज सामाजिक चरित्र विद्यालयबाटै हराउँदै गएको छ । 

बच्चाले माृतभाषा सजिलै सिक्दछ । मातृभाषा आमाले नै सिकाउँछिन् । तर मातृभाषा पनि नसिक्दै विद्यालय पुगेको आजको बच्चालाई दोस्रो भाषा पनि मातृभाषा सँगसँगै पढाइन्छ । आज नेपाली समाज अंग्रेजी भाषा जन्मदै सिकाउने होडबाजीमा छ । बालबालिकाको प्रारम्भिक शिक्षा मातृभाषामा पाउने अधिकारलाई २०४६ सालपछि बनेका संविधानले सुरक्षित गरेका छन् । तर त्यसपछि नै मातृभाषाभन्दा पहिला अंग्रेजी सिकाउने बिडम्बनापूर्ण लहर चलेको छ । अभिभावकमा अंग्रेजीको आकर्षण छ । अंगे्रजी सिक्नु सबै जान्नु हो भन्ने छ । तर अंग्रेजी सिकाउने रहरले गर्दा विद्यार्थी न राम्रोसँग अग्रेजी सिक्न सक्छ न त नेपालीको ज्ञान नै पूर्ण रुपमा हासिल गर्न सक्छ । यी कुरा पनि  विद्यार्थीको शैक्षिक पछौटपनका लागि जिम्मेवार छन् ।  

त्यसकारण हामी (विद्यालय, शिक्षक र अभिभावक) सबैको प्रयत्न कक्षाको कमजोर विद्यार्थीलाई अरुजस्तै क्षमतावान् कसरी बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । मानिस आफैमा जान्ने र नजान्ने हुँदैन । विविध कुराले फरक पार्दछ । हाम्रो दायित्व जान्ने विद्यार्थीलाई पढाउनु होइन, नजान्ने विद्यार्थीलाई अरुजस्तै जान्ने तुल्याउनु हो ।

ज्ञवाली शिक्षक हुन्

प्रकाशित मिति २०७२ फागुन ४ गते

प्रतिक्रिया