Edukhabar
आइतबार, ०९ मंसिर २०८१
सम्पादकीय

सिकाइमा प्रविधि प्रयोग

मंगलबार, ०४ फागुन २०७२

सम्पादकीय / सिकाइका पुराना सिद्धान्त, मान्यता र शैली अब बदलिँदै गएका छन् । नेपाल मात्रै होइन परिवर्तनको यो लहर संसारमा द्रुत गतिमा बढेर गएको छ । प्रविधिको विकासले सूचनामा पहुँच बढेको छ । सूचना पाउने माध्यमहरु फेरिएका छन् । संसार सितको सम्पर्क सहज बन्दै गएको छ ।

यसले ज्ञानको क्षेत्रलाई पनि फराकिलो बनाएको छ । फराकिलो बन्दै गएको ज्ञानको क्षेत्रलाई सहज रुपमा नेपाली शिक्षाकर्मी र शिक्षाका सरोकारवालाहरुवीच पुर्याउन हामीले पनि नेपालमा एडु नोपाल शैक्षिक एण्ड्रोईड एप्सको सरुवात गरेका छौं । नेपालको शैक्षिक विकासमा यसले पक्कै पनि सकारात्मक भूमिका खेल्न सक्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।

समय सापेक्ष हुन सकिएन भने पछि परिन्छ । सूचना प्रविधिको युगमा एक कदम पछि पर्नु भनेको हजारौँ माइलको यात्रामा विश्राम लाग्नु जस्तै हो । नयाँ पुस्तालाई उनीहरुको युगसित नजिक बनाउन उनीहरु बाँचेको समय अनुसारनै बाँच्नु पर्छ, चल्नु पर्छ ।

अपवादहरु छन्, तर सत्य के हो भने अहिलेको पुस्ता हत्केलामा प्रविधि बोकेर आफ्ना औँलाहरुमा संसार घुमाइरहेको छ । धूलोट, सिलोट, दूधेखी, खरी वा हरिया पात र अंगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास सुनाएर नयाँ पुस्ता अहिलेको युगको प्रतिस्पर्धी बन्न सक्दैन भन्नेमा हामी सहमत छौं ।

अहिलेको संसार ज्ञानमा अडेको छ । सूचना र प्रविधि दुवैको भूमण्डलीकरणले ज्ञानको दायरालाई फराकिलो तथा सहज पहुँचमा जोड दिएको छ ।

त्यसैले अहिलेको पुस्ताको सिक्ने शैली फरक छ । विद्यालयको कक्षा कोठाको चौघेराले वा ४५ मिनेटका दरले हुने दैनिक सात घण्टी पढाइले मात्रै उनीहरुको सिकाइ भोक र तलतल मेट्न सक्दैन । सिकाइका अनन्तः बाटाहरु छन् । अहिलेको युगमा संसारमै चलिरहेका तिनै अनन्तः बाटाहरु मध्येको एउटा सानो गोरेटोका रुपमा हामीलेएडु नेपाललाई शैक्षिक क्षेत्रमा भित्र्याएका छौं । हामी सन्देश प्रवाहमा आएको बदलाव सित परिचित छौँ, त्यही अनुसार पाठकको रुची र विषय दुवैलाई ध्यानमा राखेर सरोकारवाला सित सहकार्य गर्दै एडु नेपाललाई अघि बढाउने छौं ।

संसारमै असीको दशकको अन्त्य र नब्बेको दशकको सुरुवातमा जब इण्टरनेटको विकास भयो तिनताका सिकाइका लागि कम्प्युटर ठूलो प्रविधि थियो । सन् १९९२ पछि इमेलमा  सर्वसाधारणको पहुँच बढ्यो र सीमित किताबमा मात्रै रहेका ज्ञानका स्रोतहरु बदलिँदै गए । सन् २००० पछि नयाँ प्रविधि जडान भएका स्मार्ट फोनहरुको सुरुवातसँगै विभिन्न सिकाइको नयाँ चरण सुरु भयो । हामी त्यही सिकाइको चरणमा हिंडिँरहेका छौं ।

नेपालमा पनि २०४६ साल पछि भएको ठूलो विकास भनेको सञ्चार र शिक्षाको विकास हो । परिणाम सबै सित सूचनाको पहुँच छ । सञ्चारको पहुँच छ । मोबाइल सेवा प्रदायकहरुको सेवा गाउँ गाउँसम्म फैलिएको छ । नेपलामा हातहातमा मोबाइल हुनेहरु करोड नाघिसकेका छन् । बारी खन्दै जोत्दै गरेकाहरु, घाँस दाउरा गर्दै गरेकाहरु, गोठालो जाँदै वा खोला बगर तिर कुद्दै गरेकाहरु मोबाइल मार्फत एक अर्कासित जोडिइरहेका छन् । मोबाइलको काम व्यक्ति सितको सम्पर्क मात्रै होइन । यसले ज्ञानको अथाह सागर सित पनि व्यक्तिलाई जोड्छ ।

एडु नेपालले ज्ञानको त्यही अथाह गहिराइमा सरोकारवालाई जोड्ने प्रयास गर्नेछ । त्यस माथि शिक्षा जीवन चिनाउने एउटा अनन्तः सागर हो । अक्षर चिन्नु अनन्तः सागरको एउटा लहरलाई छुनु हो । जून लहरको एक छुवाइले व्यक्तिमा आत्मविश्वास बढाउँछ । एडु नेपाल यस्तै सागरको सानो लहर बन्ने प्रयास गर्नेछ ।

नयाँ कुरा सिक्न पाठ्यपुस्तक नै चाहिन्छ भन्ने छैन । हामी पाठ्य पुस्तकको विकल्पका रुपमा शिक्षक, विद्यार्थी र अभिभावक बिच जानेछौं । एडु नेपाल मार्फत शिक्षकले सिक्न सिकाउन सक्नेछन् । अभिभावकले बाटो देखाउन सक्नेछन् र विद्यार्थीले मनन् गर्न सक्नेछन् । किनभने हरेक व्यक्ति अभिभावक हो । शिक्षक हो र विद्यार्थी पनि हो ।

पक्कै पनि हाम्रा विद्यालयमा गतिलो कक्षा कोठा छैनन् । कक्षा कोठा भएकामा कालो पाटी छैनन् । कालो पाटी भएकामा लेख्ने चक छैन । चक र कालो पाटी दुवै भएकामा शिक्षक छ्रैनन् । र शिक्षक पनि भएकामा जाँगर छैन । यस्तो बेला मोबाइल एप्सको प्रयास कतिलाई अस्वभाविक पनि लाग्न सक्छ ।

अहिलेको जमानामा भौगोलिक, सांस्कृतिक, सामाजिक तथा पूर्वाधार अभावका कारण औपचारिक सिकाइबाट बञ्चित हुनु जतिको दुःख र लाजमर्दो कुरा अर्को हुनै सक्दैन । त्यसैले अभाव मात्रै भनेर हात बाँधी बस्ने हो भने नयाँ कुराको सुरुवात हुन सक्दैन । एक दिन कसै न कसैले यसको सुरुवात गर्नु नै पर्छ भन्ने ठानेर हामीले एडु नेपालको सुरुवात गरेका हौँ ।

एडु नेपालमा शिक्षण सिकाइका अडियो, भिडियो तथा मुद्रित सामग्री रहनेछन् । पाठ्यपुस्तक वा पढाउने शिक्षक नभएकै कारण पढाइबाट स्कुले केटाकेटी पर रहनु नपरोस् भन्ने हाम्रो ध्येय हो । त्यस बाहेक शिक्षाका समाचार, विचार र विश्लेषण पनि यसमा रहनेछ ।

नेपालमा करिब ३६ हजार सामुदायिक र करिब ६ हजार निजी विद्यालयमा गरेर झण्डै ७५ लाख स्कुले विद्यार्थी छन् । त्यस मध्ये माध्यमिक तहमा ५ लाख, उच्च माध्यमिक तहमा ५ लाख छन् । ९ विश्वविद्यालयमा झण्डै ५ लाख उच्च शिक्षा पढिरहेका विद्यार्थी छन् । शिक्षामा राज्यको सञ्जाल सबैभन्दा ठूलो र शक्तिशाली छ । राज्यको कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ४ प्रतिशत अर्थात् कुल बजेटको १६ प्रतित शिक्षामा बिनियोजन हुन्छ ।

शिक्षामा प्रत्यक्ष सरोकार राख्ने यति ठूलो संख्यालाई ध्यानमा राखेर पी एण्ड पी मल्टिमिडियाले यस अघि शैक्षिक अनलाइन न्युज पोर्टल एडुखबर सुरुवात गरेको थियो । त्यसको दुई वर्षपछि शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी) सित सहकार्य गरेर एडु नेपालका साथ पाठक माझ जोडिन पाउनु हाम्रा लागि खुसीको कुरा हो । शैक्षिक जनशक्ति राज्यको एउटा यस्तो महत्वपूर्ण निकाय हो जसले देशभरका २ लाख शिक्षकलाई शिक्षण सिकाइको तालिम दिन्छ । शिक्षक तथा विद्यार्थीका लागि शैक्षिक सामग्रीको उत्पादन गर्छ ।

यो एउटा प्रशासनिक निकाय हो । यसका आफ्नै नीति, पद्यती र सञ्चालन ढाँचाहरु छन् । जसले गर्दा यसले वर्षौ देखि उत्पादन गर्दै आएका शिक्षण सामग्रीहरुको एकीकृत रुप बाहिर आउन सकेको छैन । कारण सामग्रीहरु अस्तव्यस्त छन् । हामीले ती अस्तव्यस्त सामग्रीहरुलाई एकै ठाउँमा सहज उपलब्ध हुने व्यवस्था गरेका छौं । यसबाट एनसिइडीको लक्षित समूहसम्म सामग्रीको पहुँच थप सहज हुनेछ । र सिकाइ संस्कारलाई सघाउँछ भन्ने हाम्रो अपेक्षा छ ।

किन भने राज्य आफैले पनि सिकाइमा प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । त्यसलाई भाषणमा र बजेट वक्तव्यमा मात्रै सीमित नराखी व्यवहारमा प्रभावकारी रुपमा लागू गर्न सके प्रविधि प्रयोगको अवस्थामा हामी विस्तारै सबल हुनेमा दुइमत छैन ।

पक्कै पनि यसमा चुनौतिहरु छन् । सहज भन्दा हामी चुनौतिपूर्ण असहज बाटोको यात्रा मन पराउँछौं । यस्तो यात्रामा हामी पनि केही सिक्न सक्छौँ । अब हामी एडु नेपालसँगै पाठककै साथ साथ सिकाइ प्रकृयामा अघि बढ्ने छौं ।

आउनुस् ज्ञानको अथाह सागर पुग्ने रेखीय गोरेटोमा अब हामी सँगै हिंडौं ।

प्रकाशित मिति २०७२ फागुन ५ गते

प्रतिक्रिया