Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

जागिर खाने विद्यालय मर्ज कि बन्द ?

मंगलबार, ०४ फागुन २०७२

काठमाडौँ, ४ फागुन । शैक्षिक जागिर खाने थलो मात्र बनाए जस्तो देखिएको सुनसरी सदरमुकाम इनरुवाको सुनसरी प्राथमिक विद्यालय मर्ज (समायोजन) गरिएको छ। २०१९ सालमा खोलिएको सुनसरी प्राविलाई परिसरमै जोडिएको भगवती माध्यमिक विद्यालयमा मर्ज गरिएको हो।

व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक तयार नभएपनि जिल्ला शिक्षा कार्यालयको कडा निर्णयपछि विद्यालय मर्ज भएको हो। सुनसरी प्राविजस्तै, नगन्य विद्यार्थी भएका र विद्यार्थी नै नभएका विद्यालय नौवटा विद्यालय गत बैशाखदेखि मर्ज भए। अब फेरि नियमनकारी निकाय शिक्षा कार्यालयले फर्जी विद्यार्थी देखाएर बढी सुविधा लिने विद्यालयको निगरानी थालेको छ। निगरानीका क्रममा हरिसिंह प्रावि देवानगन्जमा १५ जना विद्यार्थी भेटिएका छन्। यो विद्यालयको अवस्था टीठलाग्दो छ। विद्यालयको नाममा न जग्गा न त बाटो नै छ। विद्यालयको जग्गा उखु फर्मका नाममा छ।

श्रीपुर जब्दीको सीताराम प्राविमा पनि नगन्य विद्यार्थी छन्। भौतिक पूर्वधार मजबुद छैन् भने विद्यालयसम्म पुग्ने बाटो पनि छैन्। मुस्लिम समुदायको बाहुल्यता भएको यो विद्यालय नजिकै रहेको मर्दशामा भने बग्रेल्ती विद्यार्थी छन्। शिक्षा कार्यालयको टोलीले अनुगमन गर्दा पश्चिम कुसाहाको जगदीस प्राविको पनि व्यवस्थापन लथालिङ् भएको भेटियो। यस्तै, गढी बाल प्रावि र कुन्ती प्रावि औरावनी दुई सय मिटर दुरीमा पर्छन्।

'अनुगमन टोलीले नगन्य विद्यार्थी भएकालाई मर्ज गर्न र विद्यार्थी नै नभएकालाई बन्द गर्न सिफारिस गर्नेछ,ु सहायक जिल्ला शिक्षा अधिकारी दुर्गा खतिवडाले भने, ुमावि र निमाविमा समस्या छैन, प्राविका धेरै ठाउँमा समस्या छ।' उनका अनुसार पछिल्लो समय एक महिना लगाएर गरिएको अनुगमनका आधारमा सातवटा विद्यालयको कसैको जग्गा छैन त कुनैको विद्यालयसम्म पुग्ने बाटो छैन।

'विद्यालयसम्म पुग्ने बाटो नभएका विद्यालयलाई बाटोको व्यवस्थापन गर्न र जग्गा नभएकालाई जग्गाको व्यवस्थापन गर्न पत्रचार गरि सकिएको छ,' खतिवडाले भने, 'यदि बाटो र जग्गाको व्यवस्थापन गर्न नसके अनुदान रोक्का गरेर अनुमति खारेजसम्म गरिनेछ ।'

सुनसरीमा गत बैशाखदेखि नौवटा विद्यालय मर्ज गरिएको थियो। शिक्षा कार्यालयले सातवटा विद्यालय बन्द गरेको थियो। शिक्षा कार्यालयले अनुमति खारेज गरी बन्द भएका विद्यालयमा अनुगमन गर्दा डा। खलिल प्रावि भोक्राहा, राजगन्ज सिनुवारीको चमक प्रावि, अमाहीवेलाको गंगा सामूदायिक प्रावि, भूटाहाको सरस्वती प्रावि, भूटाहाकै अर्को आर्दश प्रावि, नरसिंहको नरसिंहनाथ प्रावि र दलित उथ्थान प्रावि बन्द गरिएको थियो । यी विद्यालयमा अनुगमन टोलीले विद्यार्थी भेटाएको थिएन।

विद्यार्थी सङ्ख्या कम्ती भएका सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र आर्थिकलगायतका सम्पति संरक्षण गर्न नजिकमा रहेको विद्यालयलाई जिम्मा दिने सरकारी निर्णय अनुसार मर्ज गर्नु आवश्यक भएको शिक्षा कार्यालयले जनाएको छ। 'शिक्षकको जागिर खाने थलो मात्र भएका विद्यालयलाई मर्ज गर्नु पर्ने हो वा बन्द गर्नुपर्ने हो सोही अनुसार सिफारिस गरिनेछ,' अर्का सहायक जिल्ला शिक्षा अधिकारी तुलसीनारायाण अधिकारीले भने ।

निजी बोडिङ्मा अंग्रेजीप्रतिको मोह, शिक्षक–अभिभावकको गुणस्तरीय शिक्षामा बेवास्ताजस्ता कारणले गर्दा विद्यार्थी अभावले बढी मात्रमा प्रावि संकटमा परेका छन्। बोर्डिङ्मा पढाउनुलाई इन्जतको रुपमा लिने प्रवृतिले गर्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थी नगन्य हुने गरेका छन्। साथै राजनीतिक संरक्षणमा केहीलाई रोजगार दिने उद्धेष्यले अनुगमन र नक्साङ्कन नगरीकन खोलिएका विद्यालयमा पनि अहिले समस्या आएको छ ।

०६८ सालमा जिल्ला शिक्षा कार्यालय सुनसरीले गरेको अनुगमनबाट यहाँ २७ हजार चार सय ४३ जना विद्यार्थी फर्जी फेला परेका थिए। सुनसरीमा अहिले तीन सय ८९ वटा सामूदायिक विद्यालय छन् । जसमा प्रावि २१३, निमावि ६९, मावि ५५ र उच्च मावि ४२ वटा छन् ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया