काठमाडौँ, २ फागुन । महाधिवेशन शुरु भएको तीन दिन बिसक्दा पनि एमाले निकट अनेरास्ववियुको प्रतिनीधि विवाद टुंगिएको छैन। प्रतिनिधि छनोटमा माउपार्टी एमालेका नेताहरुको प्रभाव परेका कारण प्रतिनिधि छनोटमा विवाद कायम रहेको हो। शनिबार सकिने भनिएको महाधिवेशन प्रतिनिधी विवादका कारण कहिले समाप्त हुन्छ भन्ने अनिश्चित भएको छ।
विभिन्न अञ्चल, जिल्ला र क्षेत्रबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधीको नाम अध्यक्षका प्रत्यासी दीपक गौतम र नविना लामा पक्षले आ आफ्नै तरिकाबाट प्रस्तुत गरेपछि विवाद भएको हो। संगठनकी सचिव राधिका खतिवडाका अनुसार अधिकांश अञ्चलमा प्रतिनिधि विवाद टुंगिएको छैन।
सुर्खेत, चितवन, प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद (सिटीइभीटी) लगायतका स्थानको विवाद पनि टुंगिएको छैन। 'कतिपय स्थानमा दुवै समूहले छुट्टाछुट्टै प्रतिनिधीको नाम पेश गरेका छन्। कतिपय जिल्लामा विगतमा संगठनका अध्यक्ष आफै अल्पमतमा पर्ने डरले वैठक नै बसाउन नसकेका कारण समस्या बढेको छ'उपाध्यक्षको उम्मेदवार रहेकी खतिवडाले भनिन्।
शनिबार साँझसम्ममा प्रतिनिधिको टुंगो लागेमा आइतबार उम्मेदवारको मनोनयन तथा सोमबार निर्वाचन हुने संगठनकी सचिवालय सदस्य तथा उपाध्यक्षकी उम्मेदबार सुनिता बरालले बताइन्।संगठनका अनुसार विवादित स्थानबाट महाधिवेशनमा २ सय भन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन्।
ती प्रतिनिधि नै महाधिवेसनमा कुन समूहलाइ विजयी बनाउने भन्ने निर्णयक भएकाले दुवै समूहले आफूले भनेको प्रतिनिधी छनोट गर्नुपर्नेमा जोड दिइरहेका छन्। महाधिवेशन शुरु भएको तीन दिन बितिसक्दा पनि विवाद नटुंग्याएको भन्दै महाधिवेशनमा सहभागी कार्यकर्ताहरु भने आक्रोशित भएका छन्।
महाधिवेसन शुरु हुनुअघि नै टुंग्याउनुपर्ने विवाद नेतृत्व तहमा रहेका नेताको विवादका कारण नटुंगिएको भन्दै उनीहरु आक्रोसित भएका हुन् । अनेरास्ववियुका अध्यक्ष किशोर विक्रम मल्लले विवाद मिलाउने प्रयास भइरहेको बताए। एमाले नेता तथा पार्टीका तर्फबाट मोर्चा फाँट प्रमुख गोकर्ण विष्टले भने पार्टीका उच्चतहका नेताका कारण प्रतिनिधि विवाद टुंग्याउन नसकिएको बताए।
'पार्टीको माथिल्लो तहका नेता धेरै क्रियाशील रहँदा समस्या सुल्झाउन सकिएन' उनले भने, 'प्रयास जारी छ। छिट्टै समाधान होला।' अध्यक्षकी उम्मेदवार लामाको समूहलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र गौतम समूहलाई पार्टी नेता माधवकुमार नेपालको समर्थन छ। गौतमको नेतृत्वमा घोषणा प्यानलमा उपाध्यक्षमा राधिका खतिवडा, जीवन राई, नीलकण्ठ आचार्य र सरोज यादव छन्।
उक्त प्यानलबाट अब्दुल हुसेन खाँलाई महासचिवको उम्मेदवार बनाउने निर्णय भएको छ। लामाको प्यानलमा रश्मी आचार्य, सुनिता बराल, महेश बर्तौला र शैलेस लामालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। उक्त समूहले हालका उपाध्यक्ष ऐनबहादुर महरलाई महासचिवको उम्मेदवार बनाएको छ।
(अन्नपूर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्।)
प्रतिक्रिया