काठमाडौँ, २ फागुन । नेकपा (एमाले) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका सोमबार हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ ।
युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार शनिबार मतदातालाई कार्ड वितरणको कार्य भइरहेको छ भने निर्वाचन समितिले मतदानका लागि आवश्यक काम सुरु गरिसकेको छ । उनले भने– 'देशभरिबाट एक हजार ५०० मतदाता रहेका छन् । यति ठूलो सङ्ख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १० बजेबाट मात्र सुरु हुनेछ ।'
युनियनको जारी २२ औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन् । शनिबार नै नेकपा (एमाले) ले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।
नेकपा (एमाले)ले पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षतामा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको समिति गठन गरी निर्वाचन प्रक्रियामा सहयोग गर्न दिर्नेशन दिएको छ ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया