Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुनुपर्ने विपक्षमा ओली 

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुनुपर्ने पुरानो नीतिको विपक्षमा आफू रहेको बताएका छन् ।  धरानमा शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं दीक्षान्त समारोहमा प्रधानमन्त्रीले भने, ‘यो प्रतिष्ठान वा अन्य विश्व विद्यालयमा प्रधानमन्त्रीलाई नै कुलपति बनाउनु पर्छ भन्ने पुरानो नीतिको विपरीत मेरो धारणा छ । यसै क्षेत्रका विज्ञलाई नै कुलपति बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’ 

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शैक्षिक संस्था र स्वास्थ्य शैक्षिक संस्थामा ‘राजनीतिक हस्तक्षेप’ उचित नहुने बताए । उनले भावी पुस्तालाई नयाँ ज्ञान र सीप दिने प्रतिष्ठान जस्ता संस्थामा राजनीतिक हस्तक्षेप भएमा साँघुरिने र नकारात्मक प्रभावबाट मुक्त हुनुपर्ने बताए । 

प्रतिष्ठानले लिखित भाषण उपलब्ध गराए पनि सोझै सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेडिकल स्कूल खोल्ने वा नखोल्ने बहसका दुवै कित्तामा रहेका ‘असफल मनका मानिस’समेत यस्तै प्रवृत्तिको तुवालोमा रनभुल्ल परेको मैले महसुस गरेको छु ।’ उनले शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने पनि बताए । 

मानिसको जीवन बचाउने चिकित्सा शिक्षालाई संवेदनशील बनाउनु पर्नेमा उनले जोड दिए । उनले स्वास्थ्य क्षेत्र राजनीतिमुक्त हुनुपर्ने धारणा राखे ।  दीक्षान्तअघि प्रतिष्ठानमै सरकारले स्थापना गरेको २५ शैयाको द्वन्द्वपीडित पुनस्थार्पना केन्द्रको उदघाटन गर्दै भने, ‘जनताले अव संविधान पाइसकेका छन् । अव वादविवाद र झगडा गर्नु पर्ने अवस्था देख्दिन । अब कसैले अनसन बस्नु पर्दैन । सरकारले सवैको जायज मागलाई सम्बोधन गर्छ ।’ 

उनले एक अर्को प्रसंगमा स्वास्थ्य संस्था जस्तो क्षेत्रमा बन्द हड्ताल र तालाबन्दी नगर्न पनि आग्रह गरे ।   उनले भने, ‘तालाबन्दी भएमा सरकारले आन्दोलनकारीको ताला भाँचेर नियमित कार्यक्रम सञ्चालन गर्ने छ ।’  प्रधानमन्त्रीले प्रतिष्ठानका ३ सय ३१ जना विद्यार्थीलाई दीक्षित गरे । 

दीक्षान्त समारोहमा उपकुलपति प्रा. डा. बलभद्रप्रसाद दासले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुकका अन्य स्वास्थ्य शैक्षिक संस्थासँग तुलना गरेर विद्यार्थी कोटा घटाउने खेल भएकोमा प्रतिवाद गरे । उनले भने, ‘प्रतिष्ठान अरु स्वास्थ्य शैक्षिक संस्था जस्तो होइन । यसका कार्यक्रमहरु व्यापक भएका छन् । एउटा दुइटा कार्यक्रममा सीमित छैन ।’ 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया