Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

हत्याको विरोधमा विद्यालय बन्द !

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, १ फागुन । कपिलवस्तुको जितपुरमा स्थानीय युवा राजेश सेनको हत्या भएको विरोधमा शुक्रबार कपिलवस्तुका शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन ठप्प भएका छन् ।  नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै विरोधमा उत्रिएका हुन् । 

तरुण दल र नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताको विरोध प्रदर्शनका कारण सदरमुकाम तौलिहवा, वाणगङ्गा, गजेहडा, ओदारीलगायतका शैक्षिक संस्था पूरै बन्द भएका छन् । विरोधका कारण तौलिहवा जितपुर सडकखण्डमा सवारीका साधन चल्न सकेका छैनन् । 

घटनास्थल जितपुर चोक स्थल तनावपूर्ण रहेको छ भने वाणगङ्गा, गजेहडा क्षेत्रका बजार पनि बन्द रहेका छन् ।  वाणगङ्गा नगरपालिका–१० स्थित जितपुर चोकमा साथीसँग कुराकानी गरिहरहेको अवस्थामा बिहीबार सांँझ ३७ वर्षीय राजेश सेनको हत्या भएको थियो । 

एउटा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले सेन उपर गोली प्रहार गरी फरार भएका छन् । छातीमा गोली लागेका सेनको उपचारको क्रममा हिजो नै बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो । 

घटनामा संलग्न दोषी उपर नेपाली कांँग्रेस, नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले कडा कारबाहीको माग गरेका छन् । यसैबीच सभासद् सुरेन्द्रराज आचार्य र सभासद् अतहर कमालले पनि घटनामा संलग्नको पहिचान गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

हत्यामा संलग्न भएका व्यक्तिको खोजीकार्य तीव्र पारिएको प्रहरी नायब उपरीक्षक डिल्ली राज जोशीले बताए ।

रासस 

 

प्रतिक्रिया