Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

अनेरास्ववियुको बन्दसत्रमा निर्वाचन प्रक्रिया सुरु 

शनिबार, ०१ फागुन २०७२

काठमाडौँ, १ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) २२औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ ।  प्रतिनिधिसम्बन्धी सामान्य विवादका कारण आचारसंहिता तय गर्दा बन्दसत्र सुरु हुने ढिला भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । 

बन्दसत्र सुरु हुनुअघि तय गरिएको आचारसंहितामा उम्मेदवारले निर्वाचन सुरु भएको वरिपरि कुनै पनि प्रचारप्रसार गर्न नपाइने, निर्वाचन प्रभावित पार्ने गरी प्रचार सामग्री वितरण गर्न नपाइने र उम्मेदवारले प्रचारप्रसार सामग्री बनाउँदा ठुल्ठुला पोस्टर छाप्न नपाउने सामान्य परिचय खुल्ने खालको मात्र प्रचार सामग्री हुनुपर्ने प्रावधान छ । 

उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्ने खालको काम गरेमा उम्मेदवारी स्वतः खारेज हुने आचारसंहितामा उल्लेख भएको प्रवक्ता लामिछानेले बताए । नयाँ पदाधिकारी चयनका लागि शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ ।  बिहीबार भृकुटीमण्डपमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गरेका थिए । 

माघ २८ देखि फागुन १ गतेसम्म सञ्चालन हुने सम्मेलनको बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा चलिरहेको छ । सम्मेलनमा देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता छ ।  यही माघ २७ गतेदेखि हुने भनिएको सम्मेलन पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनका कारण एक दिनका लागि स्थगित गरी २८ गते उद्घाटन गरिएको हो । 

वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै समूहले छुट्टाछुट्टै समूह बनाएर चुनावी मैदान उत्रिने तयारी गरेका छन् । 

रासस 

 

प्रतिक्रिया