Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

बृहत् पुस्तक प्रदर्शनीमा फिक्सन र नन्फिक्सन दुवै

शुक्रबार, २९ माघ २०७२

काठमाडौँ, २९ माघ । बुधबार घोषित सार्वजनिक बिदाको सदुपयोग गर्दै बौद्धका तिलक थापा भृकुटीमण्डप पुगे।  त्यहाँ सञ्चालन भइरहेको तेस्रो बृहत् पुस्तक प्रदर्शनीमा एक चक्कर लगाएपछि उनले भर्खरै बजारमा आएको बुद्धिसागरको उपन्यास फिरफिरे, ओशोसम्बन्धी एक पुस्तक र केही आध्यात्मिक पुस्तक किने।  

प्रदर्शनीमा साझा प्रकाशनका किताब रहेको टेबलमा पुगेर किताब छान्दै गरेका थापाले भने, ‘पाठ्यक्रमका पनि किताब रहेछन्। यी किताब किन्न फेरि अर्को दिन आउनुपर्ने भयो।' एक सातादेखि सञ्चालन भइरहेको पुस्तक प्रदर्शनीमा लोभलाग्दो गरी पाठकले भ्रमण गरिरहेका छन्। शिक्षक, विद्यार्थी, गृहिणी, व्यवसायी सबै आआफ्ना रुचि र आवश्यकताअनुसारका किताब छान्दै र किन्दै छन्।  

गोंगबुका शिक्षक रामगोपाल खड्का आफ्ना लागि पढ्न र विद्यार्थीलाई सिफारिस गर्ने उद्देश्यले किताब खोजी गर्दै प्रदर्शनीमा आएको बताउँछन्। चाहेको किताब सजिलै भेटिने र लेखक र प्रकाशकसँग पनि साक्षात्कार गर्न पाइने भएकोले सकेसम्म प्रदर्शनी नछुटाउने गरेको उनले बताए।  

प्रदर्शनी पाठकका लागि मात्र नभएर लेखक र प्रकाशकका लागि अझ महत्वपूर्ण रहेको पाइएको आयोजक डिकुरा पब्लिकेसनका प्रमुख तथा महोत्सवका संयोजक पुण्यप्रसाद प्रसाईले बताए। 'पाठकको चाहना, पुस्तक पढ्ने प्रवृत्ति र पाठकले खोज्ने मूल्यलगायत धेरै कुरा बुझ्न सजिलो हुँदो रहेछु, उनले भने, 'आफू पनि लेखक प्रकाशक भएकोले प्रदर्शनीका आगन्तुकबाट धेरै कुरा बुझ्ने अवसर पाएँ।' 

प्रदर्शनीमा बालबालिका र वृद्धवृद्धाको साथमा युवा पुस्ताको धेरै उपस्थिति रहेको उनले बताए। अंग्रेजी फिक्सन र नन्फिक्सन किताबमा युवाहरू झुम्मिएको उनले बताए।  आध्यात्मिक पुस्तकमा पनि युवाको आकर्षण धेरै देखिन्थ्यो । अध्यात्म र पौराणिक विषयको ज्ञानले सत्मार्गमा लैजाने श्रीमद्भगवत गीता यथारूपको बारेमा बुझ्दै गरेका बानेश्वरका रूपेश महतले बताए।  

प्रदर्शनीमा एक सय पाँच प्रकाशन संस्थाका १५ हजारभन्दा बढी पुस्तकहरू बिक्रीका लागि राखिएका छन्। प्रदर्शनीमा फिक्सन, सेल्फहेल्थ र आत्मकथा र जीवनीसम्बन्धी पुस्तक बढी बिक्री भएको संयोजक प्रसाईले बताए।  फागुन २ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ७५ हजार अवलोकनकर्ता भित्र्याउने आयोजकको लक्ष्य छ। 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया