Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

बालबालिकालाई शैक्षिक सामग्री वितरण

शुक्रबार, २९ माघ २०७२

काठमाडौँ, २९ माघ । तनहुँ हङ्कङ समाजले जिल्लाका विशेष शिक्षा कार्यक्रमअन्तर्गतका १० वटा विद्यालयका अपाङ्गता भएका बालबालिकाका लागि बिहीबार शैक्षिक सामग्री वितरण गरेको छ । समाजका अध्यक्ष भीमराज गुरुङले ती बालबालिकालाई उक्त शैक्षिक सामग्री वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै गुरुङले अपाङ्गता भएका बालबालिकाको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले ती सामग्री वितरण गरिएको बताए । तनहुँको जलदेवी, सिद्ध बेनी, जनसेवा, शुक्ला, वेदव्यास, सिन्धु र माहेन्द्री उमाविका अपाङ्गता भएका बालबालिकालाई रु ५० हजार मूल्य बराबरका सामग्री वितरण गरिएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले बताए ।

ती विद्यालयमा पढ्ने अपाङ्गता भएका बालबालिकालाई छात्रावासका लागि भान्सादेखि लिएर झ्यालढोकाका पर्दा, तन्ना र शैक्षिक सामग्री वितरण गरिएको जानकारी काफ्लेले दिए । सन् २०१३ मा हङ्कङमा भएको तेस्रो बाराही साँझबाट सङ्कलन भएको रु पाँच लाखको अक्षयकोष स्थापना गरी ब्याजबाट अपाङ्गता भएका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गर्न थालिएको समाजले जनाएको छ । 

सो समाजले दोस्रो बाराही साँझबाट सङ्कलन भएको रु पाँच लाखको अर्को अक्षयकोषसमेत स्थापना गरी ब्याजको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । गत वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त तनहुँका २४ वटा विद्यालयलाई जस्ता पाता वितरण र भूकम्पपीडितलाई राहत उपलब्ध गराउन रु नौ लाख ५० हजार सरकारलाई उपलब्ध गराएको कार्यक्रम संयोजक काफ्लेले जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया