Edukhabar
मंगलबार, ०८ असोज २०८१
खबर/फिचर

अखिलको महाधिवेशन शुरु, पौने घण्टाको भाषणमा ओलीद्धारा अनेरास्ववियुकै बखान

विहीबार, २८ माघ २०७२

काठमाडौं - नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औँ महाधिवेशन शुरु भएको छ । करिब पौने घण्टाको उद्घाटन भाषणमा प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालको शैक्षिक अवस्था भन्दा धेरै अनेरास्ववियुकै बखानमा खर्चे ।

उनले गरीब  गाउँलेका छोराछोरीले पढ्न पाउने भन्दै दुर दराजका सबैले पढेपछि मात्रै देशको विकास हुने बताए । ‘यसका लागी सबै युवाले अबको नेतृत्व र राष्ट्र विकासमा ध्यान दिनुपर्छ’ उनले भने, ‘अब बुढापाकाले केही गर्न सक्दैनन् । मैले भनिरहनुपर्ने कुरा होइन यसका लागी युवाहरु नेतृत्वमा आउनुपर्छ ।’

स्ववियुको निर्वाचन अबिलम्ब हुनुपर्छ

भाषणको अन्त्यमा प्रधानमन्त्री ओलीले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अविलम्ब गर्नु पर्ने बताए । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुने भए पनि उनले  चुनावका बारेमा भएको तयारी र विश्वविद्यालयका पदाधिकारीलाई गरिएको निर्देशनबारे उल्लेख नगरी चुनाव हुनुपर्छ मात्रै भने । विद्यार्थीको क्षमता र नेतृत्वलाई सरकारले ख्याल गरेको भन्दै उनले चुनावको पक्षमा आफु दृढ रहेको बताए । ‘लामो समयदेखि स्ववियुको चुनाव हुन सकेको छैन’ उनले भने ‘म भन्न चाहन्छु स्ववियुको चुनाव अबिलम्ब हुनुपर्छ ।’

सके सहमति नभए चुनाव

महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वर्तमान महासचिव नविना लामा र उपाध्यक्ष दीपक गौतम प्यानल सहित मैदानमा छन् ।
अध्यक्षका प्रत्यासीलाई ओलीले सकेसम्म सहमति गर्न आग्रह गरे । कुनै हालतमा सहमति नभए चुनाव लड्न र स्वस्थ प्रतिष्पर्धा गर्न पनि उनले विद्यार्थी नेतालाई आग्रह गरे ।
कुनै गुट उपगुटको भेला छलफल बैठक होइन, सहमति गर्न उनको सुझाव थियो ।

बुधबार देखि शुरु हुने तय भएको महाधिवेशन कांग्रेस सभापति सुशील कोईरालाको निधनका कारण एक दिन पर सरेको हो ।

कार्यक्रममा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व महासचिव तथा पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत एमाले नेताको सहभागिता भएपनि एमालेका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधार भने अनुपस्थित थिए ।

देशको प्रमुख कार्यकारी भन्दा एमालेको अध्यक्षको हैसियतमा प्रधानमन्त्री ओलीको भाषण केन्द्रित थियो ।

‘आज हेर्नुस, जताततै एमाले छ । युवा, नेता कार्यक्रम र विचार सबै एमालेको छ । र देश पनि एमालेले नै चलाएको छ ।’ उनले भने ।

आफु प्रधानमन्त्री भएकै दिन गरिएको देशभरका तुइन हटाउने निर्णय स्मरण गराउँदै उनले अबको दुई बर्षपछि देशका कुनै ठाउँमा तुइन देखे फोटो खिचेर सिंहदरबार आउन निम्ता समेत दिए ।
लोडसेडिङको समय बढिरहेका बेला उनले एक बर्ष भित्रै लोडसेडिङ हटाउने दावी पनि दोहोर्याए । हावाबाट विजुली निकाल्ने र आफुले सोलार बत्ती जोड्ने कुरालाई प्राथमिकतामा राखेको पनि उनले बताए ।

प्रकाशित मिति २०७२ माघ २८ गते

प्रतिक्रिया