Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

घाइते विद्यार्थीको उपचारमा समस्या

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २८ माघ । भुटानी शरणार्थीले छाडेको विद्यालयको जीर्ण पिलरले किचेर गम्भीर घाइते भएका १२ वर्षीय रजनिस भण्डारीको उपचारमा खर्चको अभाव भएको छ ।  झापाको शान्तिनगर–१ स्थित ओयसिस एकेडेमीमा आधा दशकअघि टिमाई शिविरमा रहेका भुटानी शरणार्थी पढ्दथे । 

उनीहरू तेस्रो मुलुकमा पुनर्वास भइसकेपछि सो विद्यालयको भवन जीर्ण अवस्थामा छ । घाइते रजनिसका बुबा तिलक भण्डारीका अनुसार गत पुस २९ गते बाख्रा चराउन गएका बेला रजनिसलाई पिलरले किचेको थियो ।  दुबै गोडामुनिको हड्डी भाँचिएका रजनिसको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचार भइरहेको छ । 

उपचारका क्रममा हालसम्म चार लाख रुपैयाँको खर्च बिल उठिसकेको र घरको आर्थिक अवस्था अति दयनीय भएकाले उपचारका लागि दातासँग सहयोगको याचना गर्नुपर्ने अवस्था आएको भण्डारी बताउँछन् । लामो अवधिसम्म आइसियुमा राखिएका घाइते रजनिस स्थानीय न्यू एभरग्रिन स्कूलमा कक्षा ६ मा पढ्छन् । 

हाल उपचारपछि उनको स्वास्थ्यमा सुधार आएपनि उपचार खर्च कहाँबाट जुटाउने भन्ने चिन्ताले परिवारजन पिरोलिएका छन् । भुटानी शरणार्थीले छाडेको सो विद्यालय हाल अतिजीर्ण अवस्थामा छ । छानो र केही पिलर बाँकी रहेको विद्यालयको टाटिबेरा चोरी भइसकेका छन् ।  भवनको पिलर, पर्खाललगायत जीर्ण भाग नहटाइए त्यहाँ अरू पनि दुर्घटना हुन सक्ने खतरा छ । 

रासस

 

प्रतिक्रिया