Edukhabar
मंगलबार, ०८ असोज २०८१
विदेशमा शिक्षा

विदेश पढ्न जाने विद्यार्थीका लागि छनौटको नयाँ आधार

बुधबार, २७ माघ २०७२

काठमाडौं - शिक्षा मन्त्रालयले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न छनौट भएका विद्यार्थीले आइओएमको परीक्षा उत्तिर्ण गरेको हुनु पर्ने मापदण्ड तय गरेको छ । यसवर्षको शैक्षिक सत्रका लागि छनौट भएका विद्यार्थी पठाउन ढिलाई भए पछि शिक्षा मन्त्री र नेपालका लागि बंगलालेशका राजदुत बीच दुई दिन अघि छलफल भएको थियो ।

छलफलमा छनौट भएका विद्यार्थीले त्रिविको आइओएमको परीक्षा उत्तिर्ण भएको हुनु पर्ने र मेडिकल काउन्सिलबाट अध्ययनको लागि अनुमति दिएको पत्रको आधारमा शिक्षा मन्त्रालयले विदेश अध्ययन गर्न एनओसी लेटर दिने सहमती भएको छ । शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मन्त्रालयले तोकेको मितिमा त्रिविले सञ्चालन गरेको प्रवेश परीक्षा र मन्त्रालयबाट तयार गरेको मापदण्ड तथा काउन्सिलको अनुमति पत्रको आधारमा नो अब्जेक्सन लेटर उपलब्ध गराउने र मापदण्ड नपुुगी रिक्त हुन आएका सिट शिक्षा मन्त्रालयलाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालय मार्फत बङगलादेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराईन्छ ।’

बंगलादेश सरकारबाट उपलब्ध हुने छात्रबृति कोटा नेपाल सरकारलाई उपलब्ध गराउन द्विपक्षीय छलफल गरेर समाधान गर्ने भनिएको छ । शिक्षा मन्त्रालयलाई वेवास्ता गरी बंगलादेश दुतावासले शैक्षिक सत्र सन् २०१६ का लागि २१ जना विद्यार्थी मनोयन गरेको थियो । यस मध्ये ४ जना विद्यार्थीको एसएलसी र प्लस टुको प्रमाणपत्र समेत नक्कली हुन सक्ने आशंकामा प्रमाणित गरिदिन भन्दै मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयलाई नै वेवास्ता गरेर विद्यार्थी छनौट गरेपछि मन्त्रालयले उनीहरुको प्रमाणपत्र प्रमाणित गरिदिएन । मन्त्रालयले आन्तरिक रुपमा छानविन गर्दा दुतावासले प्रमाणित गरिदिन आग्रह गरेका विद्यार्थीको शैक्षिक प्रमाणपत्र नक्कली पाइयो । ‘चारै जनाको प्रमाणपत्र नक्कली भएपछि अरुको पनि हुन सक्छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नक्कली प्रमाणपत्र पेश गर्ने विद्यार्थीमा रुवी शाह, निशा शाह, मुकेश कुमार बिन्दबार र आशुतोष कर्ण रहेका छन् । यसैगरी बंगलादेशमा छात्रवृत्ति कोटामा अध्ययनरत अन्य विद्यार्थीको नो अब्जेक्सन लेटर पनि नक्कली पाइएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति २०७२ माघ २७ गते

प्रतिक्रिया