Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

आहा ! कस्तो व्यवस्थित परीक्षा

शुक्रबार, ०६ चैत्र २०७१

- एकराज गिरी / झापा ६ चैत / आहा ! कस्तो व्यवस्थित परीक्षा र परीक्षा केन्द्र । परीक्षा दिन झापाको शनिअर्जुन ५  स्थित लक्ष्मी मावि परीक्षा केन्द्र पुग्ने  हरेक विद्यार्थीको मुखबाट प्रकट भएको उद्गार हो यो । विद्यालयको गेटमै सरोकारवाला, निरीक्षक र परीक्षार्थीको आचारसंहिता र परीक्षाको तालिका ठूलाठूला फ्लेक्स प्रिन्टमा राखिएको छ । त्यसबाट नै सम्बद्ध सबै परीक्षा मर्यादित बनाउन जिम्मेवारी बोध गर्छन् ।

हरेक परीक्षा कोठा बाहिरै छात्रछात्रा र जम्मा परीक्षार्थीको अलगअलग संख्या डिस्प्ले गरिएको छ । त्यससँगै परीक्षार्थीको आचारसंहिता, कोठागत सिट प्लान र परीक्षा तालिका राखिएको छ । कोठा भित्र हरेक सिटमा परीक्षार्थीले नम्वर परिवर्तन गर्न नपाओस् अनि सिट सफा होस् भनेर परीक्षार्थीको सिम्बोल नम्बरको स्टीकर टाँसिएको छ । परीक्षा केन्द्रको कार्यालयमा दैनिक निरीक्षकको कार्य विभाजन, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारीको विवरणको छुट्टै चार्ट राखिएको छ भने दैनिक विद्यार्थी उपस्थितिको विवरण पनि व्यवस्था गरिएको छ ।

परीक्षा केन्द्र पुग्ने पर्यवेक्षक वा अनुगमनकर्ता कसैले पनि कुनै कुरा सोधि रहनै नपर्ने । सबै विवरण र विषयहरु देख्न र बुझ्न सक्ने गरी पारदर्शी गरिएको । यस्तो तरिका अपनाउँदा परीक्षा मर्यादित, अनुशासित, शान्तिपूर्ण र व्यवस्थित गर्न सहयोग पुगेको विद्यालयका अध्यक्ष एमकुमार ओली बताउँछन् । परीक्षालाई व्यवस्थित ढंगले सञ्चालन गर्न विभिन्न समितिहरु बनाइ परिचालन गरिएको छ । केन्द्राध्यक्ष वीरेन्द्रप्रसाद गुप्ताको नयाँ र रचनात्मक सोच अनि सवैको सहयोगबाट आफ्नो विद्यालयमा पहिलो पटक भएको एसएलसी व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्न सकिएको अभिभावकहरु बताउछन् ।

यसैवीच पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक माया राईले झापामा एसएलसी परीक्षा व्यवस्थित शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालन भएको पाइएको बताइन् । एसएलसी परीक्षाको अनुगमनका क्रममा राईले शुक्रवार शनिअर्जुन ५ स्थित लक्ष्मी माध्यमिक विद्यालय परीक्षा केन्द्रको अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएकी हुन् । निर्देशक राईले अरु जिल्ला र झापाकै अरु परीक्षा केन्द्रको तुलनामा लक्ष्मी मावि केन्द्रमा अत्यन्त व्यवस्थित ढंगले परीक्षा सञ्चालन भएको पाइएको बताइन् । परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण सूचनाहरु सबैले बुझ्ने र देख्ने गरी राखेर लक्ष्मी माविले परीक्षालाई व्यवस्थित ढंगले सञ्चालन गरेको निर्देशक राईको प्रतिक्रिया छ ।

‘परीक्षालाई अत्यन्त व्यवस्थित र मर्यादित बनाउन लक्ष्मी माविले सञ्चालन गरेको अभ्यास उत्कृष्ट  छ’– निर्देशक राईले भनिन्–‘त्यस्तो अभ्यास अरुले पनि सिक्नुपर्छ र सिकाउनुपर्छ ।’ निर्देशक राईले लक्ष्मी मावि जस्तो परीक्षा केन्द्र मुलुककै नमूना र उत्कृष्ट हुन सक्ने बताइन् । यस्तो अभ्यासलाई डकुमेन्टेशन गरेर सरोकारवालाहरु बीचको छलफलमा प्रस्तुत गर्न सके अरुले पनि सिक्न र सिकाउन सजिलो हुने उनले बताइन् ।
जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले लक्ष्मी मावि परीक्षा केन्द्र र केन्द्राध्यक्ष गुप्ताको सक्रियताको प्रशंसा गरे । उनले लक्ष्मी माविले परीक्षालाई उत्कृष्ट बनाउन अवलम्बन गरेका उपायहरुबाट अरुले धेरै सिक्न सक्ने बताए । जिल्लाको समग्र परीक्षाको स्थितिबारे उल्लेख गर्दै जिशिअ लुइँटेलले परीक्षा समितिको निर्देशन सबैतिर पालना भएको, व्यवस्थित ढंगले परीक्षा सञ्चालन भइरहेको र त्यसबाट आफू खुशी र सन्तुष्ट रहेको बताए ।

क्षेत्रीय शिक्षा कार्यालयका उपनिर्देशक चुडामणि फुँयाल, शिक्षा कार्यालय झापाकी विद्यालय निरीक्षक जानुका गुरागाईँ, नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष गोपाल प्याकुरेल, नेपाल शिक्षक मञ्च झापाका अध्यक्ष लखनलाल राजवंशी, नेपाल विद्यालय कर्मचारी परिषद् झापाका अध्यक्ष जगेनलाल राजवंशीले पनि लक्ष्मी माविको परीक्षा अनुशासित र अत्यन्त व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको बताए ।
 ‘झापामा एसएलसी शान्ति, व्यवस्थित र मर्यादित छ’– अनुगमनकर्ता तथा पर्यवेक्षकहरुको भन्छन्–‘परीक्षा केन्द्रहरु मध्ये लक्ष्मी माविमा परीक्षा सम्बन्धी प्रभाह गर्नुपर्ने सूचना फ्ल्याक्स चार्टमा डिस्प्ले गरेर राखिएको कार्य सह्राहनीय र राम्रो छ ।’ लक्ष्मी माविमा टावर टेम्पल, कनकाई, रुद्र मेमोरियल, कावेली बोर्डिङ र देवी उच्च माविका खुल्लातर्फका तीन सय २४ जनाले परीक्षा दिइरहेका छन् ।

उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष गुप्ता १४ बर्षदेखि केन्द्राध्यक्ष भइ परीक्षा सञ्चालन गर्दै आएका छन् । अरुभन्दा नयाँ र रचनात्मक काम गर्न रुचाउने गुप्ता २०६९ सालमा कालीस्थान मावि परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुँदा जिल्लाकै उत्कृष्ट केन्द्राध्यक्षको रुपमा पुरस्कृत भएका थिए । ‘त्यसैको प्रेरणाले अझ राम्रो गर्ने ऊर्जा प्राप्त भयो, र राम्रो गर्ने कोशिषमा छु’– गुप्ताले भने । २०७० सालमा उनी बाल्मीकि एजुकेशन फाउण्डेशन परीक्षा केन्द्रको केन्द्राध्यक्ष भएका थिए ।

आफ्नै खर्चमा उनले परीक्षाका लागि आवश्यक फ्ल्याक्स, चार्ट लगायतका सामग्रीको व्यवस्थापन गरेको बताइन्छ । त्यस बर्ष पनि गुप्ता जिल्लाकै उत्कृष्ट हुनुका साथै देशकै उत्कृष्ट ६ केन्द्राध्यक्षहरुमा पर्न सफल भएका थिए । उनी प्रधानाध्यापक रहेको लक्ष्मी मावि भने एसएलसी परीक्षाका लागि यसै बर्षबाट स्वीकृति पाएको नयाँ केन्द्र हो । उक्त विद्यालयमा सञ्चालन भएको परीक्षाको व्यवस्थापकीय पक्ष बारे जान्न र डिस्प्ले गरिएका सामग्री तस्वीरमा कैद गर्न अनि अरुलाई पनि त्यस बारे जानकारी गराउन त्यहाँ पुग्नेहरु व्यस्त देखिन्छन् । अनि भन्दै थिए–‘परीक्षा र परीक्षा केन्द्र भनेको लक्ष्मी माविको जस्तो होस्, अब सबै परीक्षा केन्द्र यस्तै बनाइनु पर्छ ।’

प्रतिक्रिया