Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

१६ वर्षे मोनिकाको एकल चित्रकला प्रदर्शनी 

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २७ माघ । ताहाचल निवासी १६ वर्षे मोनिका डङ्गोलको एकल चित्रकला प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा मंगलबारदेखि सुरु भएको छ ।  ‘इमेज अफ नेपाली बर्डस्’ शीर्षक दिइएको सो तीनदिने प्रदर्शनी बिहीबारसम्म चल्नेछ । 

ज्यापु महागुठीको आयोजनामा भएको उक्त प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार किरण मानन्धरले अहिलेका साना कलाकार नै भविष्यमा नेपाललाई विश्वमा चिनाउने वरिष्ठ कलाकार भएको बताए ।

उनले मोनिकाको चित्रकलामा परिपक्वता देखिने बताउँदै विद्यालयस्तरदेखि नै कलामा बालबालिकालाई लगाउनुपर्नेमा जोड दिँदै कलाको विकासका लागि विद्यालय केन्द्रित कला कार्यक्रम हुनुपर्ने बताए ।

सानैदेखि चित्रकलामा रुचि भएको मोनिकाका चित्रमा विशेष गरी नेपालका विभिन्न जातिका चरालाई देख्न पाइन्छ । सुन्दर पक्षी चराप्रति विशेष आकर्षण रहेकाले मोनिकाले ‘ल्यान्डस्केप’ चित्रमार्फत आफ्नो रुचिलाई व्यक्त गरेको बताइन् । 

उनको ३४ चित्र प्रदर्शनीमा छन् । नेपालको राष्ट्रिय चरा डाँफेदेखि भँगेरा, गौंथलीलगायतका अन्य चराले उनको क्यानभाषमा स्थान पाएका छन् । 

रासस 

 

प्रतिक्रिया