Edukhabar
मंगलबार, ०८ असोज २०८१
अन्तैवाट

‘टिच फर नेपाल’ को तीन जिल्लामा अभियान

बुधबार, २७ माघ २०७२

काठमाडौँ, २७ माघ । शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै सुरु भएको ‘टिच फर नेपाल’ले यस वर्षका लागि ४५ युवा स्वयम्सेवक शिक्षकलाई तीन जिल्लामा पठाउने भएको छ । संस्थाले मङ्गलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सिन्धुपाल्चोक, धनुषा र ललितपुरका विभिन्न दुर्गम स्थानका विद्यार्थीलाई दुई वर्षका लागि पढाउने गरी पठाउन लागेको जानकारी दिएको हो । 

संस्थाको छनोट समितिका संयोजक शैलेन्द्र झाले शिक्षाको अवस्था सन्तोषजनक नभएका विभिन्न ग्रामीण भेगका विद्यालयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण युवालाई स्वयम्सेवकका रुपमा पठाउने र त्यसले पारेको प्रभावको अनुगमन संस्थाले गर्ने गरेको जानकारी दिए ।

बेचबिखनमा परेका महिलाका अधिकारका क्षेत्रमा कार्यरत शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले शिक्षाको महत्वबारे प्रस्ट पार्दै गरिबी र शिक्षाको अभावका कारण महिला बेचबिखनमा पर्ने गरेको बताए ।  

कार्यक्रममा दुई वर्ष स्वयम्सेवक शिक्षकका रुपमा कार्य गरेका शिक्षकले आफूले पढाएका विद्यार्थीसहित सङ्गीत तथा नाट्य प्रस्तुति दिएका थिए । ललितपुरको दुर्गम गाउँको सिम्ले मावि र धनुषाको सरस्वती माविले नेपाली, मैथिली, तामाङ र अङ्ग्रेजी भाषामा गीत सुनाएका थिए भने सिन्धुपाल्चोकको भीमसेन माविले नाटक प्रस्तुत गरेको थियो ।  भूकम्पबाट अति प्रभावित जिल्लामध्ये एक सिन्धुपाल्चोकका विद्यार्थीले भूकम्पसँग सम्बन्धित अङ्ग्रेजी अनुवाद गरिएको नाटक प्रस्तुत गरे । 

यसैगरी, सिन्धुपाल्चोकका भूकम्पमा परी ज्यान गुमाउन पुग्नुभएका स्वयम्सेवक शिक्षक सुजिता चौधरीको जीवनीलाई भिडियोमा देखाइएको थियो । चौथोपटक टिच फर नेपालले स्वयम्सेवक शिक्षकलाई जिल्ला पठाउन लागेको हो । हालसम्म ८६ स्वयम्सेवक शिक्षकले तीन जिल्लाका ६ हजार विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । 

यस वर्ष पाँच हजार ५५ जनाले स्वयम्सेवक शिक्षकका लागि आवेदन दिएकामा ४५ जना छनोट भएका थिए । आगामी वर्षदेखि एक सय शिक्षक छनोट गरिने आयोजकले जनाएको छ । यसबाट प्रत्यक्ष रुपमा सात हजार विद्यार्थी लाभान्वित हुने बताइएको छ । 

रासस 

 

प्रतिक्रिया