Edukhabar
विहीबार, २० मंसिर २०८१
अन्तर्वार्ता

व्रम्हाण्डका बारेमा अनुसन्धान गर्ने विषय 'रटन्ते' भो : डा. मुकेश चालिसे

आइतबार, २४ माघ २०७२

विज्ञान तथा प्रविधिका बारेमा हुने पठन पाठन औपचारिक मात्रै भएकोले आवश्यक अध्ययन र अनुसन्धान फितलो भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । जैविक विविधता युक्त देश भएर पनि प्राकृतिक स्रोत र वन्यजन्तुका बारेमा प्रभावकारी अनुसन्धान नहुँदा विश्व बजारमा हाम्रो विज्ञान तथा प्रविधि शिक्षा पछि परेको प्राणीविद् डा. मुकेश चालिसेको भोगाई छ । प्रविधिको विकास बढ्दो भए पनि आवश्यक सहजीकरणमा सरकार उदासिन हुँदा नेपाली विद्यार्थी विदेशीने क्रम जारी रहेको उनको ठम्याई छ । डा. चालिसेसंग विष्णु विवेकले गरेको कुराकानी :

- नेपाल जैविक विविधताले भरिपूर्ण छ । यसको अध्ययन र अनुसन्धानको गति कस्तो छ ? 

नेपाल जैविक विविधताले भरिपूर्ण छ भन्ने प्रमाण त तराईको हपहपी पोल्ने गर्मीबाट १ सय ५० किलोमिटर माथी पुग्दा भेटिने हिउँले नै हो । यति छोटो दुरीको फरकमा हामी विश्वमा पाइने सबै किसिमको हावापानी पाउन सक्छौँ । यही फरक फरक हावापानीका कारण विश्वमा पाइने सबै किसिमका जीवजन्तु र हावापानी नेपालमा पाउन सकिएको हो । चितवनको ठोरीबाट ५ घण्टाको गाडी यात्रामै हामी रसुवाको केरुङ पुग्न सक्छौँ । जहाँ हरेक घण्टा गरिने यात्रामा फरक फरक हावापानीको महसुस गर्न सक्छौँ । तर यसको अध्ययन र अनुसन्धान जति हुनुपथ्र्यो त्यति हुन सकेको छैन । पहिलो कुरा यसमा राज्यको पर्याप्त ध्यान, स्रोत, साधन र जनशक्ति छैन । दोश्रो हामीसंग भएको अमुल्य प्राकृतिक स्रोत साधनको उपयोगका लागी आवश्यक अध्ययन अनुसन्धान गर्नुपर्छ भन्ने चेतना राजनीतिक नेतृत्वसंग छैन ।

- यसको अर्थ हाम्रो विज्ञान र प्रविधिको शिक्षा पनि औपचारिकतामै सिमित भयो भन्नु भाको ? 

हो । धर्ती र व्रम्हाण्डका बारेमा अध्ययन र अनुसन्धान गर्ने हाम्रो शिक्षा रटन्ते मात्रै भयो । यसमा पनि विविध कारण छन् । पहिलो कारण पढे मात्रै पुग्ने भयो । प्रमाण पत्रमा राम्रो अंक आए पुग्ने विद्यार्थीका लागि । शिक्षकका लागि पढाए पुग्ने भयो । अनि अभिभावकका लागि पढेर पैसा कमाए पुग्यो भन्ने भयो । यसले गर्दा विज्ञान र प्रविधिको अध्ययन भनेको सम्पूर्ण कुराको वास्तविक तथ्य र गहिराई हो भन्ने बुझाई भएन । विज्ञान भनेको हरेक शब्द शब्दमा प्रयोगात्मक तरिकाले पठन पाठन हुनुपर्नेमा मुखैले पढाए मात्र पुग्ने खालको भयो । विद्यार्थीलाई विभिन्न अनुसन्धान गर्ने ठाउँमै गएर प्रयोगात्मक ढंगले पढाउन पर्ने भए पनि विद्यालयको  बन्द कोठामा ‘बंकर’ मा राखेर पढाए जस्तै भएको छ । यसले गर्दा नै विज्ञान शिक्षा रटन्ते भएको हो ।

- विज्ञान शिक्षालाई रटन्ते भन्नु भो यो रटन्ते शिक्षा सरकारले गर्दा भएको हो की यस क्षेत्रका जानकार अथवा भनौं न तपाई जस्ता विषय विज्ञका कारणले भएको ?

यसमा हाम्रो प्रवृत्ति पनि हो । पहिलो कुरा त सरकारले विज्ञान र प्रविधिको शिक्षा भनेको राज्यको विकास भनेकै यसमा लुकेको छ भन्ने थाहा पाएन । त्यसैले अहिले पनि छोडे छाडेको व्यक्ति र पार्टीले विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने गरेका छन् । अर्को कुरा विज्ञान पढेकाहरुले गर्ने भनेको अनुसन्धानात्मक निकाय वन मन्त्रालय, भू–संरक्षण तथा वन विकास कार्यालय, वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष लगायतका निकायहरुले हो ।

अझ यसमा वास्तविक रुपमा देशकै जेठो र पहिलो त्रिभुवन विश्वविद्यालयको वातावरण, विज्ञान तथा अनुसन्धान क्षेत्रले हो । तर उनीहरु नै पढे पुग्ने र देखाउनैका लागी प्रमाणपत्रमा अंक बढी भए पुग्ने ढंगले अध्ययन र अनुसन्धान गर्ने भएकाले नै समस्या भएको हो । यो प्रवृत्तिले गर्दा रटन्ते शिक्षामा विज्ञान तथा प्रविधिको शिक्षा परिणत भएको छ ।

यसमा फेरी अर्को कुरा पनि छ, आवश्यक बजेट छुट्याउन नसक्नु । दोश्रोमा यो सबै हुनुमा हामी पनि दोषी छौँ । विज्ञान पढ्ने भनेको डाक्टर, इञ्जिनियर र पाइलट बन्ने मात्र होइन । विज्ञान पढ्ने भनेको कुनै पनि विषयवस्तुको गहिरो अध्ययन र अनुसन्धान गरेर नयाँ कुरा पत्ता लगाउने हो । मुख्य त यही चेतना र संस्कारको अभाव हो । यहाँ सबैलाई विज्ञान पढ्ने भनेको पैसा तिरेर डाक्टर बन्ने, इञ्जिनियर र पाइलट बनेर अभिभावकलाई र समाजलाई मख्खै पार्ने काम मात्र भयो । मुख्य कमजोरी यहाँनेर छ । अनि अर्को कमजोरी भनेको नेपालबाट विज्ञान वा कुनै पनि विषयको डिग्री लिएर सबै जसो विदेश जाने भए ।

यहीं बसेर केही गरौँ भन्ने कोही भएन । नेपालमा बस्यो भने राजनीतिक दलले आफ्ना सन्ततीलाई सडकमा ढुंगा हान्न लगाउने डर अभिभावकलाई छ भने विदेश गए पछि सुरक्षित भइन्छ भन्ने भ्रम विद्यार्थी र युवालाई पनि छ । त्यसैले सरकारकै दिगो सोचको अभावमा हाम्रो देश बालबच्चा र बृद्धबृद्धा बस्ने थलो मात्र बनेको छ । अनि यहाँको सम्भावना र प्राकृतिक स्रोतका बारेमा विदेशीले मात्र अनुसन्धान गर्न सक्ने भए । हाम्रो विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा अनुसन्धान भन्दा जागिर खाने थलोका रुपमा राजनीतिक भागबण्डा हुन्छ । नाष्टमा वैज्ञानिक भन्दा पनि दलका कर्मचारी वैज्ञानिक भए । जसले गर्दा अनुसन्धान अलिकति पनि भएन् ।

- विज्ञान तथा प्रविधि क्षेत्रलाई अनुसन्धानमुखी बनाउने राज्यसंग नीति नै नभएको हो त ?

मुख्यतः नीति नै नभएको हो । राज्यको नीति बनाउने भनेर राष्ट्रिय योजना आयोग छ । त्यहाँ दलका कार्यकर्ता पुग्छन् । पढेलेखेका र अनुसन्धान गरेका मान्छेहरु पुग्दैनन् । जसले गर्दा योजना आयोगले नै विज्ञान र प्रविधि क्षेत्रलाई अनुसन्धानात्मक बनाउन सकेन । पार्टीका कार्यकर्तालाई सरकारी निकायमा पुर्याए पुग्यो भन्ने कुराले सबैभन्दा ठूलो समस्या बनाएको छ । यसलाई रोक्न अबका युवाले खासगरी विज्ञान र प्रविधि विषय पढेकाले विशेष ध्यान दिन जरुरी छ ।

म डाक्टर इञ्जिनियर मात्र बन्ने होइन की नेपालको असिमित सम्भाव्यताबारे अध्ययन गरेर केही नयाँ कुरा पत्ता लगाउछुँ भनेर अनवरत रुपमा लाग्न जरुरी छ । छिटो परिणाम नआउन सक्छ । विज्ञानले छिटो नतिजा दिदैँन । तर भोलीको सही परिणामका लागी कुनै पनि विषय वस्तुमा वैज्ञानिक अनुसन्धान आवश्यक छ ।

- अनि विज्ञान विषय पढेर पनि नेपालमा प्रयोग र अनुसन्धान गर्ने वातावरण र ठाउँ छैन भन्दै विदेश हानिनेलाई कसरी रोक्ने त ?

यसका लागी युवाहरुमा एक किसिमको पूर्नजागरण आवश्यक छ । यो युवाहरुले नै गर्नुपर्छ । खासगरी युवाहरुमा देशमा केही गर्न सकिदैन भन्दा पनि धेरै कुरा देशमै गर्न सकिन्छ । र यहाँ प्रशस्त अवसरहरु छन् भन्ने आधारहरु पेश गर्न सक्नुपर्छ । अहिले राजनीतिक दलहरुले वितण्डा मच्चाएर नै युवालाई नेपालमा बसेर काम छैन भन्दै विदेश पठाउन बाध्य पारिरहेका छन् । यसलाई सुधार गर्न आवश्यक छ । अनि अर्को कुरा यहाँ राम्रो अनुसन्धान गर्नेलाई प्रोत्साहन गर्नुृपर्छ ताकी निवेदन दिन लगाएर सम्मानको आश्वासन आवश्यक छैन । त्यसैले विभिन्न वन्यजन्तु क्षेत्र, वातावरण, वन र प्राकृतिक हावापानीमा विद्यार्थीलाई पर्याप्त रुपमा अनुसन्धानको अवसर र मौका दिनुपर्छ ।

- त्यसो भए विज्ञान तथा प्रविधिका बारेमा हुने पठन पाठन ब्यवस्थित बनाउन र विद्यार्थीलाई विदेश नजाने बनाउन राजनीतिक प्रतिबद्धता नै आवश्यक छ होइन त ?

मुलुकको विकास र परिवर्तनका लागी राजनीति नै मुख्य हो । तर प्रतिबद्धता भएर मात्र होइन क्षमता र योग्यता भएका व्यक्तिहरु नीति निर्माण तहमा हुनुपर्यो । राजनीतिक पार्टीको कार्यकर्ता भएर मौकावादी मान्छेको प्रतिबद्धताले कुनै परिवर्तन ल्याउँदैन । अहिले सबै मान्छेहरु मौकावादी भएकाले पनि खोक्रो भाषणमा विश्वास गरेरै यो अवस्था आएको हो । त्यसैले राजनीतिक प्रतिबद्धतामा इमान्दार र योग्यता भएका व्यक्तिहरुको सहभागिता मुलक नेतृत्व हुनुपर्छ । ताकी त्यसले विज्ञान र प्रविधिको क्षेत्रलाई अनुसन्धानमूखी बनाउने भिजन ल्याओस ।

- नेपाललाई वैज्ञानिक र प्राविधिक शिक्षा क्षेत्रका रुपमा विकास गर्न सरकार, तपाईजस्ता अनुसन्धानकर्ता र विद्यार्थीले के के गर्नुपर्छ ?

विज्ञान सम्पूर्ण कुरामा लागु हुने विषय हो । अझ भनौँ हरेक कुराको विज्ञान हुन्छ । यसका लागी लामो अध्ययन र अनुसन्धान चाहिन्छ । त्यसैले मुलुकको विकासका लागी विज्ञान र प्रविधि शिक्षालाई जोड दिनुपर्छ । सामाजिक, आर्थिक, भौतिक, व्यवसायिक सबै ठाउँमा अनुसन्धान हुनुपर्छ र यसको एउटा निश्चित समाधान पहिल्याएर सही दिशा दिनुपर्छ । अब यसका लागी अनुसन्धानकर्ता वा वैज्ञानिक नेपालमा छन् । तर सरकारले ध्यान नदिएका कारण उनीहरु पलायनको स्थितीमा छन् । त्यसैले उनीहरुलाई निरन्तर अनुसन्धानका लागी पर्याप्त स्रोत र साधनको व्यवस्था गर्नुपर्छ भने विद्यार्थीले अंकका लागी पढ्ने र अनुसन्धान गर्ने होइन ।

देशका विभिन्न कुनाकाप्चामा गएर त्यहाँको सम्भावनाका बारेमा गहिरो अध्ययन र अनुसन्धान गरी त्यसको वास्तविक तथ्य पत्ता लगाई त्यसलाई विकास गर्न सक्ने हुनुपर्छ । यति भयो भने नेपालको विज्ञान र प्रविधि क्षेत्रको शिक्षालाई अनुसन्धानमुखी बनाउन सकिन्छ ।

(अनुसन्धानकर्ता डा. चालिसे बाँदरविज्ञ हुन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय प्राणीशास्त्र विभागमा प्रध्यापकका रुपमा कार्यरत चालिसेले सन् १९९६ मा शिक्षामा वन्यजन्तुको अध्ययनलाई विद्यालयस्तरमा पुर्याएबापत् अमेरिकाबाट ‘कन्जरभेसन अवार्ड’ र १९९८ सालमा अमेरिकाबाटै ‘मार्थाजे ग्यालाण्टे कन्जरभेसन छात्रबृत्ति’ समेत पाएका थिए । अमेरिकाकै युनिभर्सटी वाशिंटनबाट मानिस र जनावरबीचको द्धन्द्ध, खानामा लैंगिक भिन्नता र बाँदरका विषयमा पिएचडी गरेका छन् ।)

प्रकाशित मिति २०७२ माघ २४ गते

प्रतिक्रिया