Edukhabar
शुक्रबार, ०४ असोज २०८१
खबर/फिचर

विद्यालय ब्यवस्थापन समिति गठनको निउँमा धनुषामा २ जनाको ज्यान गयो

सोमबार, ०९ चैत्र २०७१

काठमाडौं ९ चैत / विद्यालय ब्यवस्थापन समिति गठनको निउँमा भएको विवाद पछि धनुषाको सबैलामा २ जनाको ज्यान गएको छ । दिनभरी भएको छलफलमा सहमती जुट्न नसकेपछि राति अबेर सहमतीका लागि भन्दै जुटेका दुई पक्ष विच झडप हुँदा स्थानीय राम सेवक राउतको ज्यान गएको हो ।

घटनामा घाईते रामसागर साहको काठमाण्डुको जोरपाटिमा रहेको केएमसी अस्पतालमा उपचार भईरहेको छ । घाईते दुवैलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएपनि थप उपचारका लागि काठमाण्डु ल्याईएको थियो । यसैगरी घटनास्थल नजिकै राम प्रभास यादवको गोली हानी हत्या भएको शव फेला परेको प्रहरीले जनाएको छ । पहिलो घटनाको अनुसन्धानका क्रममा यादवको शव फेला परेकोले यो घटना सोहि घटनासंग सम्बन्धित हो हैन स्पष्ट भै नसकेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले बताए । प्यारालाईसिसका विरामी यादवलाई राती एक बजेतिर गोलि हानीएको उनले बताए ।

मृतक राउत एमाओवादीले आफ्ना कार्यकर्ता भएको जनाएको छ भने घाईते साह काँग्रेस निकट हुन् । यादव एमालेका कार्यकर्ता भएको जनाईएको छ ।

सबैला नगरपालिका वडा नम्बर १ मा रहेको मदन आश्रित निमाविको ब्यवस्थापन समिति गठनका बारेमा छलफल गर्न दिउँसो अभिभावक भेला डाकिएको थियो । दिनभरीको छलफलमा अध्यक्षका १२ प्रत्यासी विच सहमती नभएपछि २५ गते समिति गठन गर्ने समझदारीमा भेला सकिएको थियो । एक्कासी विबादको खबर सार्वजनिक भएपछि मात्रै थाह पाएको श्रोत ब्यक्ति धनेश्वर यादवले बताए ।

अध्यक्षका लागि लालविहारी यादव, शिवनारायण महतो, उमेश कुमार साह, श्याम साह, राम सागर साह, फिरन साह, रामदेव ठाकुर, पुष्पनारायण यादव, ज्ञानी साह, सहेन्द्र साह, प्रदीप यादव र राम नरेश ठाकुरले दावी गरेका थिए । दिनभरीको सहमती प्रयास सफन नभएपछि २५ गते गर्ने गरी बैठक सकिएको थियो ।
यसैगरी सदस्यमा महिला तर्फ रेणुदेवी साह, गुलाव देवी रायले दावी गरेका थिए । यस्तै सदस्यहरुमा मखन साह, फेकन साह, जगदीश राउत, शिवजी शाह, लालवावु साह नथुनी साह, असर्फि सदा, लाल विहारी यादव, र चन्द्रेश्वर साह हलुवाईले दावी गरेका थिए ।

जिल्लामा रहेका ४ सय २८ विद्यालय मध्ये अधिकाँशमा समिति गठन हुन नसकेको जिल्ला शिक्षा अधिकारी शंकर कुमार कार्कीले बताए । समिति गठनका बारेमा सहमती जुटाउन गाह्रो हुने गरेको उनले बताए ।

प्रतिक्रिया