Edukhabar
विहीबार, २९ कार्तिक २०८१
विचार / विमर्श

विचार र विवेक छाड्दै अखिल

शुक्रबार, २२ माघ २०७२

- अनमोलमणि पौडेल / अनेरास्ववियुको बाइसौँ महाधिवेशनको पूर्व सन्ध्यामा आकांक्षीहरु यतिखेर आफ्नो उम्मेदवारी बारे प्रष्टीकरण दिइरहेका छन् । स्वभावैले एमाले समयानुकुल रंग फेर्ने ढुलमुले पार्टी हो र उसको भातृ संगठन बन्न अनेरास्ववियुमा यी गुण पर्याप्त छन् । त्यस माथि पछिल्लो समय पार्टीमा जसरी डा. खड्गप्रसाद ओलीका उखानटुक्का सहितको नेतृत्व र निरंकुशता हावी छ अनेरास्ववियुले पनि त्यही सिकिरहेको छ ।

आखिर सिक्ने त नेतृत्वले जे गर्छ, अह्राउँछ त्यहीनै हो, त्यसैले त्यो अस्वभाविक होइन । यस्तै कारणले पछिल्ला केही वर्षदेखि अखिल इतिहासको एउटा जुझारु, विचार र विवेक सहितको राजनीतिक संस्कार बोकेको संगठन (मानिएको) बाट बदलिएर विचार र विवेक विहीन छोटे डन र तस्करका वीचौलीयाहरुको संगठनमा रुपान्तरित हुदैछ ।

अखिलको स्थापना काल राजनीतिक रुपमा सहज समय थिएन । राजा महेन्द्रले २०१७ साल पुसमा लागू गरेको निर्दलीय व्यवस्था पछि दलहरु भूमिगत थिए । खुला राजनीति असम्भव भएपछि विद्यार्थी संगठन त्यसको विकल्प बनेको थियो । २०१९ साल देखिनै संगठन स्थापनाको छलफल र चर्चा भए पनि २०२२ साल जेठमा मात्रै यसले मूर्त रुप पाएको थियो । तत्कालीन राजनीतिक गतिविधिको विरोधका लागि अखिलले शैक्षिक जस्ता लाग्ने माग सहित विरोधका कार्यक्रम गर्ने गथ्र्यो र भूमिगत रुपमा अखिल पूरै रजीनीतिक सुधारका पक्षमा खम्बा भएर उभिएको थियो ।

त्यो काम २०४७ सम्म कायम रह्यो । प्रजातन्त्र स्थापना पछि नाम अनुसार शैक्षिक र विद्यार्थीका मुद्दामा केन्द्रीत हुनु पर्ने अखिलले पुरानो धंग धंगी भुल्न सकेन र राजनीतिकै वरिपरि घुमिरह्यो । राजनीति नीतिहरुको मूल नीति हो, त्यसमा कुनै शंका छैन । राजनीतिको विकल्प अरु केही हुन सक्दैन, यो पनि सत्य हो । तर अखिलले अबलम्बन गरेको आफ्नो पार्टीको ढाल बन्ने राजनीति भने उसैका लागि घातक हुँदै गएको छ । त्यसको परिणाम अहिले देखिदैछ । अखिल भन्ने संगठन त एमाले रहुञ्जेल रही रहनेछ तर आफ्ना गतिविधिको पुर्नविचार नगरे अखिल माथिको विश्वास भने बाँकी रहने छैन भन्ने सुन्दा तीतो लाग्ने यथार्थ अबको नेतृत्वले मनन् गर्नु जरुरी छ ।

२०४७ पछि अहिलेसम्म २ बाट विश्वविद्यालय संख्या ९ पुग्यो, साक्षरता ६५ प्रतिशत पुग्यो, विद्यालय र विश्वविद्यालयमा विद्यार्थी सहभागिता बढ्यो तर अखिल र विद्यार्थी राजनीति प्रतिको चासो भने ओरालो लाग्यो । त्यसको कारण न अखिलले विचार गर्ने फुर्सद पायो न अरु दलका भातृ क्लबहरुले मनन गर्नु पर्छ भन्ने ठाने । जम्मा जम्मी तिनले विद्यार्थी संगठनका नाममा आफ्ना अराजक गतिविधि, दलको अन्धभक्त समर्थन र गैर शैक्षिक गतिविधिमा समय खर्चिए । र आफ्नो धरातल आफैले कमजोर बनाउँदै लगे ।

२०६२–२०६३ मा राजा ज्ञानेन्द्रको निरंकुशता विरुद्ध पनि अखिल र विद्यार्थी संगठनहरु सडकमा आएकै हुन् । तर त्यो आन्दोलनमा सहभागी भएको डिटरजेन्टलेमात्रै उनीहरुको अनुहारमा लागेको अविश्वासको पोतो पखालिन सक्दैन भन्ने बुझ्न उनीहरु झन्झन् ढिला गर्दैछन् । जसको परिणाम थोप्ले पोतोले अहिले उनीहरुको अनुहारनै कुरुप बनाउदै लगेको उनीहरुले भेउ नै पाएका छैनन् वा पाएर पनि आफ्नो अनुहारको उपचारमा लागेका छैनन्, उदेक लाग्दो छ ।

उनीहरुले महाधिवेशनमा उठाउने, बोल्ने जस्तो शिक्षा र विद्यार्थीका लागि काम गरेका छन् कि छैनन ? प्रश्न यहाँबाट सुरु हुन्छ र उनीहरुको चरित्र चित्रण त्यसकै आधारमा हुन्छ । उत्तरहरु झण्डै शून्यमात्रै हात लाग्छन् ।

शैक्षिक मुद्दाः अस्पष्ट चरित्र

नेपालको शैक्षिक सुधारबारे एउटा अस्पष्ट चरित्र बोकेको संगठन हो अखिल । जसको विधानको भाग २ धारा ४ मा लेखिएको एउटा उद्देश्य यस्तो छ, ‘विद्यार्थी समुदायको हकहित, अधिकार प्राप्त गर्ने तथा विद्यार्थीहरुको वौद्धिक, शारीरिक, नैतिक एवं आत्मविश्वासको उत्थानमा सक्रिय हुने’।

यसका लागि अखिलले आजसम्म के गर्यो ? उत्तर सजिलो छ, सामुदायिक विद्यालयमा संगठन खोल्यो तर सामुदायिकको सुधारमा चिम्टी पनि विवेक र श्रम खर्चिएन । अधिकांश अखिलका नेताका छोराछोरी विद्यालय उमेरका छन् र तिनले आफ्ना छोराछोरीलाई सामुदायिकमा पढाउनु पर्छ र सामुदायिक विद्यालय सुधार मेरो पनि दायित्व हो भनेर सम्झेनन् । बरु अखिलको नेताको पगरीलाई बेचेर निजीमा निशुल्क पढाए, पढाइ रहेका छन् ।

यसकारण दिनानुदिन बढ्दै गएका निजी विद्यालयहरुले लिने शुल्क प्रति जानकार भए पनि गम्भीर चासो छैन । शुल्क समायोजन वा नियमनका लागि गरिएका आन्दोलनहरुको इतिहास हेरे त्यसको परिणाम सम्झौतामा टुंगिएको देखिन्छ । किनभने सबैभन्दा बढी निजी विद्यालय चलाउने एमाले नेताहरुनै छन् । र उनीहरुको आन्दोलन तँ कुटेजस्तो गर म रोएजस्तो गर्छु पारामा अघि बढेको देखिन्छ । अखिलकै केही नेताको लगानी पनि निजी विद्यालयमा छ ।

सामुदायिक विद्यालयको सुधारमा गर्न सक्ने कुनै पनि पहल अखिलका तर्फबाट हुनु सकेको छैन । भलै अखिलका अधिकांश नेता सामुदायिककै उत्पादन किन नहुन् । यसले उनीहरुको चासो विद्यालयतहको शिक्षा होइन भन्ने प्रष्ट्याउँछ ।

विश्वविद्यलाय अखिलको आधार क्षेत्र हो । हरेक विश्वविद्यालयका  हरेक क्याम्पसमा कमिटी बनेका छन् । तर विश्वविद्यालयको हालत अत्यन्त जोखिम भएको अखिलकै राजनीतिक कालमा हो भन्ने  पनि उनीहरुले स्वीकार्नु पर्छ । धेरै अघि जानै पर्दैन २०६० साल पछिको तथ्यांक हेर्ने हो भने विश्वविद्यालयमा विद्यार्थी सहभागिता घट्दै गएको छ । अनुतीर्ण संख्या बढ्दै गएको छ ।

क्याम्पसको विद्यार्थी संगठन र स्ववियू संस्थागत भ्रष्टाचार सिकाउने केन्द्रका रुपमा विकास भएको छ । त्यसको प्रशिक्षक चाहिँ अखिल (माउ विद्यार्थी संगठन) भएको छ ।

हरेक क्याम्पसले दिने खेलकुद विकासको पैसा कसरी खर्च हुन्छ त्यति हेरे पनि स्ववियुको हैसियत प्रष्टिन्छ र अखिलको अवस्था पनि भ्रष्टाचारको दलदलमा फस्ने माथिको बन्न सकेको छैन ।

विश्वविद्यलायमा अखिलका प्रमुख दुई काम छन्, पहिलो आफ्ना कार्यकर्ता, समर्थकलाई काम वा भर्नामा प्राथमिकता दिने । दोस्रो विचार नमिल्नेलाई निषेध गर्ने तालाबन्दी वा अरु कुनै आन्दोलनको स्वरुप सिर्जना गरेर ।
अखिल कतिसम्मको गैर शैक्षिक चरित्रको छ भने यसले पटक पटक प्रमाणपत्र तहको विस्थापनलाई अवरोध गर्यो । शैक्षिक गुणस्तरको भाषण गर्दै विश्वविद्यालयले लगाउने सेमेष्टर प्रणालीको विरोध गर्यो । यति मात्रै होइन प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्नु पर्छ भन्ने कुराको पनि अखिलले विरोध गरेर शैक्षिक गुणस्तर प्रति भन्दा राजनीतिक चालबाजी प्रति बढी सक्रिय भयो ।

विद्यार्थी संगठनको सामान्य चिरित्र पनि अखिलले किन निभाउन सकेन भने आफ्ना नेतालाई निजी विद्यालय, कलेजमा लगानी होइन सामुदायिक सुधार जरुरी छ भन्न पनि अखिल नेतृत्वले आजसम्म सकेको छैन । बरु निजी विद्यालय क्याम्पस वा विश्वविद्यलाय विरुद्ध उनीहरुले आन्दोलन गरेका छन् त्यसले बन्द र बन्द बाहेक केही गरेको छैन । मैले केही वर्ष अघि गरेको लघु अध्ययनले शिक्षालयमा सबैभन्दा बढी तालाबन्दी गर्नेमा विद्यार्थी संगठन देखिएको थिो ।

अखिलको कुन चाहिँ अध्यक्ष छ, जसले निजी शिक्षालयबाट चन्दा नै लिएका छैनौ भन्ने आँट गर्ने नैतिक साहस राख्छ ? उनीहरुको शिक्षाको मुद्दा यहीँ परमधाम भएको छ ।

अखिलको अर्को संगठन भएको ठाउँ प्राविधिक शिक्षालय पनि हो । प्राविधिक शिक्षालयमा पनि विश्वविद्यालयमा जस्तै उनीहरुको मनोमानी आन्दोलन स्वार्थ केन्द्रीत नै छ ।

प्रष्ट छ, अखिलको शैक्षिक आन्दोलन हुने केही स्थायी शैक्षिक मुद्दाहरु छन्, पार्टीका मान्छेको भाटहरुको नियुक्ति, चन्दा लिन नयाँ शैक्षिक सत्रमा शुल्कको मुद्दा, पार्टी सरकार बाहिर रहँदा त्यसको उपस्थिति जनाऊ दिन गरिने बन्द आह्वान । ती बेला अखिल शिक्षाका बारेमा यति पिरोलिन्छ कि पार्टी सत्तामा गएपछि र नेतृत्वमा पुगेपछि छुमन्तर शैलीमा सबै ठीकठाक हुन्छ । क्रम निरन्तर दोहोरि रहन्छ ।

विद्यार्थीको वौद्धिक विकासमा गरेको कामको मूल्यांकन गर्न त्यति सजिलो छैन तर अखिलले विद्यार्थीको शारीरिक विकासमा भने काम गरेको छ विद्यार्थीलाई झण्डा बोकाएर आन्दोलनमा हिंडाएर गरेको शारीरिक विकासले उनीहरुले खाँटी कार्यकर्ता पाएका छन् सम्म भन्न सकिन्छ ।

र, विधानको उही धारा उपधाराको अर्को बुँदामा लेखिएको छ, ‘हाम्रो देशको विद्यमान शिक्षा प्रणालीलाई खारेज गरी वैज्ञानिक, जनवादी र सर्वसुलभ शिक्षा प्राप्त गर्न तथा सबैले निशुल्क रुपमा शिक्षा प्राप्त गर्ने व्यवस्था गर्ने गराउने’ ।

यो उद्देश्य चाहिँ उनीहरुको कम्युनिष्ट जार्गन हो । शिक्षा प्रणालीको खारेजी भनेको के हो ? जुन कुरा पटक पटक एमालेले शिक्षा मन्त्रालयले सम्हालेका बेला किन गर्न सकिएन ? वैज्ञानिक र जनवादी शिक्षाको कुनै खास उदाहरण अखिलले किन दिन सक्दैन ? अखिलका कति नेताले भाषणमा बाहेक यसबारे प्रष्टसित बुझेका छन् ?

अखिल यसबारे कुहिरोको काग हो र सधैँ अँध्यारोमा ढुंगा हान्ने काम गरिरहेको छ । एउटा कम्युनिष्ट पार्टीको भातृ संगठन हुनुको कर्तव्य यति जार्गनले पूरा गर्न नसक्दा अस्तित्व समाप्त हुने भय अखिलमा छ र स्थापनाको पाँच दशक सम्म पनि उही कहिल्यै पूरा नहुने मुद्धा काँध हालेर हिडिरहेको छ ।

नेतृत्वका लागि रस्सा कस्सी

अखिल एमाले उत्पादन गर्ने शीशु कक्षा हो । सिद्धान्तः एउटा अखिल कार्यकर्ताले आफूलाई कम्युनिष्ट पनि दावी गर्ने एमालेका हरेक क्रियाकलापको नक्कल गरेको हुनु पर्छ, सिद्धान्त र व्यवहार दुवै । सिद्धान्तका बारेमा पार्टीकै नीति माथि बहस जरुरी भएका बेला अखिलमा त्यसको छाया देख्न खोज्नु दुस्वप्न हो । अखिल व्यवहारमा मात्रै एमालेको भाइ पार्टी हो ।

भाइ पार्टी भएकैले प्रत्येक महाधिवेशनमा नेतृत्वको रस्साकस्सी चलिरहन्छ । यस पाली पनि चलेको छ । अहिलेको नेतत्वको रस्साकस्सीको चर्चा अघि अखिलको अधोगतिको छोटो चर्चा यहाँ उपयुक्त हुन्छ ।

ठाकुर गैरे कार्यकालसम्म अखिलमा सैद्धान्तिक विचलन यति सारो आइसकेको थिएन । एमाले विभाजन गरेर माले बनाएका बामदेव गौतमकै पछि पछि लागेर गएका भए पनि वामदेव गौतमको पार्टी प्रवेशसँगै फेरि अखिलमा गाँसिर अध्यक्ष बनेका ठाकुर सम्मले यसको साख जोगाइ राखेका थिए ।

त्यस पछिको नेतृत्वले अखिलमा यति धाँजा ल्याइदियो कि अहिले नेतापिच्छे गुट उपगुट छन् । अखिलमा माधव ढुंगेल यस्ता असफल अध्यक्ष हुन् जसले केन्द्रीय समितिको वैठक पनि गतिलो सित बोलाउन सकेनन् ।

रामकुमारी झाँक्रीका पालामा पनि त्यो विभाजन प्रष्टसित देखियो । अहिलेका अध्यक्ष किशोर विक्रम मल्ल आफैमा विद्यालय विश्वविद्यालयका विद्यार्थीको नेतृत्व गरेको भन्ने संगठनको अध्यक्ष हुन् कि होइनन् शायद आफै दोधारमा छन् । कागताली भन्ने चिज राजनीतिमा पनि सम्भव छ र यस्तै सम्भावना वीच अखिलले नमूना नमूनाका अध्यक्ष प्राप्त गरेको छ ।

ठाकुर गैर र त्यस अघिका अध्यक्षहरु संगठनलाई अनुशासनमा राख्न केही सक्षम थिए । तिनले शैक्षिक मुद्दा त प्रभावकारी रुपमा उठाएनन् तर राजनीतिक रुपमा संगठनलाई केही बलियो बनाएका भने पक्कै थिए । पछिल्लो अखिलको राजनीतिक धरातल ध्वस्त छ । पार्टीनै गुट उपगुटमा पुग्नुको असर होला, अखिलमा पनि गुट उपगुट गनेर भ्याइ नसक्नु छ ।

अहिलेको नेतृत्व रस्साकस्सीको कुरा पनि त्यसै सित जोडिएर आउँछ । नवीना लामाले आफूलाई अध्यक्षको उम्मेदवार बनाएकी छिन् र वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. खड्गप्रसादको आशिर्वाद रहेको बताएकी छिन् । अध्यक्षको दावेदार भने प्रचार गरिरहेका ऐन महर उनकै समूहमा महासचिवमा खुम्चेका छन् । पूर्व महासचिव माधव नेपाल पक्षधर भनेर आफूलाई अध्यक्षको उम्मेदवार घोषणा गरेका छन् दीपक गौतमले ।

अखिलमा लामो समयदेखि आवद्ध यी सबैको दावी अस्वभाविक होइन । तर उनीहरुको अध्यक्षता र नेतृत्वबाट अखिल कार्यकर्ताले के सिक्लान् ? उनीहरुको विगतबाट संगठनको साख कहाँ पुग्ला ? महासचिव उम्मेदवार महर उनै व्यक्ति हु्न् जसले त्रिचन्द्र क्याम्पसमा कलम कम र तरवार ज्यादा चलाए । हरेक ठेक्का पट्टा र बोलपत्रमा उनको नाम नमुछिएको घटना छैन र त्रिचन्द्रका हरेक तरबार काण्डमा उनी छुटेका छैनन् । उनको नाम सुने पछि धेरैले भन्छन् उनी विद्यार्थी नेता हुन् कि ठेक्का पट्टाका छोटे डन ?

अर्का अध्यक्षका दावेदार उनै दीपकगौतम हुन् जो कैदी छुटाउन पैसा असुल्थे र सुनधाराको एउटा रेष्टुरेण्टमा प्रहरीको पक्राउमा परेका थिए । माधव ढुंगेलका पालामा उनलाई प्रष्टीकरण नै सोधिएको थियो । उनका आर्थिक क्रियाकलापबारे हुने चर्चा अखिलमा शिक्षाबारे हुने भए सानो तिनो सुधार सम्भव छ ।

नवीना लामाको अध्यक्ष उम्मेदवारी र विजयले के अखिलको पुरानो साख फर्केला ? उनी उपाध्यक्षसम्म रहँदा संगठनमा मोडलिंग बाहेक शिक्षा सुधारमा के गरिन् ? पदीय हिसाबले अखिलको सर्वोच्च पदमा उनको दावी अस्वभाविक होइन तर महिला भएकैले वा आफ्नो पालो आएकैले भन्ने बाहेकका ठोस मुद्धा उनका पनि आएका छैनन् । यसै गरी जाँदा भोलिका दिनमा अखिल अखिल रहला ?

४० लाखको स्रोत

अखिलको महाधिवेशन सम्पन्न गर्न करिब ४० लाख रुपैया लाग्ने उनीहरुले नै बताएका छन् । एउटा विद्यार्थी संगठनको महाधिवेशन सक्न ४० लाख रुपैया ? यो त देखिने रकम हो, उम्मेदवार बनेकै भरमा नदेखिने रकम कति खर्च हुन्छ त्यो उम्मेदवारले मात्रै भन्न सक्छ । यत्रो पैसा कहाँबाट आउँछ ? उत्तर सजिलो छ मनकारीको चन्दा ? मनकारी को हुन् ? महाधिवेशनका नाममा तोकेर चन्दा माग्नु नैतिक कुरा हो ?

चन्दा संकलनमा अखिल पारदर्शी छ ? कम्तीमा माधव ढुंगेलले आफू अध्यक्ष रहँदा यसरी चन्दाको पैसा सार्वजानिक गर्छु र पारदर्शी हुन्छु सम्म त भनेका थिए (यद्यपि उनले त्यो गरेनन्) अहिले अखिलका उम्मेदवार र नेतृत्वले त्यो नैतिक हैसियत राख्छ ? महाधिवेशनमा खर्चिने ४० लाखको स्रोत के हो ?

पारदर्शी हुन सक्दैनन् भने पैसाको चलखेल त्यहीँबाट सुरु हुन्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । जहाँबट पैसाको चलखेल सुरु हुन्छ संस्थागत भ्रष्टाचारको अभ्यास पनि त्यहीँबाट सुरु हुन्छ ।
अखिल नेतृत्वले यो २०२२ साल होइन २०७२ हो भन्ने हेक्का राखेन भने घाटा उनीहरुलाइ नै हुन्छ ।

प्रकाशित मिति २०७२ माघ २२ गते

प्रतिक्रिया