भक्तपुर - आउँदो एसएलसी परीक्षामा सहभागि विद्यार्थीको प्रमाणपत्रको उपयोग गर्ने बारेमा शिक्षा मन्त्रालयले विभिन्न निकाय र शैक्षिक प्रतिष्ठानलाई आधार तय गर्न आग्रह गरेको छ । यस बर्ष देखि एसएलसीमा सहभागि सबै विद्यार्थी पास हुन्छन् भन्ने हल्ला चले पछि यसलाई ब्यवस्थित गर्न मन्त्रालयले सरोकारवाला निकाय र क्षेत्रलाई आग्रह गरेको हो ।
अक्षराङ्कन पद्दती ग्रेडिङ्मा हुने यस बर्षको एसएलसीमा सहभागि विद्यार्थी माथिल्लो तहमा पढ्दा कुन ग्रेड ल्याएको विद्यार्थीले कुन विषय पढ्न पाउने हुन् ? अथवा रोजगारीको कस्तो क्षेत्रमा कुन ग्रेडको विद्यार्थी छनौट हुने हो ? भन्ने स्पष्ट पार्न मन्त्रालयले पाठ्यक्रम विकास केन्द्र मार्फत सरोकारवाला निकाय र क्षेत्रलाई पत्राचार गरेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत ८, नौ र बुधबार बसेको सरोकारवाला निकायको बैठकले अक्षराङ्कन पद्दतीको कार्यन्वयन पश्चात माथिल्लो तहको अध्ययनका लागि आवश्यक मापदण्ड तय गरी लागू गर्न मन्त्रालयका निकायलाई निर्देशन दिएको छ । यसैगरी लोकसेवा आयोग लगायत अन्य सार्वजनिक सेवा आयोग, रोजगार प्रदायक संस्थालाई ग्रेडिङ्को आधारमा विद्यार्थीले प्राप्त गर्ने प्रमाणपत्रको उपयोग कसरी गर्ने भन्ने स्पष्ट हुन भनिएको छ ।
'एसएलसीको नतिजा अक्षराङ्कन पद्दती बमोजिम अर्थात् ग्रेडिङ्का आधारमा सार्वजनिक गर्ने निर्णय भै सक्दा पनि अझै केही अन्यौल देखिएकोले स्पष्ट गर्नु पर्ने भएकोले मन्त्रीको अध्यक्षतामा बसेको बैठकले केही निर्णय गरेको छ' केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले भने, 'यसको औपचारिक प्रकृया भने पुरा हुनै बाँकी छ, एक दुई दिनमा हामी सम्बन्धित सरोकारवाला निकायलाई जानकारी गराउने छौं ।'
केन्द्रले मन्त्रालयका अन्य निकाय सहित विभिन्न विश्वविद्यालय, उद्योग बाणिज्य संघ, प्याब्सन लगायतका सरोकारवालाहरुलाई पत्राचार गरेर विद्यार्थीको प्रमाणपत्रको उपयोग गर्ने बारेमा आवश्यकता अनुसार निर्णय गर्न भनेको छ ।
प्रकाशित मिति २०७२ माघ २१ गते
प्रतिक्रिया