काठमाडौं १२ चैत / एसएलसी परीक्षामा अनियमतिता हुनेमा तराईका जिल्लाहरु अग्र पंक्तिमा देखिएका छन् । ब्यवस्थित रुपमा परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएका ब्यक्ति नै रंगेहात पक्राउ पर्नुले तराईको अवस्था सुधार हुन नसकेको पुष्टि गर्छ ।
तराईका आठ जिल्ला बारा, रौतहट, सर्लाही, सप्तरी, महोत्तरी, धनुषा, सिराह र सुनसरीमा धेरै अनियमितता फेला परेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
बिहीबार सम्म निष्काशित भएका ७४ जना निरिक्षक मध्ये ६२ जना तराईका यीनै जिल्लाका रहेका छन् । बिहीबार एकैदिन निष्काशित भएका १० निरिक्षक मध्ये ४ जना महोत्तरी र १ जना बाराका रहेको परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले बताए । बाँकी ५ जना जाजरकोटका छन् ।
अहिले सम्म निष्काशित भएका १ हजार ३ सय ९६ विद्यार्थी मध्ये १ हजार ३ सय ४० जना यीनै ८ जिल्लाका रहेको कार्यालयले जनाएको छ । बिहबिार मात्रै महोत्तरीमा १ सय ३४, सप्तरीमा ७३ र सिराहमा १ जना विद्यार्थी निष्काशित गरिएको छ । यस्तै दाङ्मा १ जना निष्काशित र भोजपुरमा १ जना नक्कली विद्यार्थीलाई निष्काशन गरिएको छ ।
परीक्षाको तेश्रो दिन चैत ८ गते सर्लाहीमा एक जना केन्द्राध्यक्ष नै अनियमितता सहित पक्राउ परे । परीक्षाको मर्यादा विपरित काम गरेको फेला परेपछि उनलाई निष्काशित गरिएको छ । सारनाथ मावि, भक्तिपुर परीक्षा केन्द्रका केन्द्राध्यक्ष महेन्द्र यादवले अनियमितता गरेको फेला परेको हो ।
एसएलसी उत्तीर्ण हुने कुरा प्रतिष्ठासंग जोड्दा तराईका जिल्लाहरुमा समस्या भएको अनुसन्धान कर्ता डा. विनय कुमार कुसियतको ठम्याई छ । एकातिर शिक्षकहरुमा हुने राजनीति करणका कारण विद्यालयहरुको वातावरण शिक्षण सिकाई अनुकुल नहुने र अर्कातिर जसरी पनि पास हुनु पर्ने सामाजिक मूल्य मान्यताले गर्दा परीक्षामा अनीयमितता बढेको उनी बताउँछन् । पढाउने काममा भन्दा राजनीतिक कृयाकलापमा लाग्ने शिक्षक, अभिभावकको कमजोर शैक्षिक पृष्ठभूमि, विद्यालय र समाज विचको सम्बन्धमा बढ्दो दूरीको प्रत्यक्ष असर परीक्षामा देखिएको उनको भनाई छ ।
‘एसएलसी परीक्षालार्इृ हाउगुजी बनाउने चलनले जसरी पनि तराईमा अनियमितता बढ्दो छ’, उनले भने, ‘जसरी पनि एसएलसी पास हुनै पर्छ भन्ने मान्यताले समाजमा प्रभाव पार्दा तराईको अवस्था सुध्रन सकेन ।’
नियन्त्रक द्धारे पहिलेको तुलनामा धेरै सुधार भएको दावी गर्छन् । ‘अघिल्ला बर्षहरुमा केन्द्रको आसपास हुने भिड हामीले यसपटक पुरै हटायौं तर कक्षा कोठामै अनियमितता गर्ने क्रम फेला पर्यो’ उनले भने, ‘चिट चोराउने र चोर्ने कुरा तराईको संस्कारनै हो की जस्तो भै सक्यो ।’
उनी पनि तराईका शिक्षकहरुले पठनपाठनमा ध्यान नदिदाँ समस्या भएको बताउँछन् । पठन पाठन भएको दिनमा समेत नपढाउने शिक्षकका कारण समस्या भएको उनको तर्क छ । ‘कम्तिमा २ सय २० दिन पनि नपढाउने शिक्षक छन्’ उनी भन्छन्, ‘एक त पढाउँदै नपढाउने अनी अर्को पढाउन भन्दा चिट चोराउन बल गर्ने ट्रेण्डका कारण यस्तो भयो ।’
प्रतिक्रिया