Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

शिक्षक सेवा आयोग नियमावली शंसोधनमा प्राध्यापकहरुकै धारणा बाझियो

शुक्रबार, १३ चैत्र २०७१

काठमाडौं १३ चैत / शिक्षक सेवा आयोग नियमावली नवौं शंसोधनका बारेमा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका प्राध्यापकहरुकै  धारणा बाझिएको छ ।

सरकारले गएको २६ गते शिक्षा ऐनसित बाझिने गरी शिक्षक सेवा आयोग नियमावलीको नवौँ संशोधन गरेको थियो । विद्यार्थीहरुले संघर्ष समिति बनाएर उक्त संशोधनको विरोध गर्दै आएका छन् । उनीहरुले नियमावली शंसोधनबारे शिक्षा शास्त्र संकायको धारणा माग समेत गरिसकेका छन् ।

तर शुक्रबार नेपाल शिक्षा शास्त्री समाजले गरेको अन्र्तकृयामा सहभागि प्राध्यापकहरुको धारणा बाझिएको छ ।  प्रा.डा. विद्यानाथ कोइरालाले प्रतिष्पर्धा गर्ने आफ्नो तागत सकिएको अवस्थामा विद्यार्थीले विरोध गरेको बताए । खुल्ला प्रतिस्पर्धामा विश्वास नगर्ने र कहिले काँही मात्रै क्याम्पस पढ्ने टुरिष्ट विद्यार्थीको बाहुल्यता बढेकोले उनीहरु प्रतिस्पर्धासँग डराएको उनको तर्क छ । ‘हामीले पढाई आएको मेथोडोलोजी कमजोर भएको छ, विद्यार्थीको आफैंमा दोष छ, पढेको राम्रो भएन’ उनले भने, ‘अव शिक्षक बन्न आवश्यकता बेग्लै रहेछ भन्ने बुझ्नु जरुरी छ, नियमावलीमा भएको शँसोधनको विरोध गर्नु भन्दा यसको समाधान प्राज्ञिक थलोबाट गर्नु आवश्यक छ ।’

तर त्रिवि शिक्षा शास्त्र संकाय विभागीय प्रमुख प्रा.डा शिव शरण महर्जनले यो शंसोधनलाई संस्थागत रुपमा सकार्न नसक्ने बताए । ‘हामीलाई आन्दोलनमा जान अप्ठ्यारो हुन्छ तपाईहरु आन्दोलनमा जानुहोस्’ उनले विद्यार्थीलाई भने, ‘यसको विरोध गर्नु पर्छ ।’

महेन्द्ररत्न क्याम्पसका प्रमुख भोला भट्टराईले शिक्षा शास्त्रको पाठ्यक्रमको कन्टेण्ट कमजोर भएको स्विकार गर्दै यहि पक्ष नियमावली शंसोधनको आधार बनेको बताए  ।

संघर्ष समितका संयोजक विजय गौतम, नेविसंघका प्रतिनिधि ईश्वर भट्ट, अखिल क्रान्तिकारीका राजेन्द्र वली, अनेरास्ववियुका तारा प्रसाल पौडेल लगायतले  भने आफैं पाठ्यक्रम बनाउने आफैं कमजोर भयो भन्ने प्राध्यापकहरुका कारण शिक्षा शास्त्र संकायको छवि धमिलिएको भन्दै आपत्ति जनाएका थिए ।

समाजका अध्यक्ष प्रेमनारायण अर्यालले छलफलमा उठेका कुराहरुलाई समेटि आउँदा दिनमा कसरी अघि बढ्ने भन्ने तय गरिने बताए ।

प्रतिक्रिया