Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

अपूर्ण शिक्षा आयोग गठन

शुक्रबार, १३ चैत्र २०७१

काठमाडौं १३ चैत / सरकारले उच्च स्तरीय शिक्षा आयोगको उपाध्यक्ष नियुक्त गरेका त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले आफू अर्कै काममा ब्यस्त भएकाले तत्काल उक्त आयोगमा बसेर काम गर्न नसक्ने बताएका छन् । शुक्रबार बसेको मन्त्री परिषद् बैठकले आफ्नो अध्यक्षतामा माथेमालाई उपाध्यक्ष बनाउने निर्णय गरेको शिक्षा मन्त्री चित्रलेखा यादवले एडुखबरलाई जानकारी दिईन् । यो पनि पढ्नुहोस्  उच्च स्तरीय शिक्षा आयोग गठनको प्रकृया शुरु

तर माथेमाले सरकारले नै गठन गरेको स्वास्थ्य नीति बनाउने समितिमा ब्यस्त भएकोले अहिले त्यस बारेमा सोच्न समेत नसक्ने बताए । ‘मैले तपाईहरुबाटै सुनेर थाह पाएँ’ उनले भने ‘आफैंलाई अचम्म लागेको छ, त्यो काम पुरा नगरी म अर्को काममा हात हाल्दिन ।’

पूर्वाधार नपुगेका नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बन्नुपर्ने, स्वास्थ्य सेवा एवं शिक्षा सहज एवं सुलभ हुनुपर्ने लगायतका १० बुँदे माग राखेर डा। गोविन्द केसी आईतबार देखि पाँचौ पटक आमरण अनसनमा बसिरहेका छन् । त्यसैले सबै भन्दा पहिले उक्त काम सक्न माथेमालाई चुनौति छ ।

आयोगमा बस्नेको नाम टुङ्गो लाग्नै बाँकी

मन्त्री यादवले आयोगमा १७ सदस्य रहेको एडुखबरलाई बताईन् । तर, नाम उल्लेख गर्न चाहिनन् । विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी समिति बनाउने भनिएपनि नामको टुङ्गो लाग्न बाँकी नै रहेको मन्त्री परिषद् श्रोतले बताएको छ ।

समितिमा रहने सदस्यहरुको नियुक्ति राजनीतिक विषय भएको भन्दै अहिले नै टुङ्गोमा पुग्न नहुने मन्त्री यादवले बताएको उक्त श्रोतले बतायो । मन्त्री यादवले आयोगमा हुने प्रतिनिधित्व राजनीतिक आधारमा निर्णय गर्नु पर्ने भन्दै मन्त्रालयका उच्च कर्मचारीलाई समेत जानकारी दिएकी थिईनन् ।

मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुबाट २ जना, शिक्षाविद्बाट ३ जना, प्राध्यापक संघबाट १ जना, सामुदायिक विद्यालयका प्रधानाध्यापकबाट एक जना रहने खाका बनाएको थियो ।

प्रतिक्रिया